म ठीक भइसकें , आजै चुनावी प्रचारप्रसारमा जुट्छु : शशांक

काठमाडौं । कांग्रेस नेता डा. शशांक कोइरालाले आफ्नो स्वास्थ्यमा सुधार आएको भन्दै सोमबारदेखि नै चुनावी प्रचारप्रसारमा जुट्ने बताएका छन् । आइतबार चुनावी प्रचारका क्रममा अचानक बेहोस भएपछि शशांकको चितवनस्थित पुरानो मेडिकल कलेजमा भर्ना गरेर उपचार गरिएको थियो । सम्बोधनका क्रममा स्वास्थ्यमा समस्या आएपछि उनलाई अस्पताल लगिएको थियो ।
‘हिजो दिनको २ बजे गैंडाकोट नगरपालिका वडा नं १६ को चुनाव प्रचार प्रसार समितिको कार्यालय उद्दघाटन कार्यक्रममा प्रमुख अतिथिको रूपमा उपस्थित भई सम्बोधन गर्ने क्रममा अचानक मेरो स्वास्थ्यमा सामान्य समस्या देखिएकोले साथीहरुको सहयोगमा भरतपुर स्थित पुरानो मेडिकल कलेजमा गै उपचार गरी अहिले म सामान्य अवस्थामा रहेको जानकारी गराउँदछु।’ शशांकले फेसबुकमा लेखेका छन्, ‘यस परिस्थितिमा प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा सहयोग गर्नुहुने तमाम साथीहरु, मेडिकल कलेजका चिकित्सक टिम , पार्टीका साथीहरु, पत्रकार मित्रहरु, सुरक्षाकर्मी मित्रहरू तथा मेरो स्वास्थ अवस्थाबारे नियमित चासो चिन्ता र शुभेच्छा तथा स्वास्थलाभको कामना गर्नुहुने सम्पूर्ण दिदीबहिनी तथा दाजुभाईहरुमा म हृदय देखि नै धन्यवाद व्यक्त गर्दछु । अन्त्यमा आजको दिनबाट हुने चुनाव प्रसार प्रचार कार्यक्रमहरु यथावत रूपमा सञ्चालन हुने र उक्त कार्यक्रमका मेरो सहभागीता हुने कुरा जानकारी गराउँदछु।’
शशांक लोकतान्त्तिक वाम गठबन्धनका तर्फबाट नवलपरासी १ का उम्मेदवार हुन् ।
प्रतिक्रिया