NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १३ गते

रावलको प्रष्टोक्ति : ओलीले मलाई सम्पर्कविहीन भएको भन्नु हास्यास्पद

काठमाडौं । नेकपा (एमाले)का नेता भीम रावलले आफू पार्टीको सम्पर्कमै रहेको स्पष्टीकरण दिएका छन् । आफू पार्टीसँग सम्पर्कविहीन भएको भन्ने कुरा हास्यास्पद रहेको उनले स्पष्ट पारेका छन् ।

केही दिनअघि एमाले सुदूरपश्चिमका नेताहरू पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोटा गएका थिए । ओलीले सो टोलीलाई रावल पार्टीको सम्पर्कमा नरहेको बताएका थिए ।

रावलले ट्विटरमार्फत यसैको जवाफ दिँदै आफू अछाम गएको विषय अध्यक्ष ओलीलाई जानकारी गराएको बताएका छन् । उनले ओलीको भनाइको खण्डनसमेत गरेका छन् ।

‘म पार्टीको सम्पर्कमा नरहेको भन्ने के हो भनी धेरै पत्रकारले प्रश्न गर्नुभयो । म अछाम प्रतिनिधिसभा क्षेत्र नं १ ले आयोजना गरेको कार्यकर्ता भेलामा प्रमुख वक्ताको रूपमा सहभागी भएँ । योबारे जिल्ला इञ्चार्ज र अध्यक्षलाई जानकारी गराएको थिएँ । म सम्पर्कविहीन भन्नु हास्यास्पद,’ उनले लेखेका छन् ।