NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १७ गते

के फरक छ कांग्रेसको २०७४ र २०७९ को घोषणापत्रमा ?

काठमाडौं । कांग्रेसले वाम गठबन्धनविरुद्ध २०७४ सालको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन एक्लै लडेको थियो । सो निर्वाचनमा कांग्रेसले घोषणापत्रमा ‘कांग्रेसको नेतृत्वमा शान्ति र संविधान, कांग्रेसकै नेतृत्वमा समृद्धिको अभियान’ नारा अगाडि सारेको थियो ।

कांग्रेसले पाँच वर्ष अघिको घोषणापत्रमा प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनका लागि आर्थिक समृद्धि, पूर्वाधार विस्तार, सामाजिक प्रगति, वन तथा विपत् व्यवस्थापन, सुशासन शीर्षकमा कांग्रेसले महत्वकांक्षी योजना अघि सारेको थियो ।

त्यस्ता कार्यक्रममा अर्थतन्त्र एक सय अर्ब पुर्याउँदै लगानी बढाउने र रोजगारी सिर्जना गरी लाखौंलाई रोजगार बनाउने भन्ने थियो ।
पाँच वर्षभित्र पाँच हजार मेगावाट विद्युत उत्पादन गर्ने, वार्षिक एक खर्बदेखि पाँच खर्बसम्मको विदेशी लगानी भित्र्याउँने जस्ता महत्वकांक्षी योजना घोषणापत्रमा समेटेको थियो ।

गरिबीको रेखामुनी रहेका जनताको हिस्सा ३ प्रतिशतमा झार्ने जस्ता महत्वकांक्षी योजना कांग्रेसले अघि सारेको थियो ।

यसपटक पनि उही स्थिरता, भौतिक, विकास, आर्थिक समुन्नति, रोजगारी, भत्ता जस्ता विषय कांग्रेसको प्राथमिकतामा परेका छन् ।
चुनावमा कांग्रेसले ‘संविधान रक्षा, स्थिरता र समुन्नतिको आधार, नेपाली कांग्रेसकै नेतृत्वमा अबको सरकार’ भन्ने नारा अगाडि सारेर संकल्प सार्वजनिक गरेको छ ।

तर यसपटकका कांग्रेसका कार्यक्रममा धेरैभन्दा धेरै पपुलर कार्यक्रम समेटिएको छ । बजेट भाषणकै शैलीमा कांग्रेसले यसपटकको घोषणापत्र सार्वजनिक गरेको हो ।

यसपटक कांग्रेसले शिक्षा, स्वास्थ्य, पूर्वाधार, उर्जा, रोजगारी, पर्यटनसहितका विषयलाई कांग्रेसले घोषणापत्रमा प्राथमिकतामा राखेको छ । संघीयतालाई व्यवस्थित बनाउने र यसको संस्थागत विकासको लागि पनि कांग्रेसले विभिन्न अवधारणा अगाडि सारेको छ ।

वृद्धभत्ता ६५ वर्षमै

यस अघि ७० वर्षमा वृद्धभत्ता दिइदै आएकोमा यसपटकको बजेटदेखि ६८ वर्षमा वृद्धभत्ता दिन थालिएको छ । तर कांग्रेसले चुनावी घोषणापत्रमा वृद्धभत्ताको उमेर ६५ वर्षलाई तोकेको छ ।

प्रतिनिधिसभा विघटन नगर्ने घोषणा

यस अघि दुई तिहाईको सत्ता हुँदा नै प्रतिनिधिसभा विघटन भोगेको भन्दै कांग्रेसले प्रतिनिधिसभा विघटन नगर्ने दाबी गर्दै घोषणापत्रमा नै यो कुरालाई उल्लेख गरेको छ । दुई तिहाईका प्रधानमन्त्री केपी ओलीले दुईपटकसम्म प्रतिनिधिसभा विघटन गरेपछि कांग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा अहिलेको सरकार गठन भएको थियो । यस अघि देउवाले नै संसद विघटन गरेको इतिहास छ ।

५ वर्षमा विद्युतीय गाडी ५० प्रतिशत

नेपालमा अत्याधिक रुपमा पेट्रोल र डिजेलका सवारीसाधन चल्ने गरेकोमा कांग्रेसले निक्कै महत्वकांक्षा विद्युतीय गाडीको विषय उठाएको छ । ५ वर्षमा विद्युतीय गाडी ५० प्रतिशत पुर्याउने उसको घोषणा छ ।

विपन्नलाई १० हजार किरिया खर्च

विपन्न परिवारलाई १० हजार किरिया खर्च दिने घोषणा कांग्रेसले गरेको छ । स्थानीय सरकारमार्फत् यस्तो खर्च उपलब्ध गराउने घोषणा कांग्रेसको छ । कोखदेखि शोकसम्मको कार्यक्रममा यो विषय उल्लेख छ ।

