NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ७ गते

ओलीले योगेशलाई दिएको त्यो सुझाव, जसले तरंगित छ एमाले

काठमाडौं । स्थानीय निर्वाचन (३४ प्रतिशत) भन्दा १६ प्रतिशत मत बढाएर एकल बहुमत हासिल गर्ने महत्त्वाकांक्षी लक्ष्य राखेका एमाले केपी शर्मा ओलीले केही पदाधिकारीलाई पनि सहजै टिकट दिन चाहेका छैनन् । प्रतिनिधिसभा विघटनको आफ्नो कदमप्रति विरोध गर्दै पुनः स्थापनाका लागि सर्वोच्च अदालत गएका र कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन एवं पार्टी विभाजनमा अप्रत्यक्ष भूमिका निर्वाह गरेका नेतालाई ओलीले ससर्त मात्र टिकट दिने तयारी गरेका छन् ।

एमालेको आन्तरिक विवादमा माधवकुमार नेपालनिकट रहेका तर विभाजनका बेला मूल पार्टीमै बसेका १० नेतामध्ये उपाध्यक्ष युवराज ज्ञवाली र सुरेन्द्र पाण्डे, सचिवद्वय योगेश भट्टराई र गोकर्ण विष्ट, स्थायी कमिटी सदस्यद्वय घनश्याम भुसाल र रघुजी पन्त, केन्द्रीय सदस्य भीम रावल र भीम आचार्यलगायत नेता आसन्न प्रतिनिधिसभा निर्वाचनको उम्मेदवारका रूपमा जिल्ला र प्रदेश तहबाट सिफारिस भइसकेका छन् । तर केन्द्रबाट उम्मेदवारको औपचारिक निर्णय हुनुपूर्व ओलीले ती नेतालाई आत्मालोचना गराउन खोजेको एक नेताले बताए । विगतमा पार्टी अध्यक्ष र प्रधानमन्त्रीका रूपमा आफूले गरेका कामको विरोधलाई ओलीले अनुशासन उल्लंघनको विषय बनाएका छन् ।

ओलीले सार्वजनिक रूपमै १० नेता आफ्नो नजरमा रहेको र टिकट दिनपूर्व केही प्रक्रिया हुनसक्ने जनाउ दिइसकेका छन् ।

‘पार्टीमा अनुशासनहीनता र अराजकतालाई बढावा दिन सकिँदैन । यो सौर्यमण्डलका ग्रहहरू लयमा चलेका छन् । चन्द्रमा लयमा चलेको छ,’ ओलीले केही दिनअघि आयोजित एक सार्वजनिक कार्यक्रममा भनेका थिए, ‘हरेक चीज लयमा चलेको छ, चल्नुपर्छ । लयमा हिजो चलिएन होला, कतिपय अवस्थामा । तर अब चल्नुपर्छ । चल्ने प्रतिबद्धता हुनुपर्छ । अब चल्ने प्रतिबद्धता हुनुपर्छ भनेर उहाँहरू किन डराउनुभएको ? के अब पनि अनुशासनहीन काम गर्ने हो ? सरकार ढाल्न नै संसदमा आउन खोज्नुभएको हो ? एमालेभित्र यस्तो कुरा छैन ।’

चुनावी परामर्शका लागि केही दिनअघि बालकोट पुगेका सचिव योगेश भट्टराईलाई ओलीले चुनाव लड्ने भए आत्मालोचना पत्र लेख्न भनेको स्रोतले जनाएको छ । ‘संसदमा विश्वासको मत लिन खोज्दा अनुपस्थित रहने सांसदले आत्मालोचना गर्नुस्,’ ओलीले भनेका थिए । भट्टराईले भने आफूले अध्यक्ष ओलीलाई नभेटेको दाबी गरे ।

आत्मालोचनाका लागि ओलीले दिन थालेको दबाबबाट १० नेता असन्तुष्ट छन् । आत्मालोचना नगरे उनीहरूलाई टिकटै नदिनेसम्मको रणनीतिमा ओली रहेको स्रोत बताउँछ । १० बुँदे सहमति गरेर एमालेमा बसेकी उपाध्यक्ष अष्टलक्ष्मी शाक्य भने अध्यक्षले प्रतिशोध साध्न नहुने बताउँछिन् । कान्तिपुर दैनिकमा खबर छ ।