NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १६ गते

गच्छदार र पाण्डेसहित ९ जनाको उम्मेदवारी खारेज गर्न माग गर्दै सर्वोच्चमा रिट

काठमाडौं । कांग्रेसका विजयकुमार गच्छदार र राप्रपाका विक्रम पाण्डेसहित नौ जनाको उम्मेदवारी खारेज गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट परेको छ ।

सुनसरी–३ का कांग्रेस उम्मेदवार गच्छदार र चितवन–३ का राप्रपा उम्मेदवार विक्रम पाण्डेले भ्रष्टाचारको मुद्दा खेपिरहेका छन् ।

साथै, तनहुँ–१ का स्वतन्त्र उम्मेदवार गोविन्दराज जोशीले पनि भ्रष्टाचार मुद्दा खेपिरहेका छन् । उनी कांग्रेसका पूर्वनेता हुन् ।

त्यस्तै, रौतहट – ३ का उम्मेदवार प्रभु साह वीरगञ्जका काशी तिवारीको हत्यामा जोडिएका छन् ।

यस्तै, सिन्धुपाल्चोक १ (क) बाट उम्मेदवार रहेका डिबी तामाङ, महोत्तरी १ की उम्मेदवार लक्ष्मी महतो, स्वतन्त्र उम्मेदवार रहेकी नेतृ सरिता गिरी तथा झापा ५ (ख) का उम्मेदवार रेवतराज पुरीविरुद्ध मुद्दा परेको हो ।

‘कानुनले स्वच्छ छवि र उच्च नैतिक चरित्र भएको व्यक्तिलाई उम्मेदवार बनाउने परिकल्पना गरे पनि ऐनको प्रावधानले विभिन्न मुद्दाका आरोपित पनि उम्मेदवार बन्न छुट दिएकाले संशोधनको माग गर्दछौं,’ रिटमा भनिएको छ ।

यो रिटको सुनुवाइका लागि असोज ३० गतेलाई पेशी तोकिएको छ ।