सुत्केरी भत्ता ५ हजार पुर्याउने

कांग्रेसले सुत्केरी भत्ता पाँच हजार पुर्याउने घोषणा पनि गरेको छ । गर्भावस्थामा निशुल्क परीक्षण र परामर्श दिने भन्दै कांग्रेसले सुत्केरी भत्ता ५ हजार पुर्याउने घोषणा गरेको छ । गर्भवतीका लागि निशुल्क पोषण प्याकेज ल्याउने घोषणा पनि कांग्रेसको छ ।

५० युनिटसम्मको बिजुली निशुल्क

कांग्रेसले यस अघिको सरकारको घोषित कार्यक्रमलाई माथ दिंदै ५० युनिटसम्म निशुल्क बिजुली दिने घोषणा गरेको छ ।

फलफूलमा आत्मनिर्भर

अत्याधिक रुपमा फलफुल आयात हुँदै आएकोमा कांग्रेसले फलफुलमा आत्मनिर्भर हुने गरी सरकारले नीति तथा कार्यक्रम ल्याउने महत्वकांक्षी कार्यक्रम पनि अघि सारेको छ ।

७३ वर्ष माथिका वृद्ध वृद्धा र तीन वर्ष मुनिका बालबालिकाको निशुल्क उपचार

सामान्य उपचारको लागि पनि निक्कै असुविधा र हैरानी भोग्नु परिरहेका नागरिकलाई कांग्रेसले निशुल्क उपचारको आश्वासन बाँडेको छ । तीन मुनिका र ७० वर्षमाथिका नागरिकलाई निशुल्क उपचार गर्ने घोषणा कांग्रेसको छ । सबै नागरिकको स्वास्थ्य बिमा घोषणा पनि कांग्रेसले गरेको छ । तर यसलाई निशुल्क भनिएको छैन ।
विश्वविद्यालयमा प्रधानमन्त्री कुलपति र शिक्षामन्त्री सहकुलपति हुने व्यवस्था हटाउने घोषणा

यस अघि विश्वविद्यालयका कुलपति प्रधानमन्त्री र शिक्षामन्त्री सहकुलपति हुने व्यवस्था हटाउने प्रतिवद्धता कांग्रेसले गरेको छ ।

५ वर्षमा साढे १२ लाख नयाँ रोजगारी

वर्षको १० हजार पनि नयाँ रोजगारी नभइरहेका बेला कांग्रेसले पाँच वर्षमा १२ लाख नयाँ रोजगारी सिर्जना दाबी गरेको छ । विपन्नको लागि एक सय दिनको रोजगारीको कार्यक्रम पनि उसले अघि सारेको छ ।

५ वर्षभित्र आधा घण्टामा पक्की सडकमा पुग्ने जनसंख्या ७५ प्रतिशत पुर्याउने

देशमा पक्की र सुविधासम्पन्न सडक पूर्वाधारको संख्या असाध्यै कम छ । तर कांग्रेसलको ५ वर्षमा आधा घण्टामा पक्की सडकको पहुँच हुने जनसंख्या ७५ प्रतिशत पुर्याउने प्रतिवद्धता जनाएको छ ।

सार्वजनिक पदमा बसेकाले सम्पत्ति विवरण देखाउनुपर्ने कानुन ल्याउने

आफ्नै सरकारका मन्त्री एवं सांसदले सम्पत्ति विवरण बुझाउन आनाकानी गरिरहेका बेला कांग्रेसले भने सार्वजनिक पदमा बसेकाले सम्पत्ति विवरण देखाउनुपर्ने गरी कानुन ल्याउने प्रतिद्धता जनाएको छ ।

५ वर्षमा ८० प्रतिशत विद्यालयमा इन्टरनेट

इन्टरनेटमा थोरैको मात्र पहुँच भइरहँदा कांग्रेसले ५ वर्षमा ८० प्रतिशत विद्यालयमा इन्टरनेटको पहुँच पुर्याउने घोषणा गरेको छ ।

२० लाख पर्यटक भित्र्याउने

कोभिडको महामारीपछि नेपालमा मात्रै होइन विश्वमा नै पर्यटनमा नकारात्मक असर परिरहेका बेला कांग्रेसले २० लाख पर्यटक पुर्याउने घोषणा गरेको छ । दैनिक पर्यटक खर्च एक सय डलर पुर्याउने घोषणा पनि उसको छ ।

यस्ताे थियाे कांग्रेसको २०७४ घोषणापत्र

यस्ताे छ कांग्रेसकाे २०७९ को घाेषणापत्र