बदलिंदै कांग्रेसको समानुपातिक सूची, को हट्दैछन् ? को थपिंदैछन् ?

काठमाडौं । कांग्रेसले निर्वाचन आयोगमा बुझाएको प्रतिनिधिसभातर्फको समानुपातिकको बन्दसूची हेरफेर गर्ने भएको छ । यस अघि ३ असोजमा बुझाएको सूचीमा डा. शेखर कोइराला पक्षले आपत्ति जनाएर विद्रोह गर्ने चेतावनी दिएपछि कांग्रेस आयोगमा बुझाइसकिएको समानुपातिक सूची हेरफेर गर्न तयार भएको हो ।
समानुपातिकतर्फ डा. कोइराला पक्षले कम्तिमा ४० प्रतिशत उम्मेदवार दाबी गरेको थियो । तर कांग्रेसले बुझाएको १०९ जनाको सूचीमा शेखर पक्षका १३/१४ जनामात्रै परेपछि सो समूहले आपत्ति जनाएको थियो ।
समूहको भेला गर्दै उनीहरूले एकलौटी निर्णय नमान्ने, सूची नसच्चिए देशैभर प्रत्यक्षमा उम्मेदवारी दिने, गठबन्धनका उम्मेदवारविरुद्ध पनि उम्मेदवार दिएर अघि बढ्ने चेतावनी दिएका थिए । यसैले सभापति शेरबहादुर देउवाले बन्दसूचीमा केही नाम हेरफेर गर्न तयार रहेको जनाउ दिएका थिए । यसैले बिहीबार बिहान बन्दसूची सच्याउन कांग्रेसका शीर्ष नेताको बालुवाटारमा बैठक बसेको हो । निर्वाचन आयोगले १६ असोजसम्म बन्दसूचीमा नाम सच्याउन दलहरूलाई समय दिएको छ ।
संस्थापनले एकलौटी निर्णय गरेको भन्दै शेखर पक्षले विरोधमा समूहको बैठक गर्यो । बुधबार केन्द्रीय कार्यालय सानेपामा धर्ना दियो । बिहीबार बिहान छुट्टै चियापान कार्यक्रम पनि गर्यो । यही कार्यक्रम सकिएपछि बालुवाटारमा बन्दसूची फेरि हेरफेरका लागि बैठक बसेको हो ।
अनि नरम भए देउवा
४ मंसिरको चुनावपछि सहजै संसदीय दलमा बहुमत पुर्याउनका लागि सभापति शेरबहादुर देउवाले आफ्नो अनुकूलमा समानुपातिकतर्फ उम्मेदवार सिफारिस गरेका थिए । तर नाम बुझाएको केही दिनमा नै चाल पाएपछि शेखर समूह विरोधमा नै उत्रियो । सूची नसच्चिए स्वतन्त्र उम्मेदवारी दिएर जानेसम्मको चेतावनी उनीहरूले दिए ।
यतिमात्रै होइन कांग्रेसमा असन्तुष्टि कायम रहे एमालेले यी पक्षसँग संवादसमेत अघि बढाउन खोज्यो । यसैले देउवाले बन्दसूची हेरफेर गरेर भए पनि तत्कालको विवाद साम्य बनाउने प्रयास गरेका हुन् । यस अघि १३–१४ जना शेखर पक्षका नेता समानुपातिकमा अटाएकोमा अब केही नाम थप गर्ने तयारी देउवाको छ । शेखर पक्ष भड्कििएर एमालेको सम्पर्कमा पुगे ४ मंसिरसपछि आफैंले संकट भोग्नुपर्ने बुझेरै देउवा सूची संसोधन गर्न तयार भएका हुन् ।
शेखर पक्षले अब सूची सच्चिँदा संख्या मात्रै होइन क्रम पनि प्रष्ट हुनुपर्ने अडान लिएको छ । अहिले संख्या बढी भए पनि क्रम निर्धारणमा देउवा पक्षकै नेतालाई राखे फेरि सांसद बनाउने बाटो खुल्दैन । यसैले देउवासँग शेखर पक्षले समानुपातिकको उम्मेदवार चयन गर्दा आफ्नो पक्षले पाउने सांसदको प्रष्ट चित्र खोजेको छ ।
शेखर पक्षको असन्तुष्टि पनि संस्थापन पक्षले ८/१० जना नयाँ अनुहारलाई सूचीमा पार्ने तयारी गरेको छ । यस्तोमा पुरानो सूचीमा परेका केही अनुहार बाहिरिने पक्का छ । किनकी बढीमा ११० जनाको मात्रै सूची बुझाउन पाइनेमा कांग्रेसले १०९ जनाको बुझाएको थियो । अब नयाँलाई अवसर दिंदा यस अघि बुझाएको सूचीबाट केही नाम काटिने पक्का भएको छ । यसरी नाम काटिने नेता संस्थापनकै पर्ने पक्का छ । किनकी संस्थापनका नाम काटेपछि मात्रै शेखर पक्षको नाम हाल्न पाइनेछ ।
ताजा अपडेट
-
ब्रेन ट्युमरसम्बन्धी केही भ्रम र यथार्थ
-
‘अर्थमन्त्रीका सल्लाहकारहरू आधारभूत विषयमा अनभिज्ञ रहेको पाउँदा अचम्म लाग्यो’
-
कालीगण्डकी करिडोर निर्माणका क्रममा पूर्ववडाध्यक्षको मृत्यु
-
पाकिस्तानमा पाँच महिनामा सडक अपराध र गोलीबारीका घटनामा ६१ जनाको मृत्यु
-
पूर्वराष्ट्रपति ट्रम्पमाथि अर्को अभियोग
प्रतिक्रिया