NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २१ गते

क्रिकेटर सन्दीप लामिछानेविरुद्ध जबर्जस्ती करणीमा मुद्दा दर्ता

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्ध नाबालिगमाथि जबर्जस्ती करणीको आरोपमा मुद्दा दर्ता भएको छ । काठमाडौं जिल्ला सरकारी वकिलको कार्यालयले आज सन्दीपविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको हो । सन्दीपलाई १० देखि १२ वर्षको कैद सजाय माग गर्दै अभियोगपत्र दर्ता भएको जानकारी जिल्ला सहन्याधिवक्ता अच्युतमणि नेउपानेले दिए ।

जिल्ला प्रहरी परिसर काठमाडौंले बुझाएको रायसहितका प्रतिवेदनका आधारमा सन्दीपविरुद्ध मुद्दा दायर भएको हो । सन्दीपले ती किशोरीलाई लिएर होटलमा गएको सिसीटिभी फुजेज, किशोरीको मेडिकल जाँच, सन्दीपकै बयानसहितका विषयलाई प्रहरीले बलात्कार प्रमाणका रुपमा मुद्दा चलाउने आधार भनेको छ ।

२१ भदौमा एक किशोरीले जाहेरी दिएको एक महिनापछि २० असोजमा सन्दीप नेपाल प्रहरीको सम्पर्कमा आएयता प्रहरी हिरासतमा बस्दै आएका थिए । उनलाई अनुसन्धानका क्रममा प्रहरीले जिल्ला अदालत काठमाडौंबाट पटकपटक म्याद थप्नै अनुसन्धान गरेको थियो । जाहेरी, यसका आधार, प्रमाणसहितका आधारमा सरकारी वकिलको कार्यालयले सन्दीपविरुद्ध मुद्दा दर्ता गर्न गरेको हो ।

सन्दीपविरुद्ध दिउसो नगरकोट घुमाएर भदौ ५ गते राति गौशालास्थित एक होटलमा बालिकामाथि जबर्जस्ती करणी गरेको अभियोग लागेको हो । सन्दीप त्यसको भोलिपल्टै क्रिकेट सिरिजका लागि केन्या पुगेका थिए । केन्याबाट क्यारेवियन लिग खेल्न वेस्ट इण्डिजका देश पुगेका थिए । यही बेला उनीमाथि बलात्कार गरेको जाहेरी परेपछि एक महिनामा नेपाल फर्किएका थिए ।

मुद्दा दर्तापछि के हुन्छ ?

मुद्दा दर्ता भएपछि अदालतले सुरुमै सन्दीपको बयान लिन्छ । त्यसपछि थुनछेक बहस सुरु हुन्छ । थुनछेक बहसपछि साधारण तारेखमा छोड्ने की पुर्पक्षका लागि थुनामा पठाउने भन्ने आदेश अदालतले दिनेछ । सामान्यतया जबर्जस्ती करणीको १० देखि १२ वर्षसम्म कैद सजायँको माग गरिएको मुद्दामा साधारण तारेखमा छोड्ने अभ्यास छैन ।

तीन वर्षमाथिको कैद सजाय माग गरिएको मुद्दामा अदालतले भित्रै बसे मुद्दा लड्नुपर्ने आदेश दिने अभ्यास छ । यस अघि अभिनेता पल शाहको मुद्दामा पनि हिरासतमै बसेर मुद्दा लड्नुपर्ने आदेश आएको थियो । सन्दीपको सवालमा पनि त्यस्तै आदेश आउने सम्भावना बढी रहेको बताइन्छ ।