NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १६ गते

ललितपुर १ मा उदयलाई चुनाव जित्न सहज र सिलवाललाई यसकारण हुँदैछ कठिन

काठमाडौं । ललितपुर १ मा चुनावी प्रतिस्पर्धामा सत्ता गठबन्धनतर्फ नेपाली कांग्रेसका उम्मेदवार उदयशमशेर राणा बलिया देखिएका छन् । ४ मंसिरमा हुने प्रतिनिनिधिभासभा निर्वाचनमा राणा एमालेका प्रतिस्पर्धी नवराज सिलवालभन्दा निक्कै बलिया देखिएका हुन् ।

सत्ता गठबन्धनमा आवद्ध दलको मत, स्थानीय तहबाट १० हजारभन्दा बढी मतको अग्रता, एमालेको विभाजन र प्रतिस्पर्धी एमाले उम्मेदवार सिलवालको विवादित छविका कारण राणा बलियो देखिएका हुन् ।

२०७४ सालमा एमाले र माओवादी मिल्दा चुनाव अंकगणितमा कांग्रेस कमजोर देखिएको थियो । २०६४ को चुनाव जितेको माओवादीलेसमेत साथ दिने, प्रदेशसभा पनि उसका उम्मेदवार हुने भएपछि यसपटक राणाले सिलवालविरुद्ध बदला लिने बताइन्छ । यसपटक कांग्रेस, माओवादी, नेकपा एस, लोसपा र राष्ट्रिय जनमोर्चा एक ठाउँमा उभिएर एमालेविरुद्ध उत्रिंदैछन् । यसैले पनि एमालेका सिलवाललाई चुनावी प्रतिस्पर्धा कठिन हुने बताइन्छ ।

२०७० सालमा यही निर्वाचन क्षेत्रबाट राणाले चुनाव जितेका थिए । तर एमाले र माओवादी मिलेर चुनाव लड्दा २०७४ सालमा पूर्व डिआइजी सिलवालले राणालाई ६२२२ मतान्तरले पराजित गर्न पुगे । डिआइजी हुँदादेखि नै सिलवाल विवादरहित छैनन् ।
राणाले २०७२९ मत ल्याउँदा सिलवालको २६९५१ मत आएको थियो । तर अघिल्लोपटक एमालेलाई साथ दिएको माओवादी अहिले

कांग्रेसको कित्तामा छ । यो क्षेत्र २०६४ सालमा माओवादीका वर्षमान पुनले जितेका थिए । तर अहिले पनि ललितपुर १ मा माओवादीको प्रभाव र संगठन रहेको छ । कांग्रेसको पुरानो पकड र बलियो प्रभाव टोलटोलसम्मै रहेको छ । यसपटक कांग्रेस एकढिक्का हुनु र माओवादीसहितका दलको साथ हुँदा राणाले सहजै चुनाव जित्ने बताइन्छ ।

के छ स्थानीय तहको मत परिणाम ?

ललितपुर १ का वडाध्यक्षतर्फ ३० वैशाखमा भएको स्थानीय तहको निर्वाचनमा सत्ता गठबन्धन मतमा अगाडि देखिएको छ । यो क्षेत्रभित्रका सबै वडाध्यक्षले पाएको मतमा गठबन्धन अगाडि देखिएको हो । वडाध्यक्षतर्फ कांग्रेसले २३८५४ पाएको छ । जुन एमाले एक्लैको भन्दा ५ हजार बढी मत छ । अर्थात् एमालेसँग भिड्न कांग्रेस एक्लै सक्षम देखिएको छ । यस्तोमा माओवादी, नेकपा एस, राष्ट्रिय जनमोर्चा पनि मिसिंदा सिलवाललाई कठिन र राणालाई निक्कै सहज हुने बताइन्छ । वडाध्यक्षतर्फ माओवादीले ६१३३ र राप्रपाले १७५७ मत पाएका छन् ।

गठबन्धनको मत २९९८७ छ । एमालेको १८९९३ छ । जुन गठबन्धनको भन्दा १०९९४ अर्थात झण्डै ११ हजार मतले पछाडि हो । यसमा राप्रपाको झण्डै दुई हजार मत एमालेतिर खसे पनि सत्ता गठबन्धन अझै ९ हजार मतले अगाडि देखिन्छ । स्थानीय तहको ६ महिनामा नै हुन लागेको निर्वाचनमा १० हजार हाराहारी मत बढाएर चुनाव जित्न एमाले उम्मेदवारलाई कठिन हुन सक्छ । किनकी पार्टी विभाजनको असर यसपटक एमालेलाई सबैभन्दा भारी पर्न सक्छ । लगातार दुईपटक नै सिलवाललाई नै एमालेले उम्मेदवार बनाउँदा लामो समय जिल्लामा रहेर राजनीति गर्ने एमालेका नेताहरू नै यसपटक धेरै असन्तुष्ट रहेका छन् । अरु नेतालाई टिक दिनुपर्ने दबाबका बीच ओलीले सिलवाललाई नै टिकट दिएका थिए ।

