NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ २ गते

२३ करोड आठ लाख पाकिस्तानीले किन गर्दैछन् क्रिकेटको कट्टर दुष्मन भारतको जितको कामना ?

काठमाडौं । भारत र पाकिस्तान क्रिकेटका कट्टर प्रतिद्वन्द्वी हुन् । सीमा र भूगोलको पुरानो विवादको उत्कर्षले पनि यी दुई देशबीचको क्रिकेटको प्रतिस्पर्धा युद्ध जत्तिकै मानिन्छ ।

यस्तै विवादले गर्दा यी दुईदेशबीच क्रिकेटका सिरिज नभएको वर्षौ बितिसकेको छ । राजनीतिक तहको द्वन्द्वले यी दुई देशबीच टेस्ट, एकदिवसीय र टी २० का कुनै सिरिज नभएको वर्षौ भइसक्यो । विश्वमा नै चर्चित भारतको आइपिएलमा विश्वभरका क्रिकेटरले खेल्दा पाकिस्तानका कुनै पनि खेलाडीले यो प्रतियोगिता खेल्न पाउँदैनन् ।

यसैले क्रिकेटका विश्वकपका विभिन्न फरम्याट र एसिया कपमा मात्रै यी दुई दुष्मनी प्रतिद्वन्द्वी आपसपमा खेल्न पाउँछन् । यी दुई देशबीच हुने क्रिकेट प्रतियोगिताका खेल विश्वभरि नै बढी प्रतिक्षित त हुन्छन् । बढी हेरिने रेकर्ड पनि यिनीहरूकै हुनेगर्छ ।

खेलका दौरान हुने माहोलले खेलप्रेमी र दर्शकलाई रोमाञ्चित त बनाउँछ नै । खेलसँगै टेलिभिजनमा अर्बौ रूपैयाँकाे विज्ञापन पनि यिनै दुई राष्ट्रबीचको खेलले उठाउनेछन् । जसबाट धेरैलाई मालामाल बन्ने अवसरसमेत आउँछ । अष्ट्रेलियामा भइरहेको टी २० विश्वपकको यसै क्रिकेट प्रतियोगिताकाे सुपर १२ को खेल पनि उस्तै चर्चित बन्न पुगेको थियो । अर्बौको विज्ञापन र व्यापार यी दुई देशबीचको खेलबाट उठेको बताइन्छ । वर्षाले बिथोल्दा अर्बौ नोक्सान हुने संशयको बीच दुई देशबीच रोमाञ्चक खेल भएको थियो । जसमा भारतले अन्तिम बलमा पुगेर चार विकेटको रोमाञ्चक जित दर्ता गरेको थियो ।

फेरि उस्तै रोमाञ्चक समीकरण

क्रिकेटमा यी दुई देशबीचको प्रतिस्पर्धा रोमाञ्चक हुने र हुँदै आएकोमा दुईमत छैन । तर सुपर १२ को समूह २ मा रहेका यी दुई टिमबीच सेमिफाइनलमा भने गज्जवको संयोग बन्न पुगेको छ ।

पहिलो खेलमा पाकिस्तान जितनजिक पुगेर पनि भारतसँग अन्तिम बलमा पराजित हुन पुग्यो । दोस्रो खेलमा पनि तुलनात्मक रुपमा कमजोर मानिएको जिम्बावे पाकिस्तानको सेमिफाइनल यात्राको तगारो बन्न पुग्यो । समूहका ६ मध्ये अंक तालिकामा शीर्ष दुई स्थानमा रहने टोली सोझै सेमिफाइनलमा पुग्छन् । लगातारका दुई हारले पाकिस्तानलाई बाँकी तीन खेलमा आफूले मात्रै जितेर सेमिफाइनलमा नपुग्ने समीकरण देखिएको छ । अर्थात् लगातारका दुई खेल जितेर चार अंक बनाइसकेको भारतले बाँकी तीन खेल जितिदिए मात्रै पाकिस्तान आफ्ना बाँकी तीनवटै खेल जितेर मात्रै सेमिफाइनलमा पुग्न सक्छ ।

