NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १७ गते

‘कोटेश्वरदेखि साँखुसम्मलाई स्मार्ट सिटी बनाउने योजना हामीसँग छ’ – नेपाल

काठमाडौं । काठमाडौं क्षेत्र नंबर २ बाट पटक पटक चुनाव जितेर संसद पुगेका नेपाल कम्युनिष्ट पार्टी(एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आफूसँग कोटेश्वरदेखि साँखुसम्मलाई स्मार्ट सिटी बनाउने योजना भएको बताएका छन् ।

यस क्षेत्रलाई स्मार्ट सिटीको रुपमा विकास गर्न सक्ने योजना आफूहरूसँग रहेको भन्दै अध्यक्ष नेपालले कोटेश्वरदेखि साँखुसम्मलाई स्मार्ट सिटिको रुपमा विकास गर्न सकिने स्पष्ट पारेका हुन् ।

वाम–लोकतान्त्रिक गठबन्धन काठमाडौँ क्षेत्र नं २ ले आज आयोजना गरेको निर्वाचन प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभा चुनावमा यस क्षेत्रले पूर्व सभामुख ओनसरी घर्ती मगरलाई यस क्षेत्रले उम्मेदवारको रूपमा पाएको भन्दै घर्तीले जनताको भावना र चाहनालाई सम्बोधन गर्न सक्ने नेता नेपालले बताए । उनले विकासको नयाँ श्रृखला अगाडि बढाउने नेपालको आश्वासन छ ।

सो कार्यक्रमलाई सम्बोधन गर्दै नेपालले राज्यका सर्वोच्च पदहरूमध्येको एक सभामुखको जिम्मेवारी सम्हालेकी ओनसरी घर्ती मगरलाई साझा उम्मेदवारको रुपमा यस क्षेत्रले पाएको र यो विषय आफैमा गौरवको भएको बताए । गठबन्धनका दलले यसलाई प्रतिष्ठाको विषय बनाउनुपर्नेमा जोड दिँदै पूर्व प्रधानमन्त्री नेपालले मुलुकलाई ठूलो दुर्घटनाबाट बचाएको, लोकतन्त्र र संविधान जोागाउन वाम–लोकतान्त्रिक गठबन्धनले भूमिका खेलेको बताए ।

जनअधिकारको रक्षा र मुलुकको विकासका लागि पनि गठबन्धनको विजय जरुरी रहेको उल्लेख गर्दै उनले विगतदेखि थाती रहेका कामलाई समेत पूरा गराएरै छाडिने विश्वास व्यक्त गरे । भविष्य गठबन्धन दलकै रहेको स्पष्ट पार्दै पूर्व प्रधानमन्त्री नेपालले मुलुकमा गर्नुपर्ने धेरै काम सम्पन्न गरेरै छाडिने दृढता व्यक्त गरे ।

निर्वाचन अभियानलाई सक्रियताका साथ अगाडि बढाउन गठबन्धन दलका नेता तथा कार्यकर्तालाई आग्रह गर्दै उनले विगतमा आफूलाई जिम्मेवारी दिइएको यस क्षेत्रलाई आगामी दिनमा नेतृत्व गर्ने जिम्मेवारी उम्मेदवार घर्तीलाई दिन समेत आग्रह गरे ।