NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १८ गते

पोग्बालाई नदेखिने भयो कतार विश्वकपमा

काठमाडौं (एजेन्सी) । पउल पोग्बा फुटबलका पारखीका लागि कुनै नयाँ नाम होइन । आसन्न विश्वकपमा उनको आकर्षक खेल हेर्न उनका समर्थक प्रतीक्षारत छन् ।

तर पोग्बाका फ्यानका लागि एउटा दुःखद् खबर छ । उनले आगामी महिना कतारमा सुरु हुन गइरहेको विश्वकप फुटबल २०२२ गुमाउने भएका छन् ।

पोग्बाले अन्तिम टिममा स्थान बनाउने आशा गरिएको थियो । तर पछिल्लो चोटसँगै त्यो सम्भावनाको अन्त्य भएको छ ।

खेलका क्रममा पोग्बाको घुँडामा चोट लागेको थियो । यही कारण उनले कतार विश्वकप गुमाउने भएका हुन् ।

समाचारहरूमा जनाइएअनुसार, घुँडाको चोट छिटो निको पार्न शल्यक्रिया गरिएको छ । तर त्यो मैदानमा फर्कन सक्ने गरी निको हुन अझै केही महिना लाग्ने देखिएको छ ।

पोग्बाका एजेन्ट राफायल पिमेन्टाले पोग्बा फ्रेन्च टोली बाहिर रहने स्पष्ट जनाएका छन् । उनका अनुसार, पोग्बालाई निको हुन केही समय लाग्ने देखिएको छ ।

उनले भनेका छन्, ‘पोग्बा अहिले युभेन्टस र फ्रान्सको राष्ट्रिय टोलीमा सहभागी हुने सम्भावना छैन ।’ यद्यपि, उनले पोग्बा छिट्टै मैदनमा फर्कन आतुर रहेको बताए । तर अवस्था त्यस्तो नरहेकाले धैर्य गर्नुको विकल्प छैन ।