फेसबुकमा गाली गर्ने सबैलाई जेल हाल्ने धरानका मेयरको चेतावनी
काठमाडौं । धरानका मेयर हर्कराज राईले फेसबुकमा आफूमाथि गालीगलौज गर्नेविरुद्ध कानूनी उपचार खोज्ने चेतावनी दिएका छन् । त्यस्ता व्यक्तिको पहिचान गरेर पक्राउ पुर्जी जारी गर्ने र मुद्दा प्रक्रियामार्फत तिनलाई जेल हाल्ने उनको भनाइ छ ।
बिहीबार बिहान सामाजिक सञ्जालमा स्ट्याटस लेख्दै राईले गाली गर्नेविरुद्ध कानूनी उपचारमार्फत जेल हाल्ने चेतावनी दिएका हुन् ।
लोकतन्त्रमा विरोध गर्ने छुट सबैलाई भए पनि गाली गर्ने अधिकार कसैलाई नभएको उनको भनाइ छ ।
उनका अनुसार, गाली गर्ने सबै जनाबारे पत्ता लगाएर सबैभन्दा पहिले पक्राउ पुर्जी जारी गरिनेछ । त्यसपछि मानहानि र गाली बेइज्जतीको मुद्दा चलाइने छ ।
‘फेसबुकमा गाली गलौज गर्ने जतिलाई पत्ता लगाएर पक्राउ पुर्जी जारी गरिनेछ,’ उनले फेसबुकमा लेखेका छन्, ‘अनि मानहानि र गाली बेइज्जतीको मुद्दा चलाइने छ ।’
उनले आफूमाथि गालीगलौज गर्ने सामाजिक सञ्जाल प्रयोगकर्तालाई देशमा एउटा सरकार पनि छ भन्ने हेक्का राख्न पनि सुझाव दिएका छन् ।
पहिलो स्ट्याटसमा गालीगलौज गर्नेको खोजी गरेर कानूनी उपचार खोज्ने बताएका राईले दोस्रोमा त्यस्तालाई जेल हाल्ने चेतावनी दिएका छन् ।
धरानमा स्वतन्त्र उम्मेदवारी दिएर मेयरमा विजयी राईको सुरुवातमा सामाजिक सञ्जालमा निकै प्रशंसा भए पनि पछिल्लो समय उनी आफ्ना अभिव्यक्तिका कारण आलोचित बन्न थालेका छन् । खासगरी काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहविरुद्ध उनले दिएको अभिव्यक्ति महँगो पर्दै गएको छ ।
राईलाई धेरैले सामाजिक सञ्जालमा अनावश्यक टिप्पणी नगरी मर्यादाअनुरूप काममा केन्द्रित हुन सुझाएका छन् । बुधबार मात्रै उनले अब आफूले कसैप्रति अनावश्यक टिप्पणी नगर्ने प्रतिबद्धता जनाएका थिए । तर उनको विगतको रुझानमा खासै बदलाव देखिएको छैन ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया