सन्दीपविरुद्ध दर्ता हुँदै मुद्दा, हिरासतमै बसेर मुद्दा लड्लान् कि छुट्लान् ?
काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्ध नाबालिगमाथि जबर्जस्ती करणी गरेकाे जाहेरीका आधारमा आज मुद्दा दर्ता हुँदैछ ।
काठमाडौं जिल्ला सरकारी वकिलको कार्यालयले आज सन्दीपविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गर्न लागेको हो ।
सन्दीपलाई १० देखि १२ वर्षको कैद सजाय माग गर्दै अभियोगपत्र दर्ता हुन लागेको हो ।
२१ भदौमा एक किशोरीले जाहेरी दिएको एक महिनापछि २० असोजमा सन्दीप नेपाल प्रहरीको सम्पर्कमा आएयता प्रहरी हिरासतमा बस्दै आएका छन् । उनलाई अनुसन्धानका क्रममा प्रहरीले जिल्ला अदालत काठमाडौंबाट पटकपटक म्याद थप्नै अनुसन्धान गरेको थियो । जाहेरी, यसका आधार, प्रमाणसहितका आधारमा सरकारी वकिलको कार्यालयले सन्दीपविरुद्ध मुद्दा दर्ता गर्न लागेको हो ।
सन्दीपविरुद्ध दिउसो नगरकोट घुमाएर भदौ ५ गते राति गौशालास्थित एक होटलमा बालिकामाथि जबर्जस्ती करणी गरेको अभियोग लागेको हो । सन्दीप त्यसको भोलिपल्टै क्रिकेट सिरिजका लागि केन्या पुगेका थिए । केन्याबाट क्यारेवियन लिग खेल्न वेस्ट इण्डिजका देश पुगेका थिए । यही बेला उनीमाथि बलात्कार गरेको जाहेरी परेपछि एक महिनामा नेपाल फर्किएका थिए ।
मुद्दा दर्तापछि के हुन्छ ?
मुद्दा दर्ता भएपछि अदालतले सुरुमै सन्दीपको बयान लिन्छ । त्यसपछि थुनछेक बहस सुरु हुन्छ । थुनछेक बहसपछि साधारण तारेखमा छोड्ने की पुर्पक्षका लागि थुनामा पठाउने भन्ने आदेश अदालतले दिनेछ । सामान्यतया जबर्जस्ती करणीको १० देखि १२ वर्षसम्म कैद सजायँको माग गरिएको मुद्दामा साधारण तारेखमा छोड्ने अभ्यास छैन ।
तीन वर्षमाथिको कैद सजाय माग गरिएको मुद्दामा अदालतले भित्रै बसे मुद्दा लड्नुपर्ने आदेश दिने अभ्यास छ । यस अघि अभिनेता पल शाहको मुद्दामा पनि हिरासतमै बसेर मुद्दा लड्नुपर्ने आदेश आएको थियो । सन्दीपको सवालमा पनि त्यस्तै आदेश आउने सम्भावना बढी रहेको बताइन्छ ।
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया