NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ २ गते

पूरा भयो टी २० विश्वकपको सेमिफाइनल समीकरण, को कुन टिमसँग भिड्दैछन् ?

काठमाडौं । अष्ट्रेलियामा जारी टी २० विश्वकप क्रिकेटको सेमिफाइनलमा पुग्ने चार टोलीको टुंगो लागेको छ । सुपर १२ मा समूह १ बाट न्युजिल्याण्ड र इंग्ल्याण्ड सेमिफाइनलमा पुगेका छन् ।

आइतबार दक्षिण अफ्रिका नेदरल्याण्डस्सँग पराजित भएपछि एक खेल अगावै भारत पनि समूह २ बाट सेमिफाइनलमा पुग्यो । बदलिएको समीकरणमा बंगलादेशलाई पराजित गरेपछि पाकिस्तानले पनि सेमिफाइनलमा स्थान पक्का गरेको छ । यता सात-सात अंक भए पनि रनरेटमा आयोजक अष्ट्रेलियालाई पछि पार्दै इंग्ल्याण्ड सेमिफाइनलमा पुग्न सफल भएको हो ।

तुलनात्मक रूपमा कमजोर मानिएको नेदरल्याण्डससँग दक्षिण अफ्रिका पराजित भएपछि पाकिस्तान र बंगलादेशमध्ये एउटालाई चिठ्ठा पर्ने निश्चित थियो । तर यो चिठ्ठा अन्ततः पाकिस्तानले पार्यो र सेमिफाइनल पुग्यो । यस क्रममा पाकिस्तानले बंगलादेशलाई ११ बल बाँकी हुँदै ५ विकेटले पराजित गरेको हो ।

अब चार टिमको टुंगो लागे पनि भारत र जिम्बाब्वेको विजेताले मात्रै सेमिफाइनलमा भिड्ने टोलीको टुंगो लाग्नेछ । भारतले जिम्बाब्वेलाई पराजित गरे न्युजिल्याण्ड र पाकिस्तान फाइनल प्रवेशका लागि भिड्नेछन् । यस्तोमा भारत र इंग्ल्याण्डले फाइनल प्रवेशका लागि सेमिफाइनल खेल्नेछन् ।

किनकी भारत जिम्बाब्वेसँग पराजित भए सुपर १२ काे  समूह २ मा पाकिस्तानपछि उपविजेता बन्नेछ । यसैले जित्दा मात्रै भारतको प्रतिस्पर्धा इंग्ल्याण्डसँग र हार्दा न्युजिल्याण्डसँग हुने भएको हो ।

तर भारतलाई जिम्बाब्वेले पराजित गरे पाकिस्तानले इंग्ल्याण्ड र भारतले न्युजिल्याण्डसँग प्रतिस्पर्धा गर्नुपर्नेछ । भारतले जिम्बाब्वेलाई हराउने सम्भावना धेरै भएकोले सेमिफाइनलमा न्युजिल्याण्ड र पाकिस्तान तथा भारत र इंग्ल्याण्डको भिडन्त हुने देखिएको छ ।

सेमिफाइनलका म्याच नोभेम्वर ९ र १० मा हुनेछन् ।

भारत र पाकिस्तानले सेमिफाइनल जिते यी दुईबीच उपाधिको लागि भिडन्त हुनेछ । भारत र पाकिस्तान पराजित भए सुपर १२ का समूह १ कै दुई टोलीले उपाधिका लागि खेल्नेछन् ।