NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ६ गते

चिडियाखाना अवलोकन गर्नेको संख्या बढ्दो

काठमाडौं । जावलाखेलमा रहेको सदर चिडियाखाना अवलोकन गर्न आउने अवलोकनकर्ताको संख्या बढ्दै गएको छ । पछिल्लो समय कोरोना सङ्क्रमणको त्रास पनि हट्दै गएकाले चिडियाखाना अवलोकन गर्न आउने अवलोकनकर्ताको संख्या बढ्दै गएको चिडियाखाना प्रशासनले जनाएको छ ।

हिजो आज दैनिक कम्तीमा पनि एक हजार पाँच सयसम्म सदर चिडियाखाना अवलोकन गर्न आउने गरेको सदर चिडियाखाना प्रमुख रचना शाहले बताइन्। उनले भनिन् ‘कोरोना सङ्क्रमण दर घट्दै गएकाले अहिले चिडियाखाना अवलोकन गर्नेको संख्या उल्लेख्यरुपमा वृद्धि भएको छ, सबैभन्दा बढी युवा र बिद्यार्थी आउने गरेका छन् ।’

अवलोकनकर्ता बढेसँगै चिडियाखाना प्रशासनले अवलोकनकर्तालाई अनिवार्यरुपमा स्वास्थ्य मापदण्ड पालना गराउने गरेको छ । अवलोकनकर्ताले अब मास्क अनिवार्य, चिडियाखानाभित्र बसेर खान र जीव जनावरलाई खुवाउन छुन नपाउने, सेनिटाइजर अनिवार्य प्रयोग गर्नुपर्ने, आफू गएको समूहसँग मात्रै घुलमिल हुन मिल्ने जस्ता मापदण्डको पालना गर्नुपर्ने नियम बनाएको बताइएको छ ।

चिडियाखाना अवलोकन समय हरेक दिन बिहान १० देखि साँझ ५ बजेसम्म राखिएको छ । हाल चिडियाखानामा एक सय १० प्रजातिका एक हजार ६८ जीव जनावर राखिएका प्रमुख शाहले जानकारी दिइन् ।

उनका अनुसार चिडियाखानामा मुख्य आकर्षणका रुपमा बाघ, भालु, चितुवा, रेडपाण्डा (रातो हाब्रे) रहेका छन् । ती प्रजातिमध्ये ३३ स्तनधारी, ६१ चरा, आठ उभयचर र १७ प्रजातिका माछा छन् । नेपालमा लोप हुन लागेको भनी सूचीकृत ३८ दुर्लभ वन्यजन्तुमध्ये १५ लाई चिडियाखानाले संरक्षण गरी प्रदर्शनीमा राखेको छ ।

चिडियाखाना अवलोकनका गर्न विदेशीलाई एक हजार, सार्क राष्ट्रका पाहुनालाई पाँच सय, नेपालीलाई दुई सय, विद्यार्थीलाई एक सय ३५ र ज्येष्ठ नागरिकका लागि ९० रुपैयाँ शुल्क निर्धारण गरिएको चिडियाखाना प्रशासनले जनाएको छ ।

तत्कालीन राणा प्रधानमन्त्री श्री ३ जुद्धशमसेर जङ्बहादुर राणाले सन् १९३२ मा निजी चिडियाखानाका रुपमा स्थापना गरेका हुन् । विसं २०११ बाट सर्वसाधरणका लागि खुला गरिएको चिडियाखाना विसं २०५२ बाट यसको व्यवस्थापनको जिम्मेवारी ३० वर्षका लागि नेपाल सरकारले राष्ट्रिय प्रकृति संरक्षण कोषलाई हस्तान्तरण गरेको छ ।