NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १७ गते

बुरुन्डीका प्रधानमन्त्री र सेना प्रमुख बर्खास्त

काठमाडौं (एजेन्सी) । बुरुन्डीका राष्ट्रपति इवरिस्ते नदिस्मीयेले बुधबार यहाँका प्रधानमन्त्री र एक उच्च सहयोगीलाई पदबाट बर्खास्त गरेका छन् ।

अशान्त मध्य अफ्रिकी यस देशमा जटिल राजनीतिक चलखेल बढेपछि पूर्व सैन्य जनरलले एलेन गुइलाउम बुन्योनी र सेना प्रमुख जनरल गेब्रियल निजिगामालाई बर्खास्त गरिएको हो ।

उच्च पदस्त दुई अधिकारीको बर्खास्तसँगै हतार हतार बोलाइएको संसदको अधिवेशनमा सांसदहरूले सुरक्षा मन्त्री गेरवाइस नदिराकोबुकालाई बुन्योनीको स्थानमा संसदमा उपस्थित ११३ सदस्यको सर्वसम्मत मतदानबाट नयाँ प्रधानमन्त्रीका रूपमा नियुक्त गरिएको राष्ट्रिय प्रसारक आरटीएनबीले जनाएको छ ।

दुई वर्षभन्दा बढी समयदेखि सत्तामा रहेका नदिस्मीयेले बुन्योनीलाई बर्खास्त गर्नुको कुनै कारण खुलाएका छैनन् । तर, उनले गत साता सत्ताविद्रोह अर्थात् ‘कू’ को षड्यन्त्र भइरहेको दाबी गरेका थिए ।

शुक्रबार राजनीतिक राजधानी गितेगामा सरकारी अधिकारीहरूको बैठकमा नडिदस्मीयेले चेतावनी दिँदै भने, “सेनाका जनरलले ‘कू’ गर्छु भनेर धम्की दिन सकिन्छ जस्तो लाग्छ ? त्यो व्यक्ति को हो ? जोसुकै भए पनि आउनुपर्छ र ईश्वरको कृपामा म उसलाई परास्त गर्नेछु ।”

सत्तारुढ सीएनडीडी–एफडीडी पार्टीमा लामो समयदेखि वरिष्ठ नेताका रुपमा रहेका पूर्व प्रहरी प्रमुख तथा सुरक्षा मन्त्री बुन्योनीको अवस्थाबारे तत्काल कुनै जानकारी गराइएको छैन ।

राष्ट्रिय गुप्तचर सेवाको नयाँ सैनिक प्रमुखको जिम्मेवारी विशेष शक्तिसहित सेनाका कर्नेल एलोयस सिन्दायिहेबुरालाई दिइएको छ । उनलाई प्रधानमन्त्रीका गतिविधिलाई अनुगमन गर्ने जिम्मेवारीसमेत तोकिएको छ ।

ह्वाट्सएपमा रातारात पठाइएको अत्यावश्यक सन्देशमार्फत सांसदहरूलाई बुधबार संसदको अधिवेशनमा सहभागी हुन आह्वान गरिएको थियो ।