बाँकेको अधिकांश स्थानीय तह डुबानमा
बाँके । केही दिनयतादेखि निरन्तर परेको वर्षाका कारण बाँकेको अधिकांश स्थानीय तह डुबान तथा बाढीले प्रभावित भएका छन् ।
प्राकृतिक विपद्का कारणले करिब पाँच सय घरपरिवारका कम्तीमा तीन हजार पाँच सय विस्थापित भएका छन् । सबैभन्दा बढी राप्तीसोनारी, नरैनापुर र डुडुवा गाउँपालिका प्रभावित बनेका छन् ।
राप्ती नदीमा आएको बाढी राप्तीसोनारी गाउँपालिका–२ मा पर्ने टिकुलीपुर बस्तीमा पस्दा तीन सय घरधुरी विस्थापित भएको जिल्ला विपद् व्यवस्थापन समितिका सूचना अधिकृत रूपन ज्ञवालीले जानकारी दिउ ।
“विस्थापित भनेका जोखिम देखेर घर छाड्नेहरु हुन्” उनले भने । विस्थापित भएकालाई विभिन्न आश्रयस्थल र स्कुलमा सुरक्षित स्थानमा राखिएको र केही घरसमेत फिर्ता भएको उनले बताए । बाढीले नदी तटीय क्षेत्रमा व्यापक कटान गरेको छ । त्यस्तै डुडुवा गाउँपालिकाको कृषि चौफेरी र नेपालगञ्ज उपमहानगरपालिका वडा नं १८ र २० का तीन सयभन्दा बढी बासिन्दा पनि डुबानबाट विस्थापित भएका छन् ।
बाढीले नरैनापुरका दुई सय घर भत्केका छन् । त्यहाँका छवटै वडाका धेरैजसो बस्ती जलमग्न भएका छन् । डुबान क्षेत्रमा घरभित्र पानी जमेकाले बस्न र खाना पकाउन नसक्ने अवस्था रहेको गाउँपालिका अध्यक्ष इस्तियाक अहमद साहले जानकारी दिए ।
उनले पीडितलाई राहत र उद्धारका लागि पटक–पटक अनुरोध गरेको जानकारी दिँदै चार दिनदेखि विद्युतसमेत नभएको बताए । नरैनापुरका बनियागाउँ, रोशनपुरवा, महतिनिया, बहावपुरवा, गिगली, रतैया, कोटिया, कोदीपुर, पचपेडवा, घोडदौरिया, पण्डितपुरवा, जमुनाहालगायत धेरै बस्ती डुबानमा परेका छन् ।
“यहाँका सबै स्थान पानीले भरिएको छ”, उनले भने । जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले बाढी प्रभावितको तथ्याङ्क सङ्कलन गर्ने, तत्कालका लागि सुक्खा खाना उपलब्ध गराउने निर्णय गरेको छ । बाढी र डुबानबाट पीडित भएकालाई पुनःस्थापना र राहतका लागि विपद् व्यवस्थापन समितिसँग समन्वय गरेर स्थानीय सरकारले राहत उपलब्ध गराउने निर्णयसमेत भएको सूचना अधिकृत ज्ञवालीले जानकारी दिए ।
डुडुवामा राहत व्यवस्थापन
डुडुवा गाउँपालिकामा बाढीपीडित विस्थापित परिवारलाई राहत तथा खानाको व्यवस्था मिलाइएको छ । गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले बाढीबाट प्रत्यक्ष प्रभावित तथा अश्रयस्थलमा बसिरहेका करिब चार सयलाई पुग्ने गरी तत्काल तयारी खाजा र खानाको व्यवस्था गरेको बताए ।
डुडुवा–१ का छिटाइपुर्वास्थित दुई पाझा टोलका करिब एक सय २० र सोही वडाअन्तर्गत कृषि चौफेरी, बोर्डर चौफेरी र गजराजपुर्वा गाउँका करिब दुई सय ५० अहिले बाढी र डुबानबाट वस्थापित भएर गाउँ नजिकै पालिकाले निर्माण गरेको आश्रयस्थलमा बसिरहेको अध्यक्ष चौधरीले जानकारी दिए । उनका अनुसार गाउँ र घर बाढीले सबै डुबान गरेपछि आश्रयस्थलमा पुगेका स्थानीयलाई अहिले तत्काल तयारी खाजा र चार–पाँच दिनका लागि पुग्ने खानाको व्यवस्थापन गरिएको छ ।
उनले केही दिनसम्म स्थानीय पीडित भोकै बस्नुपर्ने अवस्थाको अन्त्य हुने उल्लेख गर्दै गाउँपालिकाले विशेष राहत प्याकेज उपलब्ध गराउने जानकारी दिए ।
ताजा अपडेट
-
झापामा पूर्वशिक्षकबाटै एरिनाबाट गोली प्रहार भएको खुलासा
-
नेपालमा रहेका वेष्ट इन्डिजका तीन खेलाडी विश्वकप टोलीमा
-
आरबी कम्प्लेक्स र पिपुल्स प्लाजाद्वारा लाखौं कर छली
-
सूचना आयोगले सूचनाको हकसम्बन्धी क्षेत्रमा उत्कृष्ट १३ जनालाई पुरस्कृत गर्ने
-
कसैलाई प्रोत्साहित गर्न र कसैलाई कमजोर पार्न करको दर हेरफेर हुँदैन : अर्थमन्त्री पुन
प्रतिक्रिया