NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १७ गते

बुटवल र भैरहवाका व्यवसायीले पाउने भए गुणस्तरीय बिजुली

 बुटवल । बुटवल तथा भैरहवा क्षेत्रका उद्योगी व्यवसायीको सधैँको गुनासो हुन्थ्यो, गुणस्तरीय बिजुली पाइएन, उद्योग व्यवसाय राम्ररी चलाउन सकिएन ।

दैनिक नै १२ पटकभन्दा बढी बिजुली ‘ट्रिपिङ’ हुँदा कच्चा पदार्थ खेर गयो । थप बिजुलीका लागि जेनेरेटर चलाउनुपर्दा लागत बढ्यो, धेरैपटक व्यवसायीले सरकारको ध्यानकर्षण गराए । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशकको समेत ध्यानाकर्षण गराए । लामो प्रयासपछि अब भने त्यस क्षेत्रका व्यवसायी एवं उद्योगीले गुणस्तरीय बिजुली पाउने भएका छन् ।

प्राधिकरणले प्रयास नगरेको पनि होइन । अनेकन समस्याका कारण प्रसारण लाइन निर्माणमा जटिलता रहँदै आएको थियो । पछिल्ला दिनमा प्राधिकरणले सबै समस्याको समाधान गरेको छ । रुपन्देहीको भैरहवा क्षेत्रको विद्युत् आपूर्ति भरपर्दो तथा गुणस्तरीय, प्रसारण क्षमता वृद्धि र प्राविधिक चुहावट नियन्त्रणमा निर्माण गरिएको योगीकुटी बुटवलबाट मैनहियासम्मको १३२ केभी डबल सर्किट प्रसारण लाइन आज उद्घाटन भएको छ ।

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले सरकार र नेपाल विद्युत् प्राधिकरणको लगानीमा निर्माण सम्पन्न बुटवल–लुम्बिनी डबल सर्किट प्रसारण लाइन र त्यसअन्तर्गतको मैनहिया सबस्टेसनको उद्घाटन गेकि हुन् । प्रसारण लाइन र सबस्टेसनको निर्माणसँगै भैरहवा क्षेत्रमा करिब दुई सय मेगावाट विद्युत प्रवाह गर्नसक्ने पूर्वाधार तयार भएको छ । साथै भैरहवा क्षेत्रको विद्युत् आपूर्तिमा सुधार भएको छ ।

उद्घाटन कार्यक्रममा मन्त्री भुसालले आन्तरिकरुपमा खपत गरेर बढी भएको विद्युत् अन्तर्राष्ट्रिय बजारमा बिक्री गरी आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्ने लक्ष्यका साथ काम भइरहेको बताए । ‘विद्युत् नपुगेको ठाउँमा दुई वर्षभित्रमा विद्युत् पु-याउने र पुगेको ठाउँमा पूर्वाधार निर्माण गरी गुणस्तरीय र भरपर्दो विद्युत् आपूर्तिका लागि काम गरिरहेका छौँ, यसका साथै बूढीगण्डकीलगायतका ठूला जलशाययुक्त आयोजना निर्माण गरिनेछ,’ उनले भने ।

खाना पकाउन प्रयोग हुने एलपी ग्यासको विस्थापित गर्ने, उद्योगलाई मागेजति विद्युत् दिने, यातायातमा विद्युतीय सवारीसाधन प्रयोग गर्ने, कृषिको उत्पादकत्व बढाउन सिँचाइमा विद्युत् प्रयोग गरी अर्थतन्त्रलाई आत्मनिर्भर बनाउँदै समृद्धितर्फ अगाडि बढ्नुपर्नेमा उनको जोड छ ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव सुशीलचन्द्र तिवारीले प्रसारण लाइन र सबस्टेसन निर्माणपछि यस क्षेत्रको विद्युत् आपूर्तिमा सुधार हुने विश्वास व्यक्त गरे ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले प्रसारण लाइनबाट बुटवल, भैरहवा क्षेत्रको विद्युत् आपूर्तिमा सुधार भएको र उद्योगलाई मागेजति विद्युत् दिन सकिने अवस्था बनेको बताए । बुटवल सबस्टेसनमा मात्र विद्युत् आपूर्ति दिँदा विगतमा समस्या रहेको उल्लेख गर्दै उनले अब यस क्षेत्रमा विद्युत् केन्द्र बनेको र वितरण प्रणालीमा सुधार भएको बताए ।

‘विद्युत्भार कटौती अन्त्य एउटा काम थियो, अब वितरण प्रणाली सुधार र २४ सै घण्टा भरपर्दो तथा गुणस्तरीय विद्युत् आपूर्ति, उद्योगलाई मागजति विद्युत् दिन पूर्वाधार विस्तार तथा सुदृढीकरणका लागि काम भइरहेको छ, अहिले आन्तरिकरुपमा खपत गरेर बढी भएको विद्युत् दैनिकरुपमा झण्डै रु १० करोडको निर्यात गरिरहेका छौँ,’ उनले भने ।

सियारी गाउँपालिका अध्यक्ष थानेश्वर घिमिरे र चेम्बर अफ कमर्शका जेपी कँडेलले प्रसारण र सबस्टेसन सञ्चालनपछि यस क्षेत्रको विद्युत् आपूर्तिमा सुधार भएको उल्लेख गरे ।

बुटवल सबस्टेसनबाट मैनहिया सबस्टेसनसम्मको १८ किलोमिटर बुटवल–लुम्बिनी प्रसारण लाइनको निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याइएको हो । १३२÷३३÷११ केभी मैनहियामा सबस्टेसन सञ्चालनमा ल्याई त्यस क्षेत्रमा विद्युत् आपूर्ति दिइएको आयोजना प्रमुख हरि पाण्डेले बताए ।

स्थानीयरुपमा विद्युत् आपूर्तिका लागि मैनहिया सबस्टेसनबाट ३३ केभीका १० वटा फिडर निकालिनेछ । त्यसमध्ये चार वटा फिडर अहिले सञ्चालनमा रहेका छन् । विद्युतको भोल्टेजको सुधारका लागि दुई वटा क्यापासिटर बैंक राखिएको छ ।

कूल १८ किलोमिटर प्रसारण लाइनमा ५७ टावरको निर्माण गरिएको छ । बुटवल बजार क्षेत्रमा १३२ केभी प्रसारण लाइनलाई दुई किलोमिटर भूमिगत गरिएको छ । प्रसारण लाइन आयोजनाको प्रारम्भिक काम आर्थिक वर्ष २०७०।७१ मा सुरु भएको थियो । रुट परिवर्तन, कोभिड–१९को महामारीलगायतका कारणले आयोजनाको निर्माणमा केही ढिला भएको थियो । आयोजनाको अनुमानित लागत ९५ लाख अमेरिकी डलर रहेको छ ।

मैनहिया सबस्टेसनबाट भारतको उत्तरप्रदेशसँग विद्युत् प्रवाहका लागि १३२ केभी डबल सर्किट प्रसारण लाइन निर्माण भइरहेको छ । मैनहिया सबस्टेसनबाट भारतको उत्तर प्रदेशस्थित सम्पत्तिया न्यू नौतनुवा सबस्टेसन जोड्ने प्रसारण लाइनको निर्माण अन्तिम चरणमा छ । अहिले उत्तर प्रदेशसँग ३३ केभीको मात्र प्रसारण संरचना रहेकामा मैनहिया–सम्पत्तिया बन्नेपछि नेपाल–भारतबीचको आन्तरदेशीय विद्युत् व्यापारलाई अझ सहज बन्नेछ ।