NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १७ गते

आचारसंहिताविपरीत काम गर्ने दुई चिकित्सक निलम्बित

काठमाडौं । आचारसंहिताविपरीत गतिविधि गर्ने दुई भेटेरिनरी चिकित्सक निलम्बनमा परेका छन् । नेपाल भेटेरिनरी काउन्सिलको कात्तिक ३ गते बसेको बैठकले डा. विशला बास्तोला र डा. नवराज चापागाईलाई पशु चिकित्सा व्यवसाय गर्न नपाउने गरी निलम्बित गरेको हो ।

लेखनाथ नगरपालिका–९, कास्की स्थायी ठेगाना भएका बास्तोला र फूलबारी–९, चितवन स्थायी ठेगाना भएका दुवै जना पशु चिकित्सा परिषद्मा दर्तावाल हुन् । उनीहरूको दर्ता नं. क्रमशः ६१९ र ७२१ हो ।

पशु चिकित्सकको आचारसंहिताविपरीत काम गरेको भन्दै दुवैविरुद्ध परिषद्मा उजुरी परेको थियो । त्यसैउपर थप छानबिन गर्न नेपाल पशु चिकित्सा परिषद् नियमावली, २०५७ को नियम २१ को उपनियम (१) बमोजिम निलम्बन गरिएको निमित्त रजिस्ट्रार डा. मनोजकुमार शाहीले जनाएका छन् ।

उनीहरूको निलम्बन दुई महिनाका लागि रहनेछ । यो अवधिमा उनीहरूले दर्तावाल पशु चिकित्सकका हैसियतले पशु चिकित्सा व्यवसाय गर्न नपाउने परिषद्द्वारा जारी सूचनामा उल्लेख छ ।

निलम्बनमा पर्ने बास्तोला तिनै चिकित्सक हुन् जसले चितवनमा बसेर रूपन्देहीको १३३ गोरु स्वस्थ रहेको व्यहोराको प्रमाणपत्र जारी गरेका थिए ।

पशुपन्छी ढुवानीका लागि जारी हुने भेटेरिनरी प्रमाणपत्रको दुरूपयोग बढेको छ । गत असोज ३० गते मात्रै भेटेरिनरी अस्पताल तथा विज्ञ केन्द्र, ललितपुरका प्रमुख रामप्रकाश प्रधानले ललितपुरमा बसेर हेटौंडामा यस्तो प्रमाणपत्र जारी गरेका थिए । उनीजस्तै गल्ती गर्ने दुई चिकित्सकलाई निलम्बन गरेको परिषद्ले प्रधानबारे भने अहिलेसम्म कुनै कारबाही प्रक्रिया थालेको छैन ।