NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १६ गते

प्रधानमन्त्री देउवाका प्रतिस्पर्धी सागर ढकाल नै स्वागत गर्न लाइनमा उभिएपछि…

काठमाडौं । प्रधानमन्त्री तथा कांग्रेसका सभापति शेरबहादुर देउवालाई उनकै प्रतिस्पर्धी सागर ढकालले घन्टौं लाइनमा उभिएर स्वागत गरेका छन् ।

निर्वाचन आयोगको स्वीकृती लिएर बिहीबार आफ्नो गृहजिल्ला डडेलधुरा पुगेका प्रधानमन्त्री देउवालाई स्वागत गर्न ढकाल लाइनमा उभिएका छन् । पहँलो कुर्ता–सुरुवाल, शिरमा ढाका टोपी र हातमा माला लिएर उनी हँसिलो अनुहारमा अन्य व्यक्तिसँगै लाइनमा उभिएका छन् ।

गठबन्धनले बिहीबार सदरमुकाममा आयोजना गरेको चुनावी सभामा भाग लिन प्रधानमन्त्री देउवा त्यहाँ पुगेका हुन् । उनी आफ्नै निर्वाचन क्षेत्रमा केन्द्रित हुन चार दिन उतै बस्ने प्रधानमन्त्रीका स्वकीय सचिव भानु देउवाले बताएका छन् ।

आफ्ना मुख्य प्रतिस्पर्धी ठानेका देउवालाई स्वागत गर्न ढकाल आफै लाइनमा बसेर चुनावी प्रतिस्पर्धालाई मित्रवत बनाउन खोजेको देखिन्छ । उनी त्यही पात्र हुन्, जससले २०७४ मा प्रधानमन्त्री देउवालाई नेपालले अक्सर्फोड पढेको प्रधानमन्त्री कहिले पाउँछ भनेर प्रश्न गरेका थिए । जवाफमा त्यतिबेला देउवाबाट उनले निकै हप्कीदप्की खानुपरेको थियो । बिबिसी सझा सवालको त्यहि कार्यक्रमबाट ढकाल चर्चामा आएका थिए ।

आगामी मंसिर ४ मा हुने निर्वाचनबाट देउवालाई राजनीतिक विश्राम गराउने भन्दै उनले देउवा विरुद्ध उम्मेदवारी दिएका छन् । गुल्मीमा जन्मेका उनले अक्सर्फोड विश्वाविद्यालयबाट इन्जिनियरिङ अध्ययन गरेर आएका हुन् । अबको प्रधानमन्त्री ४० वर्षमुनिको हुनु पर्ने भन्दै उनले अभियान नै चलाएका छन् ।