NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २१ गते

जबरजस्ती करणी पुष्टि भए क्रिकेटर सन्दीप लामिछानेलाई १२ वर्षसम्म जेल सजाय

काठमाडौं । छोटो समयमा विश्व क्रिकेटमा पृथक पहिचान बनाएका क्रिकेटर सन्दीप लामिछानेविरुद्ध जबरजस्ती करणी गरेको अभियोगमा जाहेरी दर्ता भएको छ ।

विश्वचर्चित लेग स्पिन बलर सन्दीपविरुद्ध जबरजस्ती करणीको अभियोगमा गौशाला प्रहरी वृत्तमा जाहेरी परेको हो ।

गत भदौ ५ गते भक्तपुर र काठमाडौंका विभिन्न स्थानमा दिउसो घुमाउन लगेर बेलुका गौशालाको एक होटलमा लामिछानेले जबरजस्ती करणी गरेको अभियोगमा पीडित किशोरीको पक्षबाट जाहेरी परेको हो ।

१७ वर्षीया नाबालिगले लामिछानेबाट आफूमाथि जबरजस्ती करणी भएको भन्दै जाहेरी दर्ता गराएकी हुन् । ती किशोरीले समय नै खुलाएर राति ११ बजेर ५५ मिनेटमा आफूमाथि सन्दीपले जबरजस्ती करणी गरेको अभियोग लगाएकी हुन् । ती किशोरीले ३०५ नम्बर कोठामा आफूमाथि लामिछानेबाट जबरजस्ती भएको बयान प्रहरीलाई दिएकी छिन् ।

सन्दीप पनि भदौ ६ गते केन्याविरुद्धको टी २० सिरिज खेल्न नैरोबी प्रस्थान गरेका थिए । नैरोबीमा नेपालले ५ खेलको सिरिज ३–२ ले जितेको थियो । यी खेलको कप्तानी सन्दीपले नै गरेका थिए । तर तीन खेलको एकदिवसीय सिरिजमा नखेली उनी क्यारेबियन लिग खेल्न पुगेका छन् । सन्दीप उता लागेपछि रोहित पौडेलको कप्तानीमा नेपालले केन्याविरुद्धको एकदिवसीय सिरिज ३–० ले जितेको थियो ।

मंगलबार अबेर जाहेरी परेपछि प्रहरीले यो घटनाबारे अनुसन्धान अगाडि बढाएको छ । सन्दीप डुलेका स्थान र बसेका होटलको सिसिटिभी फुटेजको अध्ययन गरिरहेको छ । १२ कक्षामा पढ्दै गरेकी ती किशोरीको स्वास्थ्य परीक्षण पनि गराइसकेको जानकारी प्रहरीले दिएको छ ।

अभियोग पुष्टि भए कतिसम्म हुन्छ सजाय ?

मुलुकी अपराध संहिताअनुसार नाबालिगको उमेर १७ वर्ष नै भएको र जबरजस्ती करण पुष्टि भएमा लामिछानेमाथि १२ वर्षसम्म कैद सजाय हुनेछ । मुलुकी अपराध संहिताको २१९ को उपदफा २ मा कसैले कुनै महिलालाई निजको मञ्जुरी नलिई, करणी गरेमा वा मञ्जुरी लिएर भए पनि अठार वर्षभन्दा कम उमेरको कुनै बालिकालाई करणी गरेमा निजले त्यस्तो महिला वा बालिकालाई जबर्जस्ती करणी गरेको मानिनेछ भन्ने उल्लेख छ ।

जबरजस्ती करणीमा करणी गर्दाको परिस्थिति र महिलाको उमेर हेरी सजायको व्यवस्था हुने उपदफा ३ मा व्यवस्था छ ।

दश वर्षभन्दा कम उमेरकी बालिका, पूर्ण अशक्त, अपागंता भएका वा सत्तरी वर्षभन्दा बढी उमेरका महिला भए जन्मकैद हुनेछ ।