यसैबीच पार्टी विभाजनका बेला उम्मेदवार चयनमा यसरी असन्तुष्टि देखिनुले एमालेलाई धक्का लाग्न सक्ने नेता सुवास नेम्वाङ नै बताएका छन् । ललितपुरको मात्रै भन्दा एमालेको समग्र चुनौतीबारे नेम्वाङको यो भनाईको सन्देश गहिरो देखिन्छ ।

‘सांगठनिक र जनाधारको हिसाबले एमाले कमजोर देखिएको छैन । स्थानीय तहको निर्वाचन परिणाम हेर्दा पार्टीभित्रको अन्तर्घात डरलाग्दो देखिन्छ । पहिला कांग्रेसभित्र यो रोग देखिएको थियो’, नेम्वाङ भन्छन् ‘त्यो रोग एमालेमा सल्किएको छ । अन्तर्घात नभएमा अन्य दलको तुलनामा एमालेको स्थिति बलियो छ । एकातिर गठबन्धन र अर्कोतिर पार्टीभित्रै अन्तर्घातका कारण एमालेलाई केही क्षति पुग्न सक्छ । त्यसतर्फ हामी निकै चिन्तित छौं ।’

स्थानीय तहको निर्वाचनमाकांग्रेस र माओवादीले सबै वडामा आफ्ना उम्मेदवार खडा गरेका थिएनन । तर एमालेले सबै वडामा उम्मेदवार उठाएको थियो । यसैले एमालेले पाउने वास्तविक मत यसै हाराहारी भए कांग्रेसलाई यो क्षेत्रबाट जित्न सहज देखिन्छ ।

किन उत्साही छन् राणा ?

स्थानीय तहको निर्वाचनमा गोदावरी नगरपालिका, वागमती, र महांकाल गाउँपालिका जितेपछि कांग्रेस यसपटक उत्साही छ ।
यतिमात्रै होइन यो क्षेत्रकै जितहारमा भूमिका खेल्ने र निर्णायक नगरपालिका नै गोदावरी हो । यसैले यहाँको भोटले नै राणालाई चुनाव जित्न निक्कै सहज हुने बताइन्छ । गोदावरी, चापागाउँ जस्ता धेरै मतदाता रहेकोले नगरपालिका भएकोले गोदावरी यसपटक पनि निर्णायक हुने देखिएको छ । यहाँ लगातार कांग्रेसले स्थानीय तहको नेतृत्व हत्याएपछि राणा उत्साही बनेका छन् ।

राणा र सिलवालबीचको फरक

बाबुकै पालादेखि ललितपुरमा राणाको राम्रो प्रभाव रहेको छ । यसैले कोर सहरी एरिया, काँठ क्षेत्र र असाध्यै दुर्गम दक्षिण ललितपुरको भूभाग यो क्षेत्रमा पर्छन् । आफ्नो निर्वाचन क्षेत्रमा घुम्ने, स्थानीयको समस्यासँग साक्षात्कार गरी समाधानमा पनि राणा अगाडि छन् ।

भूकम्पदेखि कोभिडसम्म आइपुग्दा राणाले पार्टीगत र व्यक्तिगत तहमा जिल्लामा धेरै नै सकारात्मक काम गरेको भन्दै विपक्षीले समेत तारिफ गर्ने गरेका छन् । तर सांसद हुँदा पनि कोभिडकालमा कुनै प्रभावकारी काम गर्न नसकेको भन्दै सिलवाल पार्टीभित्रै आलोचित छन् ।
२०७४ सालमा राणाले सिलवालसँग चुनाव हारे तर भूगोलमा सांसद राणा जस्तो देखिन्थे । किनकी राणाले अप्ठ्यारो भूगोलका समस्या र कार्यक्रमलाई कहिल्यै छुटाएका छैनन् । सिलवाल भने यसको ठीक उल्टो छन् । सहरी एरियामा बाहेक अन्य स्थानका कार्यक्रमलाई त्यत्ति नरुचाउनेमा पर्छन् । यसैले यसको फाइदा एकपटक राणाले उठाउँछन् भन्ने देखिन्छ ।

भूगोलमा घुम्न मन नपराउने, कार्यकर्ता पंक्तिमा घुलमिल नहुने जस्ता सिलवालका व्यक्तिगत समस्याको पनि पार्टीभित्रै आलोचना हुने गर्छ । यद्यपी एमालेको बलियो संगठनको बल भने सिलवाललाई छ ।

राणालाई गठबन्धनका उम्मेदवारको फाइदा

राणासँगै गठबन्धनबाट प्रदेशसभा १ तर्फ माओवादीका हरि दाहाल र प्रदेश २ तर्फ कांग्रेसबाट मीनकृष्ण महर्जन चुनावी प्रतिस्पर्धामा छन् । माओवादीकोसमेत बलियो प्रभाव रहेको क्षेत्रमा प्रदेशसभाका उम्मेदवारको साथ र सहयोगले राणालाई जित्न थप बल पुग्नेछ । सहरी एरियामा मीनकृष्णको प्रभाव र पहुँच पनि उत्तिकै राम्रो छ । यी दुई सन्तुलनले पनि राणालाई चुनाव जित्न यसपटक सहजता हुने बताइन्छ ।