NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १५ गते

भारतबाट नेपालीलाई बाघ समाउने निम्तो !

भरतपुर । भारतमा नौ जना मान्छे मार्ने बाघ नियन्त्रणका लागि नेपाली प्राविधिक टोली भारत पुगेको छ । भारतको बाल्मिकी टाइगर रिजर्भको अनुरोधमा चितवन राष्ट्रिय निकुञ्जको प्राविधिक टोली भारत पुगेर बाघ नियन्त्रणमा लिन सहयोग गरेको हो ।

बाल्मिकी टाइगर रिजर्भ बिहार प्रदेश पश्चिम चम्पारण जिल्लाको उत्तर–पश्चिमी भागमा अवस्थित छ ।

चम्पारण जिल्लाको वेतिया गोवरदन भन्ने स्थानमा पुगेर बाघ नियन्त्रणका लागि प्राविधिक सहयोग गरेको निकुञ्जका वरिष्ठ पशु चिकित्सक डा. विजयकुमार श्रेष्ठले बताए । निकुञ्जको सीमावर्ती क्षेत्रमा पसेको बाघले पटक–पटक मान्छे मारेपछि सहयोगका लागि चितवन राष्ट्रिय निकुञ्जलाई अनुरोध गरिएको थियो । यहाँबाट डा. श्रेष्ठको नेतृत्वमा प्राविधिक किरण रिजाल, तीर्थ लामा, टीका थारू, रमेश चौधरी र तेन्जिङ चौधरी गत असोज २६ गते त्यसतर्फ गएका थिए । बाघ रहेको स्थान ‘लोकट’ गरेर दुई हात्तीको साहयताले नियन्त्रणमा लिइएको डा श्रेष्ठले बताए ।

धेरै मान्छेको ज्यान लिइसकेकाले भारत सरकारको निर्देशनमा सो बाघलाई नियन्त्रणमा लिएपछि उनीहरुले सुट गरेर मारेको उनले जानकारी दिए ।

“एक महिनादेखि त्यहाँको प्राविधिक टोली बाघ नियन्त्रणका लागि खटिएको थियो, तर नसकेपछि हामीसँग सहयोग मागिएको हो”, उनले भने, “बाघले मान्छे निरन्तर मारेपछि त्यहाँका स्थानीय र प्रहरी प्रशासनबीच द्वन्द्व चलेको थियो ।”

बाघले यति धेरै मान्छे मारेको चम्पारण जिल्लामा पहिलो घटना हो । यो क्षेत्र नेपालको ठोरी नाकाबाट करिब ७० किलोमिटरको दूरीमा पर्छ ।

पहिलोपटक नेपालको प्राविधिक टोली भारत पुगेर वन्यजन्तु नियन्त्रणमा लिन सहयोग गरेको निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्यले जानकारी दिए । “वन्यजन्तुको उद्धारमा हाम्रा प्राविधिकको अनुभव धेरै छ”, उनले भने, “त्यहाँ महिनौँसम्म नियन्त्रणमा लिन नसकेको बाघ यहाँका प्राविधिक पुगेको केहीबेरमै नियन्त्रणमा आयो ।”

विसं २०७४ मा यहाँबाट बगाएर भारत पु¥याएको गैँडा यहाँका प्राविधिकहरू नै पुगेर डार्ट गरेर ल्याएका थिए । त्यसबाहेक यहाँका प्राविधिक भारतमा वन्यजन्तु उद्धार र नियन्त्रणमा लागि गएका छैनन् । चितवन राष्ट्रिय निकुन्जमा वन्यजन्तु उद्धार र नियन्त्रणका लागि आठ जना प्राविधिक छन् । खुला सिमानाका कारण चितवन राष्ट्रिय निकुञ्ज र बाल्मिकी टाइगर रिजर्वमा बाघ ओहोरदोहोर गर्ने गर्छन् । बाल्मिकी टाइगर रिजर्भमा ५१ बाघ छन् भने चितवन राष्ट्रिय निकुन्जमा एक सय २८ बाघ छन् ।