NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ वैशाख ६ गते

यस्तो थियो शताब्दी पुरुष जोशीले आफ्नो शरीर दान गर्नुको कारण

काठमाडौं । संस्कृतिविद् सत्यमोहन जोशीको १०३ वर्षको उमेरमा निधन भएको छ । केही समयदेखि स्वास्थ्य समस्या झेल्दै आइरहेका जोशीको उपचारका क्रममा आइतबार बिहान निधन भएको हो ।

जोशीको शव अहिले उनको उपचार गरिएको अस्पताल किष्टमा राखिएको छ । उनको अन्तिम दाहसंस्कार भने नगरिने भएको छ । जोशीले मृत्युपूर्व नै आफ्नो शरीर चिकित्सा शिक्षा अध्ययनरत विद्यार्थीलाई दान गर्ने घोषणा गरेका थिए । उनको यही घोषणाअनुसार, उनको शव नजलाइने भएको हो ।

जोशीको आइतबार बिहान निधन भएपछि अन्तिम संस्कार कसरी गर्ने भन्ने अन्योल सिर्जना भएको थियो । यसलाई टुंग्याउन परिवार र अस्पताल प्रशासनबीचको छलफल भएको थियो । छलफलबाट अन्तिम श्रद्धाञ्जली अर्पणपछि जोशीको शव परिवारका सदस्यले अस्पताललाई हस्तान्तरण गर्ने सहमति भएको छ । पारिवारिक स्रोतका अनुसार, जोशीको शव श्रद्धाञ्जलीका लागि पहिले अस्पताल र त्यसपछि ललितपुर महानगरपालिकामा राखिने छ । जोशीप्रति श्रद्धाञ्जली व्यक्त गर्न राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवालगायत उपस्थित हुने जनाइएको छ ।

०७७ मै गरेका थिए जोशीले शरीर दानको घोषणा

जोशीको शरीर जलाएर नष्ट नगरिने भएको छ । अबको उनको पार्थिव शरीर परिवारका सदस्यले हस्तान्तरण गरेपछि किष्ट मेडिकल कलेजमा अध्ययनरत मेडिकल विद्यार्थीले अध्ययन गर्नेछन् ।

झण्डै दुई वर्षअघि ३० माघ ०७७ मा जोशीसँगै उनकी पत्नी राधादेवीले मरोणपरान्त किष्ट अस्पताललाई शरीर दान गर्ने घोषणा गरेका थिए ।चिकित्सा विज्ञानको प्रयोगात्मक अध्ययनका लागि शरीर दान गर्न गरिएको मञ्जुरीपत्रमा जोशी दम्पतीले हस्ताक्षर गरेका थिए । बाबुआमाको यो निर्णयमा जोशीपुत्र अनुजराजको पनि मञ्जुरी थियो ।

शरीर दान घोषणा कार्यक्रममा शताब्दी पुरुषले आफ्नो संक्षिप्त भनाइ राखेका थिए । जसमा उनले आफूलाई लामो आयु कसरी प्राप्त भयो भन्ने अध्ययनका लागि चिकित्सा साइन्सका विद्यार्थीलाई मृत्युपश्चात शरीर दान गर्ने निर्णय लिएको सुनाएका थिए ।

‘म अहिले १०१ वर्षको भएँ । मलाई यति लामो आयु कसरी प्राप्त भयो भनेर म अनुसन्धान होस् भन्ने चाहन्छु । त्यसैका लागि मैले मृत्युपश्चात शरीर दान गर्ने निर्णय लिएको हुँ,’ जोशीले शरीर दान घोषणा कार्यक्रममा भनेका थिए ।

जोशीकै इच्छामुताबिक अबको उनको लामो आयुको रहस्यबारे अनुसन्धान हुनेछ ।जोशीको शरीरको अनुसन्धान कसरी हुन्छ भन्नेबारे अस्पतालले भने अहिलेसम्म केही प्रष्ट्याएको छैन ।

ताजा अपडेट

नेपालवाच विशेष