फुटपाथ व्यवसायलाई लिएर बाबुराम, बालेनबीच सवालजवाफ

काठमाडौं । पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई र काठमाडौं महानगरपालिकाका प्रमुख (मेयर) बालेन्द्र शाहबीच फुटपाथ व्यापारीको व्यवस्थापनलाई लिएर सामाजिक सञ्जालमा सवाल–जवाफ चलेको छ ।
पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले शुक्रबार सामाजिक सञ्जालमार्फत काठमाडौं व्यवस्थित गर्ने, मृतप्रायः बनेका नदीलाई पुनर्जीवन दिने बालेनको कार्य प्रशंसनीय रहेको उल्लेख गर्दै फुटपाथ व्यापारीको व्यवस्थापन सम्बन्धमा भने सोच्नुपर्ने सुझाव दिएका थिए । संसारभर स्वरोजगार श्रमिक फुटपाथ वा सार्वजनिक स्थानमा व्यापार गर्ने बाध्य हुने भएकाले निश्चित ठाउँ र समय तोकेर तिनको व्यवस्थापन गर्न उपयुक्त हुने बाबुरामको भनाइ थियो ।
काठमाण्डौ मनपालाई व्यवस्थित गर्ने,मृतप्रायःबनेका नदीलाई पुनर्जीवन दिने आदि मेयर@ShahBalenका पहल प्रशंसनीय छन्!फुटपाथ पनि व्यवस्थित गर्नुपर्छ।तर संसारभर स्वरोजगार श्रमिकहरू फुटपाथ वा सार्वजनिक ठाउॅमा व्यवसाय गर्न बाध्य हुन्छन्!अतःनिश्चित ठाउॅ /समय तोकेर तिनको व्यवस्थापन गर्नैपर्छ!
— Baburam Bhattarai (@brb1954) September 16, 2022
‘काठमाडौं मनपालाई व्यवस्थित गर्ने, मृतप्रायः बनेका नदीलाई पुनर्जीवन दिने आदि मेयरका पहल प्रशंसनीय छन् । फुटपाथ पनि व्यवस्थित गर्नुपर्छ। तर संसारभर स्वरोजगार श्रमिकहरू फुटपाथ वा सार्वजनिक ठाउॅमा व्यवसाय गर्न बाध्य हुन्छन् । अतः निश्चित ठाउँ र समय तोकेर तिनको व्यवस्थापन गर्नैपर्छ,’ भट्टराईले फेसबुकमा लेखेका थिए ।
भट्टराईको सुझावलाई बालेनले सामाजिक सञ्जालमार्फत जवाफ फर्काएका छन् । जसमा उनले सडक विस्तारका क्रममा सोच्नुपर्नेमा किन बेवास्ता गरियाे भनेर भट्टराईसमक्ष प्रतिप्रश्न गरेका छन् ।
काठमाडौंका सडक चौडा गर्ने कार्य शुभारम्भ बाबुराम भट्टराईको प्रधानमन्त्रीत्वकालमा भएको थियो ।
‘यो कुरा त हजुरले हजारौंको घर भत्काएर फुटपाथ बनाउँदा पनि सोच्न पर्थ्यो नि,’ बालेनले फेसबुकमा लेखेका छन् ।
मेयर बालेनले अहिले महानगरपालिका व्यवस्थित गर्ने अभियान छेडेका छन् । यसक्रममा उनले फुटपाथ व्यवसायमा रोक लगाएका छन् भने अवैध संरचना हटाइरहेका छन् । फुटपाथ व्यवसायीको सम्बन्धमा भने वैकल्पिक व्यवस्था गरिनुपर्ने माग उठिरहेकाे छ । बिहीबार मात्रै फुटपाथ व्यवसायीले आफूहरूको व्यवस्थापन माग गर्दै महानगर घेराउ गरेका थिए । तर बालेन फुटपाथ पैदलयात्रीका लागि भएकाले व्यापारिक प्रयोजन निम्ति प्रयोग गर्न दिन नहुनेमा दृढ छन् ।
प्रतिक्रिया