NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ २ गते

चिनियाँ सडकमा किन लागिरहेका छन् राष्ट्रपति सीविरुद्ध नारा ?

काठमाडौं (एजेन्सी) । विभिन्न देशका राष्ट्र प्रमुख जनताको आक्रोसको निशाना बन्दै आएका घटना नयाँ होइनन् । हाम्रै देश नेपालमा जनआक्रोसको सिकार हुँदा २४० वर्षे राजतन्त्र ढलेर गणतन्त्र आयो । हालै मात्र दक्षिण एसियाली मुलुक श्रीलंकाका राष्ट्र प्रमुख जनताले उठाएको आन्दोलनका कारण पद मात्र होइन देश नै छाडेर आश्रयका लागि अन्यत्र जानुपर्यो । भलै त्यहाँ संघर्षले जनताको आकांक्षा पूरा भएन । घुमिफिरी रुम्झाटार भनेजस्तो पुरानै अनुहार सत्ताको सिंहासनमा बस्न सफल भए ।

विश्वका धेरै देशमा यस्ता आन्दोलन र संघर्ष चलेका खबर बरोबर आइरहन्छन् ।

तर हाम्रो छिमेकी देश चीनमा भने सरकारविरोधी प्रदर्शन भएको बिरलै सुन्न पाइन्छ । चीनमा अहिले सी जिनपिङ राष्ट्रपति छन् । उनी अहिले दोस्रो कार्यकालको अन्ततिर छन् । दोस्रो कार्यकाल पूरा गर्ने अवसर पाएका उनी पुनः अर्को कार्यकालका लागि पनि अनुमोदित हुन चाहन्छन् । उनकै चाहनामुताविक तेस्रो कार्यकालका लागि अनुमोदन गर्ने तयारी चिनियाँ कम्युनिस्ट पार्टीले गरेको छ ।

यस्तैमा सी आफूविरोधी प्रदर्शनको सामना गरिरहेका छन् । उनीविरुद्ध बेइजिङका सडकमा आक्रोस पोखिएपछि यसले विश्वव्यापी चर्चा पाइरहेको छ ।

चीनको राजधानी बेइजिङमा राष्ट्रपति सीविरुद्ध ब्यानर प्रदर्शन भएको हो । जिनपिङविरुद्ध चीनमा अहिलेसम्म एउटा पनि प्रदर्शन भएका छैनन् भन्दा पनि हुन्छ । कडा फलामे अनुशासनबीच सीको दोस्रो कार्यकालको अन्तिमतिर भएको यो प्रदर्शनलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।

सर्वसाधारण किन आक्रोसित छन् सीविरुद्ध ?

सीको छवि शालीन र जनताप्रति उत्तरदायी नेताका रूपमा छ । लामो राजनीतिक यात्रा तय गर्दै चीनको नेतृत्वमा पुगेका सी अहिले देशलाई प्रगतिको चरमचुलीमा पुर्याउन ध्याउन्नरत देखिन्छन् । तथापि, उनीविरुद्ध आक्रोस व्यक्त हुन थालेका छन् ।

किन त ?

जिनपिङविरुद्ध सर्वसाधारणमा आक्रोस बढ्नुको कारण कोरोना महामारी नियन्त्रणका नाममा लगाइएको लकडाउन र निषेधाज्ञा मुख्य देखिएको छ । चीनले शून्य कोभिड नीति लागू गर्दै संक्रमण प्रभावित क्षेत्रमा लडकडाउनलगायत निषेधाज्ञा अहिले पनि जारी गरिरहेको छ । यसले व्यवसायी र सर्वसाधारण समस्या झेलिरहेका छन् । सिर्जित समस्याले चिनियाँ जनता निराश छन् । अहिले सीविरुद्ध बढेको प्रदर्शनको मूल कारण यसैलाई ठानिएको छ ।

जिनपिङको विरोधमा सडकमा राखिएका ब्यानरका धेरै तस्विर र भिडियो ट्विटरमा अहिले भाइरल भइरहेको छ ।

यी ब्यानरहरू बेइजिङको उत्तर–पश्चिम हाइडिआन जिल्लामा भेटिएका हुन् । स्थानीय प्रशासनले राखिएको केही समयमै ती ब्यानर हटाएको थियो । तर त्यतिन्जेलसम्म यो दृश्य सामाजिक सञ्जालमार्फत विश्वभर फैलिसकेको थियो ।

पसल बाहिर अचानक देखापरेका ब्यानरमा राष्ट्रपति सीलाई पदबाट हटाउन, कोरोना महामारीपछि लगाइएको प्रतिबन्धको अन्त्य गर्न माग गरिएको छ ।

एउटा भाइरल भिडियोमा लेखिएको छ, ‘हामीलाई कोभिड परीक्षण चाहिँदैन, हामीले खानुपर्छ। हामी लकडाउन होइन, स्वतन्त्रता चाहन्छौं ।’

जिनपिङको तेस्रो कार्यकालको तयारी

सत्तारुढ कम्युनिष्ट पार्टीले २० औँ महाधिवेशन गर्दैछ, जसमार्फत सीलाई तेस्रो कार्यकालका लागि राष्ट्रपतिमा अनुमोदन गर्ने तयारी छ । यहीबीच भएको विरोधलाई अर्थपूर्ण ठानिएको छ।

बेइजिङमा हुन लागेको सम्मेलनलाई लिएर चिनियाँ सरकारी निकाय र अधिकारीहरूले उच्च सतर्कता अपनाइरहेका छन् । त्यसैले यी ब्यानरहरू देखापरेपछि तुरुन्तै हटाइयो।

जब समाचार एजेन्सीहरूले चिनियाँ प्रहरीलाई आफ्नो आधिकारिक विच्याटमार्फत सी विरोधी ब्यानरहरूको बारेमा जिज्ञासा राखेको थियो । जसबारे कुनै प्रतिक्रिया प्राप्त नभएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

चीनमा इन्टरनेटलाई कडा सुरक्षा दिइएको छ। सामाजिक सञ्जालमा पनि प्रतिबन्ध लगाइएको छ ।