NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १७ गते

बेलायतका प्रधानमन्त्री ट्रसद्वारा इन्धन मूल्य घटाउने प्रतिबद्धता

काठमाडौं । बेलायतका नवनियुक्त प्रधानमन्त्री लिज ट्रसले बढ्दो जीवनयापनको सङ्कटलाई कम गर्न घरेलु इन्धनको मूल्य नियन्त्रण गर्ने महंगो योजना सार्वजनिक गर्ने अपेक्षा गरिएको छ ।

ट्रसले मंगलबार मात्र बोरिस जोनसनबाट पदभार ग्रहण गरेकी छन् । तर कडा दबाबमा परेका घरपरिवार र व्यवसायहरूलाई मद्दत गर्न तत्काल कदम चाल्नुपर्ने आवाज उठिरहेका बेला उनले नागरिकको इन्धन मूल्य नियन्त्रणको माग सम्बोधन गर्ने प्रतिबद्धता जनाएकी छन् ।

रिपोर्टका अनुसार यो योजनामा बेलायतको कोभिड–१९ कालीन रोजगार सहयोग योजनालाई उछिनेर १०० अर्ब पाउन्ड (११६ अर्ब अमेरिकी डलर) भन्दा बढी खर्च लाग्न सक्ने बताइएको छ ।

न त ट्रस न त उनको कार्यालयले नागरिकको पीडा बनेको इन्धन मूल्यबारे पुष्टि गरेको नभए पनि डाउनिङ स्ट्रिटले बुधबार राति मात्र प्रधानमन्त्रीले ‘साहसिक कार्य योजना’ ल्याउन लागेको बताएको छ ।

“मलाई थाहा छ देशभरिका परिवार र व्यवसायहरू यस शरद ऋतु र जाडोमा कसरी गुजारा चलाउने भनी चिन्तित छन्,” उनले भने ।

उनले भने, “युक्रेनमा रूसी नेता भ्लादिमिर पुटिनले घोषणा गरेको युद्ध र युरोपमा ग्याँस आपूर्तिको हतियार विश्वव्यापी मूल्य वृद्धि गरिरहेको छ । यसले स्पष्ट पारेको छ कि हामीले हाम्रो दीर्घकालीन ऊर्जा सुरक्षा र आपूर्तिलाई बढावा दिनुपर्छ ।”

“हामी इन्धन विधेयककासाथ मानिसहरू र व्यवसायहरूलाई मद्दत गर्न तुरुन्तै कदम चाल्नेछौं तर यी समस्याहरूको मूल कारणलाई सम्बोधन गर्न निर्णायक कदम चाल्नेछौं, ताकि हामी फेरि यो स्थितिमा आउन नपरोस् ।”

बेलायती घरपरिवारले अक्टोबरदेखि घरेलु विद्युत् र ग्यासको मूल्यमा ८० प्रतिशतले वृद्धिको सामना गरिरहेका छन्, जसका कारण लाखौं मानिसले यो जाडोमा आफ्नो घर तताउन नसक्ने डर सिर्जना गरेको छ ।

यूरोपमा इन्धन मूल्यमा जनवरीदेखि अझै वृद्धि हुने अनुमान गरिएको छ ।