दुई खेलबाट भारत चार अंकसहित पहिलो स्थानमा छ । दुई खेलबाटै दक्षिण अफ्रिका तीन अंकसहित तेस्रो स्थानमा छ । अब भारतले दक्षिण अफ्रिका, बंगलादेश र जिम्बावेसँग खेल्न बाँकी छ । भारतले यी बाँकी खेलमा सबै हारेर पाकिस्तानले राम्रो रनरेटमा सबै खेल जिते पाकिस्तान सेमिफाइनल पुग्न सक्छ । तर यो सम्भावना कमजोर देखिन्छ ।

किनकी भारत दक्षिण अफ्रिकासँग पराजित भए पनि नेदरल्याण्ड र बंगलादेश  उसका लागि कमजोर प्रतिद्वन्द्वी हुन् । यो विकल्पले पाकिस्तानलाई सेमिफाइनल पुर्याउन कठिन छ । पाकिस्तान र भारतले बलियो दक्षिण अफ्रिकालाई पराजित गर्ने हो भने यी दुवै टोलीका लागि बाँकी दुईदुई खेल जित्न कठिन पर्ने देखिंदैन । यसैले पाकिस्तानका लागि आफूले तीन खेल जितेर भारतले पनि तीनवटै खेल जितिदिए सबै हिसाबले सहज देखिने समीकरण बन्नेछ ।

पाकिस्तानले नेदरल्याण्डससँग अहिले खेलिरहेको छ । दक्षिण अफ्रिका र बंगलादेशसँग खेल्न बाँकी छ । यसैले आजको खेलमा नेदरल्याण्डसविरुद्ध जित्ने र बाँकी दुई खेलमा जितेर मात्रै पनि पाकिस्तान सेमिफाइनमा पुग्नेछैन ।

पाकिस्तानले लागि आफूले तीनवटा खेल जितेर भारतले बाँकी तीनवटै जितिदिए मात्रै सेमिफाइनलको टिकट काट्नेछ । मतलब पाकिस्तानलाई सेमिफाइनलमा पुर्याउने यसपटक भारतको हातमा रहेको छ । यसैले २३ करोड आठ लाख पाकिस्तानीले भारतले खेल्ने तीनवटै खेलमा जितको कामना गर्नेछन् ।

यसको सुरुवात पाकिस्तानले नेदरल्याण्डसविरुद्ध जितेपछि भारत र दक्षिण अफ्रिकाबीचको खेलले गर्नेछ । आजै भारत पराजित भएमा पाकिस्तानले बाँकी खेल जितेर मात्रै पनि सेमिफाइनलको बाटो तताउने छैन ।

दक्षिण अफ्रिकाले जिते तीनवटै खेलमा जितेर पनि पाकिस्तान सेमिफाइनल पुग्नेछैन । किनकी दुई खेलबाट दक्षिण अफ्रिकाले तीन अंक जोडिसकेको छ । भारतलाई जिते ५ अंक बनाउनेछ । त्यसपछि पाकिस्तानसँग पराजित भए पनि दक्षिण अफ्रिकाका लागि नेदरल्याण्डस सहज प्रतिद्धन्द्वी हुनेछ । यस्तोमा भारतका लागि पनि दक्षिण अफ्रिकासँग पराजित हुँदा बंगलादेश र जिम्बाब्वे सहज प्रतिद्वन्द्वी हुनेछन् । यसैले यो समीकरणबाट पनि पाकिस्तानलाई कठिन देखिन्छ ।

चार अंक जोडेको बंगालादेशको पनि सेमिफाइनल पुग्ने सम्भवना नभएको होइन । तर उसका बाँकी दुई खेलमा भारत र पाकिस्तान तगारो बन्न सक्छन् । यी दुई मध्ये एक खेल जित्दा बंगलादेशले ६ अंक बनाउन सक्नेछ । तर रनरेटमा सुधार पनि गर्नुपर्ने हुन सक्छ । दक्षिण अफ्रिका र भारतले बाँकी खेल जिते यी दुवै टोली सेमिफाइनलमा पुग्नेछन् ।

भारत र पाकिस्तानले सबै खेल जित्दा दक्षिण अफ्रिकाले नेदरल्याणडस् विरूद्द जिते पनि ५ अंक मात्रै हुनेछ ।