NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १५ गते

गुल्मीमा झाँक्रीले तोड्लिन त एमालेको २३ वर्षे विरासत ? यस्तो छ हिसाबकिताब

काठमाडौं । पूर्वसहरी विकासमन्त्री तथा नेकपा (एकीकृत समाजवादी)की सचिव रामकुमारी झाँक्रीले गुल्मी–२ मा एमालेको विरासत तोड्ने घोषणा गरेकी थिइन् । पोष्ट कार्डसहितको तस्बिर सामाजिक सञ्जाल फेसबुकमा अपलोड गरेकी उनले आधाघण्टा नबित्दै पोष्ट डिलिट गरिन् ।

‘गुल्मी क्षेत्र नं. २ मा एमालेको विरासत तोडेर देखाउँछु’, झाँक्रीले उल्लेख गरेकी थिइन् । त्यसको २० दिनपछि झाँक्रीलाई नेकपा एस गुल्मीले मंसिर ४ मा हुने प्रतिनिधिसभा सदस्यका लागि सर्वसम्मत उम्मेदवार सिफारिस गरेको छ ।

शनिबार तम्घासमा बसेको नेकपा एसको क्षेत्र नं. २ को क्षेत्रीय समितिले उनलाई सर्वसम्मत उम्मेदवार सिफारिस गरेको हो । गठबन्धन दलको नेतासमेत रहेकी उनले टिकट पाउने नपाउनेमा निश्चित छैन । गठबन्धन दलहरूबीच सहमति भएमात्र उनले टिकट पाउने छिन् । यदि उनले टिकट पाएको खण्डमा मंसिर ४ मा हुने निर्वाचनमा झाँक्रीले आफ्नै पूर्वसहकर्मी गोकर्ण विष्टसँग रोचक भिडन्त गर्नेछिन् ।

अघिल्लो निर्वाचनमा गुल्मीको दुवै क्षेत्रमा एमालेका उम्मेदवार विजयी भएका थिए । क्षेत्र नं. १ मा एमाले उपमहासचिव प्रदीपकुमार ज्ञवाली र २ नं. क्षेत्रमा सचिव गोकर्ण विष्ट निर्वाचित भएका थिए ।

एमालेबाट गुल्मी क्षेत्र नम्बर २ मा विष्टसहित राजेन्द्र अर्याल र शेषकान्त गौतम सिफारिस भएका छन् । एमालेबाट प्रेस चौतारीको पूर्वअध्यक्षसमेत रहेका अर्यालले दाबी गरेपनि टिकट विष्टले नै पाउने सम्भावना रहेको छ ।

झाँक्रीले तोड्लिन त एमालेको विरासत ?

एमाले विभाजन हुनुअघि झाँक्री एमालेमा केन्द्रीय सदस्य थिइन् । विष्ट सचिव रहेका थिए । दुवैजना माधव–झलनाथ समूह निकट नेता थिए । त्यतिबेला झाँक्रीलाई गुल्मीबाट टिकट दिने चर्चा चलेपनि अन्तमा उनी काठमाडौंबाट समानुपातिक सदस्य बस्न राजी भइन् । गुल्मी २ बाट विष्टले नै टिकट पाएका थिए ।

२०७४ को निर्वाचनमा वाम गठबन्धनबाट विष्ट ३४ हजार ६१८ मत ल्याइ विजयी भएका थिए । उनका निकटतम प्रतिद्वन्द्वी चन्द्रबहादुर केसीले २० हजार १५७ मत पाएका थिए । विष्टको मतान्तर १४ हजार ४६१ रहेको छ । विष्ट २०५६ देखि सोही निर्वाचन क्षेत्रबाट निर्वाचित सांसद हुन् । झाँक्री गत वर्ष एमालेबाट विद्रोह गरी एकीकृत समाजवादीमा लागेकी हुन् ।

उनी नेकपा एसको केन्द्रीय सचिव रहेकी छिन् । त्यहीक्षेत्रको बासिन्दा भएपनि काठमाडौंबाट राजनीतिमा सक्रिय छिन् । अनेरास्ववियुको अध्यक्षसमेत रहेका उनी २०६२/६३ को जन आन्दोलनबाट चर्चामा आएकी हुन् । एमाले विभाजपछि बनेको देउवा नेतृत्वको सरकारमा ९ महिना शहरी विकासमन्त्री भइन् । उनले पार्टीको निर्देशनमा असार १२ गते मन्त्रीबाट राजीनामा दिएकी थिइन् । गठबन्धनबाट गुल्मी १ बाट टिकट पाएको खण्डमा झाँक्रीले एमालेको विरासत तोड्न निकै मेहनत गर्नुपर्ने देखिन्छ ।

यस्तो छ स्थानीय तहको मतपरिणाम

वैशाखमा भएको स्थानीय तह निर्वाचनको तथ्यलाई हेर्दा गुल्मी २ मा एमालेको जनमत ३१ हजार २५३ रहेको छ । दोस्रो स्थानमा रहेको कांग्रेसको मत परिणाम २९ हजार ८२१ रहेको छ । त्यस्तै माओवादीको १ हजार ८४१, नेकपा एसको ६५८ र राप्रपाको मत १०१ रहेको छ । यहाँ गठबन्धनको जम्मा भोट ३२ हजार ३२० रहेको छ । एमालेभन्दा गठबन्धन १०६७ मतले अगाडि रहेकोछ ।

चुनावी परिणाम अनुसार कांग्रेसको जनमत राम्रो भएकाले झाँक्रीले टिकट पाउनै मुस्किल देखिन्छ । चौंथो स्थानमा रहेको एकीकृत समाजवादीले यो क्षेत्रमा हजार भोट पनि कटाउन सकेको छैन । गठबन्धनबाट उनले टिकट पाएको खण्डमा स्थानीय कांग्रेस कार्यकर्ताले असहयोग गर्न सक्ने खतरा पनि उत्तिकै देखिन्छ ।

झाँक्री मन्त्री हुनुअघि लोकप्रिय थिइन् । तर सरकारमा पुगेपछि लोकप्रियता खस्किएको छ । मन्त्रीबाट फिर्ता हुने विषयमा झाँक्री र पार्टीबीच द्वन्द्व नै भएको थियो । केही साताअघि उनकै निर्वाचन क्षेत्रबाट जिल्ला अध्यक्ष नरेश भण्डारीसहित पूरै कमिटी एमालेमा फिर्ता भएका थिए । आगामी निर्वाचनमा नयाँ मतदाताको भूमिका पनि उत्तिकै रहने हुँदा त्यसले समग्र मतपरिणामलाई फरक पार्न सक्छ ।