NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १८ गते

सन्दीपको तिहार हिरासतमै

काठमाडौं । बालिकालाई होटेलमा लगेर जबर्जस्ती करणी गरेको जाहेरीका आधारमा पक्राउ परेका क्रिकेटर सन्दीप लामिछानेको तिहार प्रहरी हिरासतमै बित्ने भएको छ । अनुसन्धान नसकिएकाले तिहारपछि मात्र उनीविरुद्ध अदालतमा मुद्दा दायर हुनेछ ।

विदेशबाटै फर्कंदै गर्दा गत २० असोजमा उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पक्राउ परेका थिए । शुक्रबारसम्म उनी १६ दिन प्रहरी हिरासतमा बसिसकेका छन् । जबर्जस्ती करणी मुद्दामा प्रहरीले अधिकतम २५ दिनसम्म मात्र थुनेर अनुसन्धान गर्न पाउँछ । तर, तिहार र छठको एक साता लामो बिदाका कारण सन्दीप २५ दिनभन्दा लामो समय हिरासतमा बस्नुपर्ने भएको छ ।

तिहारअघि आइतबार मात्र अदालत खुल्नेछ । शुक्रबारसम्म प्रहरीले अनुसन्धान सकाएको छैन । प्रहरीले अनुसन्धान सकाएर रायसहितको प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाउनेछ । सोही अनुसन्धान प्रतिवेदनका आधारमा सरकारी वकिलको कार्यालयले अदालतमा मुद्दा दायर गर्नेछ ।

अनुसन्धान प्रतिवेदन अध्ययन गरेर अभियोजन गर्न सरकारी वकिलले सामान्यतया दुई दिनको समय लिने गर्दछ । मुद्दा दायर भएपछि अदालतले थुनछेक बहस सुनेर थुनामा पठाउने वा रिहा गर्ने आदेश गर्नेछ । यसरी अनुसन्धान प्रतिवेदन सरकारी वकिलमा पुगेर आदेश हुनसम्म कम्तीमा दुई दिन लाग्ने, तर तिहारअघि एक दिन मात्र बाँकी भएकाले उनीमाथि तिहारपछि मात्र मुद्दा दायर हुने भएको हो । जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी दिनेशराज मैनाली सो मुद्दामा अनुसन्धान अन्तिम चरणमा पुगेको बताउँछन् । तिहारअघि अनुसन्धान नसकिए तिहारलगत्तै मुद्दा प्रक्रिया अघि बढ्ने उनको भनाइ छ ।

लामिछाने प्रहरी वृत्त गौशालाको हिरासतमा छन् । घटनास्थल गौशला वृत्तमातहतको पिंगलास्थानस्थित एक होटेल भएकाले त्यहाँबाट अनुसन्धान अघि बढेको हो । साथै, नेपाल क्रिकेट एसोसिएसन (क्यान) लगायत निकायलाई पत्र लेखेर उनी राष्ट्रिय क्रिकेट टिम बसेको होटेल छाडेर निस्किएको लगायत विषयमा जानकारी माग गरेको छ । ‘केही निकायबाट जवाफ आउन बाँकी छ,’ गौशाला वृत्तका एक अधिकारीले भने, ‘त्यसपछि मुद्दा दायरको प्रक्रिया अघि बढ्नेछ ।’ बयानका क्रममा लामिछानेले आफू ती किशोरीसँग उनको आग्रहमा होटेलमा गएको र आफूहरूबीच कुनै सम्बन्ध नभएको दाबी गरेका छन् । नयाँ पत्रिका दैनिकमा खबर छ ।