NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २१ गते

त्यसपछि बालिका सन्दीपविरुद्ध जाहेरी दिने मनस्थितिमा पुगिन्

काठमाडौं । क्रिकेटर सन्दीप लामिछाने र ती बालिका भदौ ६ गते बिहान ६ बजे होटलबाट बाहिरिएका थिए । बालिका होस्टलमा बस्दै आएकी थिइन्, उनले त्यही होस्टलमा लगेर उनलाई छाडिदिए ।

बालिका सन्दीपसँग कुरा गर्न चाहन्थिन् । उनले फोन र सामाजिक सञ्जालमार्फत उनीसँग सम्पर्कको प्रयास गरिन् । तर सन्दीपले आफ्नो स्न्यापच्याट मात्र नभई इन्स्टाग्राममा समेत ब्लक गरिदिए ।

त्यसपछि मात्रै बालिकाले आफू सन्दीपबाट प्रयोग भएको महसुस गरिन् । नयाँ पत्रिका दैनिकका अनुसार, ५ भदौको उक्त घटना उनले साथीसँग सेयर गरेकी थिइन् । सन्दीप सम्पर्कमा नआएपछि उनी मंगलबार उजुरी लिएर प्रहरीकोमा पुगेकी थिइन् ।

प्रहरीमा दर्ता उजुरीअनुसार पीडित सन्दीपसँग स्न्यापच्याटमार्फत नजिकिएकी थिइन् । यसपछि उनीहरू इन्स्टाग्राममा पनि जोडिए । दुईबीच खासगरी स्न्यापच्याटमा कुराकानी हुनेगथ्र्यो । यही क्रममा दुईबीच भेट भयो ।

६ भदौमा केन्यामा हुने एकदिवसीय र टी–ट्वान्टी सिरिजमा सहभागी हुनुपर्ने भएपछि त्यसअगावै डेटमा जान सन्दीपले जोडबल गरेका थिए । त्यसका लागि धुलिखेल जाने र वान नाइट स्टे गर्ने सन्दीपको प्रस्ताव थियो । तर सुरुमा बालिका तयार भइनन् । उता सन्दीपको ढिपी यथावत् थियो । त्यसपछि बालिका काठमाडौंको कुनै रेस्टुरेन्टमा भेट्न राजी भइन् । सन्दीप कार लिएर बालिकाको होस्टलमै पुगेका थिए ।

घटना ५ भदौ साँझको थियो । बालिका कारमा बसेपछि उनी भक्तपुरतर्फ लागेका थिए । योजनाभन्दा अर्कैतर्फ घटना मोडिएपछि बालिकाले सन्दीपसँग कहाँ जान लागेको भन्दै प्रश्न गरेकी थिइन् । नगरकोट जाने केही बेर ह्याङ आउट हुने भनेपछि उनी डराएकी थिइन् । दुईबीच केहीबेर कारभित्रै गलफत्ती पनि भएको थियो । उनीहरू बेलुकाको १० बजे नगरकोट पुगेका थिए । होटलको रेस्टुरेन्टमा बसेर सन्दीपले मदिरा सेवन गर्न थालेपछि बालिकामा शंका उत्पन्न भएको थियो । डराएकी उनले काठमाडौं फर्कंन जोड डरेकी थिइन् । नयाँ पत्रिकाका अनुसार, बालिकाले धेरै जोड गरेपछि सन्दीप करिब ११ बजे नगरकोटबाट हिँडेका थिए । त्यसबेलासम्म बालिका बस्ने होस्टल बन्द भइसकेको थियो ।

पीडितले सन्दीपसँग सहयोग मागेपछि गौशालास्थित होटलको प्रसंग निस्कियो । बालिकाले दुईवटा कोठा लिन भने पनि सन्दीपले एउटा मात्र बुक गरे । बालिकासँग कुनै विकल्प थिएन । त्यसो हुँदा दुवै एउटै कोठामा बसे । सन्दीपले कोठामै मदिरा मगाए । र, पुनः पिउन सुरु गरे । संयुक्त बसाइको यही क्रममा सन्दीपले पटकपटक बलात्कार गरेको पीडितको उजुरीमा उल्लेख छ । सिसिटिभी फुटेजबाट पनि सन्दीप र बालिका होटल पुगेको पुष्टि भएको छ ।