NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २६ गते

करिअरको अन्तिम खेलमा सेरेना पराजित

काठमाडौं । करिअरको अन्तिम खेलमा सेरेना विलियम्स पराजित भएकी छन् । टेनिस स्टार सेरेना विलियम्स युएस ओपनको तेस्रो चरणमा अजला टोमल्जानोभिकसँग ७–५, ६–७, ६–१ को अन्तरमा पराजित भएकी हुन् ।

यो सेरेनाको करियरको अन्तिम खेल भएको मानिन्छ । तर उनले सन्यासबारे अहिलेसम्म मुख खोलेकी छैनन् ।

पहिलो सेट गुमाएपछि दोस्रो सेटमा सेरेनाले उत्कृष्ट पुनरागमन गरे पनि तेस्रो सेटमा अजलाले सुरुदेखि नै अग्रता लिएर सेट सजिलै आफ्नो पक्षमा पारिन् ।

सेरेनाले यसअघि नै यो आफ्नो अन्तिम प्रतियोगिता हुने घोषणा गरिसकेकी छिन् । तर, तेस्रो राउण्डमा हारेपछि उनले भविष्यबारे केही थाहा नभएको बताइन् ।

सेरेनाको यो अन्तिम खेल थियो, तर उनले पुनरागमन गर्ने संकेत गरेकी छन् । पुनरागमनबारे सोधिएको प्रश्नमा उनले भनिन्, ‘हामीलाई भविष्यको बारेमा थाहा छैन। जे पनि हुन सक्छ, तर अहिलेको लागि म आमाको दायित्व पूरा गर्नेतर्फ केन्द्रित हुनेछु ।’

अस्ट्रेलियन ओपनबारे राखिएको जिज्ञासामा उनले आफूलाई अस्ट्रेलियामा खेल्न मन पर्ने बताइन् । उनको भनाइलाई अर्को वर्ष जनवरीमा हुने अस्ट्रेलियन ओपनसँग जोडिएको छ ।

सफलताको श्रेय बहिनी

सेरेनाले बहिनी भेनस विलियम्सको तारिफ गरेकी छिन् । यदि भेनस नभएको भए आफूले कहिल्यै टेनिस नखेल्ने उनले उल्लेख गरेकी छन् । उनले सन् २०१५ मा सम्पन्न फ्रेन्च ओपनलाई आफ्नो सबैभन्दा ठूलो उपलब्धिका रूपमा लिने गरेकी छन् । सेरेना त्यतिबेला फाइनलअघि निकै बिरामी भइन् र नखेल्ने सोचमा थिइन् । तर अन्तिममा उनी मैदानमा उत्रिइन् । जसमा उनी लुसी सफारोभालाई ६–३, ६–७, ६–२ ले पराजित गर्दै उपाधि जित्न सफल भएकी थिइन् ।

२३ पटककी ग्राण्डस्लाम च्याम्पियन सेरेना विलियम्सले सन् १९९९ मा युएस ओपनको उपाधि जितेकी थिइन् । यो उनको करियरको पहिलो ग्राण्डस्लाम थियो। त्यसपछि उनले महिला युगलमा १४ ग्रान्डस्लाम र मिश्रित युगलमा दुई ग्रान्डस्लाम जितिन्। उनले ओलम्पिकमा आफ्नो देशका लागि चार पटक स्वर्ण पदक जितेकी छन् । उनले महिला एकल र डबल्स दुबै वरीयतामा सनसनी मच्चाइन् र लामो समयसम्म पहिलो स्थान ओगटिरहिन् ।