दक्षिण अफ्रिकाको दुर्भाग्यपूर्ण पराजयपछि पाकिस्तान र बंगलादेशलाई चिठ्ठा

काठमाडौं । सेमिफाइनल पुग्ने सहज अवस्था हुँदाहुँदै पनि दक्षिण अफ्रिका टी २० विश्वकपबाट बाहिरिएको छ । चार खेलबाट ५ अंक पहिले नै भएको दक्षिण अफ्रिकालाई अन्तिम अर्थात पाँचौ खेलमा प्रतिद्वन्द्वी पनि कमजोर थियो । अर्थात विश्व क्रिकेटमा खारिएको दक्षिण अफ्रिकाविरुद्ध नेदरल्याण्डस उम्दा टोली थिएन ।
तर यही नेदरल्याण्डससँग सुपर १२ को अन्तिम खेलमा दक्षिण अफ्रिका १३ रनले स्तब्ध हुन पुगेको हो । पहिले ब्याटिङ गर्दै नेदरल्याण्डसले १५८ रन बनाएको थियो । तर १५९ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिका २० ओभरमा ८ विकेट गुमाएर १४५ रनमात्रै बनाउन सकेको हो ।
नेदरल्याण्डविरुद्ध दक्षिण अफ्रिकाका बलर पनि हाबी हुन सकेनन् । उसले जम्मा चार विकेट गुमाएर १५८ रन बनाएको थियो । दक्षिण अफ्रिकाका अनुभवी बलर नै महंगा सावित हुँदा अनुभवी टोलीविरुद्ध नेदरल्याण्डसले सहज जित हात पारेको हो ।
१५९ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाका लागि रिले रुसोको २५ रन नै उच्च रहन पुग्यो । दक्षिण अफ्रिकालाई स्तब्ध पार्न नेदरल्याण्डसका बलरले कसिलो बलिङ गरे ।
यो नतिजाले अन्तिम खेलमा जितेर सेमिफाइनल पुग्न पाकिस्तान र बंगलादेशलाई चिठ्ठा नै परेको छ । यी दुईबीच अहिले खेल जारी छ । विजयी हुने टिम भारतपछि दोस्रो हुँदै सेमिफाइनलमा प्रवेश गर्नेछ ।
बंगलादेशले टस जितेर पहिले ब्याटिङ गरिरहेको छ । दक्षिण अफ्रिकाले जित्दा सेमिफाइनलमा पुग्न अन्तिम खेलमा भारत पराजित हुनुपर्ने थियो । तर दक्षिण अफ्रिका पराजित भएपछि एक खेल अगावै भारत सेमिफाइनल पुग्यो ।
दक्षिण अफ्रिका जितेर पाकिस्तान राम्रो रनरेटमा जित्ने र भारत जिम्बाब्वेसँग पराजित भएको भए भारतको लागि दुर्भाग्य हुने थियो । तर तुलनात्मक रुपमा कमजोर टोली नेदरल्याण्डसँग पराजित भएपछि समूह २ को समीकरण नै बदलिएको हो ।
प्रतिक्रिया