NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ४ गते

सडक दुर्घटनामा एकको मृत्यु, तीन घाइते

बाँके । बाँकेको राप्तीसोनारी गाउँपालिका–२ झुरिखोलामा आज जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । जीपमा रहेका तीन यात्रु घाइते भएका छन् ।

सो दुर्घटनामा सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–४ का ५५ वर्षीय कृष्णप्रसाद खतिवडाको मृत्यु भएको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत काठमाडाँैतर्फ जाँदै गरेको सो गाडी अनियन्त्रित भएर पल्टिँदा चालकसहित चारजना घाइते भएका थिए ।

घाइते सबैलाई उपचारका लागि मेडिकल कलेज कोहलपुरमा लैजाने क्रममा चालकको मृत्यु भएको हो । घाइतेमध्ये वीरेन्द्रनगर नगरपालिका– ७ का २२ वर्षीय शिशिर ज्ञवालीको अवस्था गम्भीर रहेको छ भने अन्य दुईजना सामान्य घाइते भएको प्रहरीले जनाएको छ ।

मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु

यसैगरी पूर्व–पश्चिम राजमार्ग अन्तर्गत झापाको कनकाई नगरपालिका– ३ मा आज भएको सवारी दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ ।

पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको को २५ प ४६५१ नं को मोटरसाइकल अनियन्त्रित भई सडक किनारमा पल्टिँदा मोटरसाइकलमा सवार मोरङ उर्लावारी–४ का ५३ वर्षीय नागेन्द्रप्रसाद कोइरालाको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ । मोटरसाइकल दुर्घटनामा परी गम्भीर घाइते कोइरालाको बिर्तासिटी अस्पताल बिर्तामोडमा उपचारका लागि ल्याएलगत्तै मृत्यु भएको प्रहरीले जनाएको छ ।