NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ६ गते

यती एअरलाइन्सले थप्यो नयाँ विमान

काठमाडौं । निजी क्षेत्रको वायुसेवा कम्पनी यती एअरलाइन्सले सेवा बिस्तार गर्ने क्रममा एटिआर ७२–५०० विमान थप गरेको छ । यतीको यो छैटौं विमान आज दिउँसो १५:१५ मिनेटमा त्रिभुवन अन्तरास्ट्रिय विमानस्थल काठमाडौंमा अवतरण गरेको हो ।

यतीले ७० सिट क्षमताको उक्त विमान अष्ट्रेलियाको एभिएसन कम्पनीसँग लिजमा ल्याएको हो । उक्त विमान क्याप्टेन ओलिभर ज्यासन ज्याफ्रीले अष्ट्रेलिया, सिंगापुर, थाइल्याण्डहुँदै नेपालमा ल्याएको कम्पनीका प्रवक्ता तथा हवाई सुरक्षा प्रमुख सुदर्शन बर्तौलाले जानकारी दिए । एम एस एन नं. ९८६ सिरिजको उक्त विमानको पहिलो उडान सन् २०११ मा भएको थियो । जम्मा १० हजार साइकल मात्र उडान गरेको उक्त विमान नेपालमा उडान गर्ने अन्य विमानभन्दा पछिल्लो विमान भएको कम्पनीले दाबी गरेको छ । एटिआर विमानको जम्मा साइकल ७० हजार हुन्छ । एक अवतरणलाई एक साइकल गणना गरिन्छ ।

No description available.

विमान संख्या थप गरेसँगै कम्पनीले हाल उडान गर्ने गन्तव्यमा नै सेवा बिस्तार गर्ने निति लिएको प्रवक्ता बर्तौलाले जानकारी दिए ।

“विमानको आवश्यक कागजी प्रक्रिया पुरागरी रंगरोगन गरे पश्चात् विमानले दशैं अगाडि नै उडान गर्नेछ, यसले गर्दा दशैंका बेला हुने टिकट अभावलाई पूरा गर्न सहयोग हुने विश्वास लिएका छौं,“ उनले भने ।

यही आर्थिक वर्षभित्र अर्को एक विमान थप गर्ने र त्यसपछि नयाँ गन्तब्यहरूमा सेवा बिस्तार गर्ने उनले बताए । विमान थप भएपछि पाँचवटा विमानलाई आधार बनाइ उडान गर्ने र एउटा विमानलाई जगेडामा राखी मर्मत तथा उडान ढिला हुँदा प्रयोग गरिने कम्पनीले जनाएको छ ।

No description available.

एटिआर–७२–५०० टर्बोप्रप विमानको पछिल्लो पुस्ताको प्रतिनिधित्व गर्दछ । ७० सिटको क्षमताको यो विमान टर्बोप्रप इन्जिन भएको उत्कृष्ट विमान मानिन्छ । पिडब्लू १२३ इन्जिनहरूद्वारा संचालित एटिआर–७२–५०० यस आकारको विमानका लागि उत्कृष्ट मानिन्छ । अन्य विमानभन्दा कम आवाज र कम्पन हुने तथा भित्री इन्टेरियर उत्कृष्ट भएकोले उडानको क्रममा आरामदायी हुने कम्पनीले जनाएको छ । यो बिमानले नयाँ पुस्ताका जेटहरूभन्दा प्रतियात्रु–किमीमा लगभग ५० प्रतिशत कम कार्बन उत्सर्जन गर्दछ र पुराना विमानहरूभन्दा तीन गुणा कम कार्बन उत्सर्जन गर्ने बताइएको छ । यती एअरलाइन्स दक्षिण एशियामा पहिलो कार्वनन्युट्रल एअरलाइन्स हो ।

यो एअरलाइन्सले हाल नेपालका सुगम गन्तव्यहरू काठमाडौं, चन्द्रगढी, विराटनगर, जनकपुर, सिमरा, पोखरा, भैरहवा, नेपालगञ्जलगायत पर्वतीय उडानहरू गर्दै आएको छ भने अन्तरास्ट्रिय तर्फ चार्टर र नन सेड्युल उडान गर्ने अनुमति पाएको छ ।

ताजा अपडेट

नेपालवाच विशेष