NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १७ गते

‘विकास गर्नेलाई भोट दिन्छौँ’

चौतारा । सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिकाको भिमटारका ७५ वर्षीय काले माझी यसपटक विकास गर्नेलाई भोट दिने सोचमा छन् । विगतमा अनेकन आश्वासन दिएका उम्मेदवारलाई भोट उनले स्मरण गरे ।

चुनावी रमझमले छोई नसकेको माझी बस्तीमा सिँचाइ सबैभन्दा प्रमुख आवश्यकता देखिएको छ । ‘जसले सिँचाइको व्यवस्था गर्छ, उसैलाई भोट हाल्छौँ,’ माझीले भने । हालम्म १२ पटक भोट हालिसकेका उनी गाउँको विकास गर्ने उम्मेदवार नपाउँदा आफुहरुले दुःख पाएको बताउँछन् । छिमेकी टोल हराभरा हुँदा इन्द्रावती नदी किनारको माझी बस्ती भने उजाड छ ।

‘यसपाली सबैले सामुहिकरुपमा भोट हाल्ने सल्लाह भएको छ’, ५० वर्षीय तेजबहादुर माझी भन्छन्, ‘छोरानातिका लागि विकास आवश्यक छ ।’ साँगाचोकको फेदीमा पर्ने जामुने, भिमटार, एक्लेबेँसी र महादेवटारमा गरी दुई सय नौ माझी परिवारको बसोबास छ ।

चेतना अभावका कारण विगतमा खानपानकै आधारमा भोट दिनेसमेत गरेको शिक्षक गणेश माझी बताउँछन् । अब स्थानीयले मताधिकारबारे बुझ्न थालेकाले पैसा र भोज खाएका आधारमा भोट हाल्ने चलन हट्ने उनको विश्वास छ ।