NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ५ गते

गृहमन्त्री खाणविरुद्ध परेको बाबुछोराको उम्मेदवारी फिर्ता

काठमाडौं । रुपन्देही क्षेत्र नम्बर ३ मा गृहमन्त्री एवं कांग्रेस नेता बालकृष्ण खाणको विरुद्ध परेको उम्मेदवारी फिर्ता भएको छ ।

नेकपा (माओवादी केन्द्र)बाट उम्मेद्वारी दिएका इम्दाद हुँसेन खाले उम्मेदवारी फिर्ता लिएका हुन् । रुपन्देही ३ प्रदेश सभा (क)मा माओवादीका तर्फबाट उम्मेद्वारी दिएका फैज अहमद खाँले पनि उम्मेदवारी फिर्ता लिएका छन् ।

मओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँगको छलफलपछि आफूहरूले उम्मेद्वारी फिर्ता लिएको प्रदेश सभा उम्मेद्वार फैज अहमद खानले जानकारी दिए । उनीहरूले सत्तारुढ गठबन्धनका उम्मेद्वारलाई विजयी बनाउन र प्रतिगमनकारी उम्मेदवारलाई पराजित गर्न आफूहरूले उम्मेद्वारी फिर्ता लिएको बताएका छन् ।

‘हामीले सत्तारुढ गठबन्धनका उम्मेद्वारलाई प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा विजयी गराउन र प्रतिगमनकारी उम्मेद्वारलाई हराउनन उम्मेद्वारी फिर्ता लिएका छौँ,’ फैज अहमदले भने ।

प्रतिनिधि सभामा उम्मेदवारी दिएका इम्दादले गृहमन्त्री तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाण र गठबन्धनलाई विजयी बनाउन उम्मेद्वारी फिर्ता लिएको जानकारी दिए ।

निर्वाचन कार्यालयले पनि फैज र इम्दादको उम्मेदवारी फिर्ता भएको जानकारी दिएको छ । फैज र इम्दाद नाताले बाबु छोरा हुन् । फैज माओवादीका सिद्धार्थनगर नगरपालिकाका इञ्चार्जसमेत हुन् ।

फैजले आफू उम्मेद्वार हुँदाभन्दा बढी सत्तारुढ गठबन्धनका उम्मेदवार जिताउन खटिनेसमेत बताए । ‘म जति म उम्मेद्वार हुँदा प्रचार प्रसारमा खटिन्थे, त्यति गठबन्धनका उम्मेद्वारलाई जिताउन खटिनेछु,’ फैजले भने ।

रुपन्देही प्रतिनिधि सभा क्षेत्र नं ३ मा गठबन्धनबाट गृहमन्त्री तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाण उम्मेदवार छन् । रुपन्देही क्षेत्र नं ३ प्रदेशसभा (क)मा लोकतान्त्रिक समाजवादी पार्टीका सन्तोष पाण्डे र रुपन्देही क्षेत्र नं ३ प्रदेशसभा (ख)मा नेपाली कांग्रेसका रामचन्द्र ढकाल उम्मेदवार छन् ।

ताजा अपडेट

नेपालवाच विशेष