NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १६ गते

‘कि विकल्प देउ, कि रोजगारी देऊ’ भन्दै फुटपाथ व्यवसायी सडकमा (फोटो फिचरसहित)

काठमाडौं । काठमाडौं महानगरपालिकाभित्र फुटपाथमा व्यापार गर्ने व्यवसायीले दशैँसम्म आफ्नो व्यापार व्यवसाय सञ्चालन गर्न दिन माग गरेका छन् ।

फुटपाथ व्यवसायीहरूले आज सरकारले कि विकल्प दिनपर्ने, कि रोजगार दिनुपर्ने, विहान बेलुकामात्रै भएपनि व्यापार गर्न पाउनुपर्ने, ल्याइसकको सामान बेचिनसक्दासम्म व्यापार गर्नपाउनुपर्नेलगायतका माग राख्दै विरोध -याली गरेका छन् ।  -याली सुन्धाराबाट सुरू भएर, रत्नपार्क परिक्रमा गरी महानगरको गेटसम्म पुगेका थिए ।

फुटपाथ व्यवसायीहरूले महानगरका मेयर बालेन शाहलाई ज्ञापनपत्रसमेत बुझाएको छ ।

महानगरपालिकाको प्रमुखका रुपमा बालेन्द्र शाह निर्वाचित भएसँगै अनधिकृतरुपमा निर्माण गरिएका संरचना र फुटपाथ व्यवसाय हटाउन सुरु गरेसँगै फुटपाथ व्यवसायी भने दशैँ मुखमा आएको भन्दै दसैँसम्म व्यवसाय गर्न दिन नगरपालिकालाई आग्रह गरेका छन्।

अहिले काठमाडौँ महानगरपालिकाले माछापोखरी क्षेत्रमा फुटपाथ व्यवसाय हटाउँदा ६० व्यवसायी मारमा परेका छन् । बिहान र बेलुकाको समयमा व्यापार गर्दै आएका उनीहरुसँग हालै ४० लाख मूल्य बराबरको सामान छ । दसैँको समयमा सामान बिक्री गर्न नदिँदा उक्त मूल्य बराबरको सामान थन्किने डर व्यवसायीमा रहेको छ ।

माछापोखरी क्षेत्र मात्र नभएर काठमाडौँको मुख्य क्षेत्र न्यूरोड, कोटेश्वर, कलङ्की, चाबहिल, नयाँ बसपार्क क्षेत्रमा रातका समयमा फुटपाथमा सामान राखेर बिक्री वितरण हुँदै आएको छ । उनीहरुले भने व्यापार व्यवसाय गरेबापत हाल कसैलाई पनि कर तथा भाडा तिर्दैनन् ।

काठमाडौँ महानगरपालिकाका नगर प्रहरी प्रमुख राजुनाथ पाण्डे अनाधिकृत संरचना र फुटपाथ व्यवसाय हटाउने नीति महानगरपालिकाले लिएको बताउछन् । ‘महानगरपालिकाले लिएको नीति पालना गर्ने दायित्व नगर प्रहरीको हो, जनप्रतिनिधिको आदेशअनुसार नगर प्रहरीले अनधिकृतरुपमा बनाएका संरचना र फुटपाथ व्यापार हटाउन लागेको हो,’ उनी भन्छन् ।

उनले महानगरले लिएको नीतिलाई सहयोग गर्न सबैलाई आग्रहसमेत गरेका छन् । पछिल्लो समय काठमाडौँ महानगरपालिकाले सार्वजनिक जग्गा अतिक्रमण गरेर बनाइएका संरचना र नक्सा पास नगरी बनाएका भवन तथा फुटपाथ व्यवसायीमाथि निगरानी बढाएको छ ।

काठमाडौँ महानगरपालिकाले हालसम्म न्यूरोड, नयाँ बानेश्वर, कोटेश्वर, चाबहिल, नयाँ बसपार्क, वनस्थलीलगायत काठमाडौँभित्रका विभिन्न क्षेत्रमा नक्साविपरीत अनाधिकृतरुपमा बनाइएका संरचना हटाइसकेको छ ।

फोटो फिचर :

फोटो : अमरदिप श्रेष्ठ/नेपालवाच