दश वर्ष वा दश वर्षभन्दा बढी १४ वर्षभन्दा कम उमेरकी बालिका भए अठार वर्षदेखि २० वर्षसम्मको जेल सजाय हुनेछ । चौध वर्ष वा चौध वर्षभन्दा बढी १६ वर्षभन्दा कम उमेरकी बालिका भए १२ वर्षदेखि १४ वर्षसम्मको जेल सजाय हुनेछ ।

उपदफा ३ को घमा पीडित सोह्र वर्ष वा सोह्र वर्षभन्दा बढी अठार वर्षभन्दा कम उमेरकी महिला भए १० वर्षदेखि १२ वर्षसम्म जेल सजाय हुने उल्लेख छ । जाहेरी दिने किशोरीको उमेर १७ वर्षको पुष्टि भएर करणी पुष्टि भएमा सन्दीपलाई १२ वर्षसम्मको जेल सजाय हुन सक्नेछ ।

तर जाहेरीकै आधारले मात्र लामिछाने दोषी ठहरिदैनन् । उनीविरुद्ध परेको जाहेरीमा आधारित हुँदै प्रहरी गर्ने अनुसन्धान, पुर्याउने प्रमाणका आधारमा अघि बढ्ने मुद्दापछि मात्रै दोषी हो कि होइन भन्ने टुंगो लाग्नेछ । यद्यपी कप्तान लामिछानेमाथि जाहेरी परेपछि नेपाल क्रिकेट संघ क्यालने उनलाई निलम्बन भने गर्न सक्छ । प्रहरीले उनीमाथि लागेका आरोपको प्रमाण बटुल्ने गरी अनुसन्धान गरिरहेको छ ।

सन्दीपले २०१६ यता क्रिकेट खेल्दै आएका छन । यसक्रममा उनले नेपालको उमेर समूह र सिनियर तहमा पनि क्रिकेट खेल्दै आएका छन् । साथै विश्वचर्चित टी २० लिगत आइपिएल पनि खेलिसकेका छन् । बिगब्यास, क्यारेबिएन लिग पनि खेलिसकेका छन् । युएई, पाकिस्तान, बंगालादेश, क्यानडाको लिगसमेत खेलेर सन्दीपले छोटो समयमा आफूलाई विश्वचर्चित बनाएका छन् ।

बालयौन दुरुपयोग गर्न नहुने कसुर

अपराध संहितको २१९मा बाल यौन दुरुपयोग गर्न नहुने विषय उल्लेख छ । कसैले करणीका आशयले बालबालिकालाई अस्वभाविक रुपमा एकान्तमा लगेमा, यौनसम्बन्धी निजको अंग छोएमा वा समातेमा यौनसम्बन्धी आफ्नो अंग निजलाई छुन वा समाउन लगाएमा वा निजसँग अन्य कुनै किसिमको यौनजन्य अस्वभाविक व्यवहार गरेमा बालयौन दुरुपयोग गरेको मानिनेछ । यस्तो कसुर गर्ने व्यक्तिलाई तीन वर्षसम्म कैद र तीस हजार रुपैयाँ जरिवाना हुने पनि उल्लेख छ ।

जबरजस्ती करणीमा अभिनेता पल शाहविरुद्ध पनि एक किशोरीले जाहेरी दिएकी थिइन् । मुद्दा चलिरहँदा ती किशोरीले आफूमाथि बलात्कार नभएको भन्दै बयान फेरेपछि नवलपुर जिल्ला अदालतले मंगलबार मात्रै मुद्दाको फैसला गरेको छ । जबरजस्ती करणीमा अदालतले पललाई सफाइ दिएको छ । तर बालयौन दुरुपयोगको कसुरमा पललाई साढे दुई वर्षको सजाय सुनाएको छ । शाहकै यही जाहेरीको मुद्दा तनहुँ जिल्ला अदालतमा पनि छ । किशोरीले बयान फेरेपछि अदालतले जबरजस्ती करणीमा सफाइ दिएको हो ।

ताजा अपडेट

नेपालवाच विशेष