NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १६ गते

चुनाव प्रचारमा यी नेताले प्रयोग गर्न पाउनेछन् हेलिकप्टर

काठमाडौं । निर्वाचन आयोगले आसन्न प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनको प्रचारप्रसार गर्न दलहरूलाई आजदेखि खुला गरेको छ ।

बुधबारसम्म घरदैलोमा सीमित राजनीतिक दल र तिनका उम्मेदवारले आगामी मंसिर १ गतेसम्म आमसभा, जुलुस, कोणसभादेखि सञ्चारमाध्यममा प्रचारप्रसार गर्न पाउनेछन् ।

आयोगले आचारसंहिता जारी गर्दै निर्वाचन प्रचारका क्रममा गर्न पाइने र नपाइने कामहरू किटान गरेको छ । जसअनुसार, सबै उम्मेदवारलाई हेलिकप्टर प्रयोग गर्न रोक लगाइएको छ । तर दलको प्रमुख प्रचारकले आयोगको खर्च सिलिङको सीमाभित्र रहेर हेलिकप्टर प्रयोग गर्न भने पाउनेछन् । त्यसका लागि आयोगसँग अनुमति भने लिनुपर्नेछ ।

निर्वाचन आयोगका अनुसार, प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीले चुनाव प्रचारमा हेलिकप्टर प्रयोगको अनुमति आयोगसँग लिइसकेका छन् ।

माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललगायत अन्य दलका मुख्य प्रचारकले पनि प्रक्रिया पुर्याएर चुनाव प्रचारमा हेलिकप्टर प्रयोग गर्न सक्छन् । तर उनीहरूले भने अहिलेसम्म आयोगसँग अनुमति लिइसकेका छैनन् ।

चुनाव प्रचारका लागि दलका शीर्ष नेता अहिले देश दौडाहमा छन् । प्रधानमन्त्री शेरबहादुर देउवा गृहजिल्ला डडेलधुरा छन् भने एमाले अध्यक्ष केपी शर्मा ओली गृह जिल्ला झापाको चुनावी अभियानमा सरिक भएर चुनावी घोषणापत्र सार्वजनिक गर्न राजधानी फर्किएका छन् । माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल पनि दल र गठबन्धनको पक्षमा माहोल सिर्जना गर्न दौडाहमा छन् ।