नुवाकोटको एकै गाउँका १५ भन्दा धेरैको मिर्गौला झिकियो

विपन्न नागरिकलाई आर्थिक प्रलोभनमा पार्दै भारत लगेर मिर्गौला बिक्री गर्ने गिरोह सक्रिय छ । यो गिरोहले काठमाडौंसँगै जोडिएको नुवाकोटको शिवपुरी गाउँपालिकाका एउटै गाउँका १५ जनाभन्दा धेरैको मिर्गौला बिक्री गरिसकेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।
गाउँकै स्थानीयलाई प्रयोग गरी गिरोहले रोजगारीको प्रलोभनमा भारतको कोलकाता लैजाने र झुक्याएर मिर्गौला निकाल्ने गरेको प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोले जनाएको छ । मिर्गौला निकालिएका एक पीडितले उजुरी दिएको र अन्य पीडितको पनि खोजी भइरहेको ब्युरोका एसपी दानबहादुर मल्लले बताए ।
‘एउटै गाउँका धेरैजनालाई कोलकाता पुर्याएर मिर्गौला निकालिएको हाम्रो अनुसन्धानमा देखिएको छ,’ एसपी मल्लले भने, ‘केहीलाई पक्राउ गरेका छौँ, यसमा ठूलै गिरोहको संलग्नता हुन सक्ने अनुमान छ, त्यसमा अनुसन्धान चलिरहेको छ ।’
मिर्गौला बेचबिखनमा संलग्न रहेको आरोपमा प्रहरीले शिवपुरी गाउँपालिका वडा नम्बर ६ र ७ का चारजनालाई पक्राउ गरिसकेको छ । सानु भन्ने सुवास नेपाली, मुरली दमाईं, राजु नेपाली र राजेश परियारलाई पीडितको उजुरीका आधारमा २२ साउनमा पक्राउ गरिएको थियो । उनीहरू सबै जेल चलान भएका छन् । उनीहरूले शिवपुरीकै एक स्थानीयलाई मःम पसलमा काम लगाइदिने भन्दै कोलकाता पुर्याएर इच्छाविपरीत अस्पतालमा भर्ना गराएर अर्काे व्यक्तिमा मिर्गौला प्रत्यारोपण गराएका थिए ।
पक्राउ परेकामध्ये ४६ वर्षीय मुरली दमाईं आफैँ पनि पीडित पनि हुन् । करिब १५ वर्षअगाडि आफूले एउटा मिर्गौला बिक्री गरेको उनले प्रहरीसँग स्विकारेका छन् । परिवारका एक सदस्यको मृत्युपछि ऋण लागेको र त्यही ऋण तिर्न आफूले मिर्गौला बिक्री गरेको उनको बयान छ । पछि गाउँका अन्य व्यक्तिको मिर्गौला बिक्री गर्न पनि उनले सहजीकरण गरिदिएका थिए । आफूले मिर्गौला बेच्दा केही नभएको भन्दै अरूलाई पनि उनले उस्काउने गर्दथे । ग्रहणकर्ता र दाताबीच सहजकर्ताका काम मुरलीले गर्दै आएको प्रहरी दाबी छ ।
पक्राउ परेकामध्ये सुवास नेपालीको भने भारतीय गिरोहसँग सम्बन्ध देखिएको छ । पीडित र पक्राउ परेका व्यक्तिले बताएअनुसार गाउँका कम्तीमा १५ जनाले त्यसरी मिर्गौला बिक्री गरिसकेका छन् । बिक्री गर्नेहरू चरम गरिबीको जीवन बाँचिरहेका छन् । प्रारम्भिक अनुसन्धानमा विपन्नता र अशिक्षाकै कारण एउटै गाउँका धेरै व्यक्तिले मिर्गौला बेचेको पाइएको अनुसन्धानमा आबद्ध एक प्रहरी अधिकारीले बताए ।
शिवपुरी गाउँपालिकामा पर्ने साबिकको सुनखानी गाविसमा धेरै पीडित रहेको प्रहरी अधिकारीहरूको भनाइ छ । स्थानीय धेरै पीडित हुन थालेपछि प्रहरीले अनुसन्धानका साथै जनचेतना कार्यक्रम पनि सुरु गरेको छ । जसअन्तर्गत सोमबार सुनखानीनजिकै पर्ने नुवाकोटको लिखुमा प्रहरीले स्थानीय तह तथा विभिन्न संघसंस्थासँग मिलेर जनचेतनामूलक कार्यक्रम गरेको छ । एसपी मल्लले सोमबार आफैँ गाउँमा पुगेर स्थानीयलाई मिर्गौला बेच्ने समूह सक्रिय भएकाले झुटो आश्वासनमा नपर्न आग्रह गरे ।
शिवपुरी गाउँपालिकाका उपाध्यक्ष वीरबहादुर तामाङले केही गाउँका विपन्न नागरिकलाई आर्थिक प्रलोभनमा पारेर भारत लगेर मिर्गौला बेच्ने गरेको सूचना आएको र आफूहरूले अध्ययन पनि थालेको बताए । ‘केही बस्तीका धेरै व्यक्तिले मिर्गौला बेचेका छन् भन्ने सुनिएको छ,’ उनले भने, ‘सोधपुछ गर्दा धेरै खुल्न चाहनुभएको छैन, यसमा अध्ययन गरेर हामी जनचेतनासम्बन्धी कार्यक्रम गर्ने तयारीमा छौँ ।’ नयाँ पत्रिका दैनिकमा खबर छ ।
प्रतिक्रिया