NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १७ गते

नवलपरासीको मुहार फेर्नु मेरो दायित्व : विनोद चौधरी

काठमाडौं । नवलपरासी सुस्ता बर्दघाट पश्चिम १ का कांग्रेस उम्मेदवार विनोद चौधरीले नवलपरासीको मुहार फेर्नु नै आफ्नो दायित्व भएको बताएका छन् । बर्दघाट १६ को सूर्य नगरस्थित क्षेत्री समाजको भवनमा आयोजित उम्मेदवार भेटघाट एवं अन्तरक्रिया कार्यक्रममा चौधरीले जिल्लाको मुहार फेर्नका लागि आफू निर्वाचनमा होमिएको बताएका हुन् ।

‘परिवर्तनको लागि मेरो प्रयत्न । समस्या त सबैले देख्छन् , औंला ठडाउन पनि सजिलो छ , खोट लगाउन पनि सजिलो छ । तर अब हरेक क्षेत्रका समस्याको हरसम्भव समाधान खोजेर नवलपरासीको मुहार फेर्ने दायित्व मेरो हो’ चौधरीले भनेका छन्, ‘चिन्ता होइन चिन्तन गरेर यो क्षेत्रलाई विकासको बाटोमा डोर्‍याउने छु । समुन्नत नवलपरासीको लागि म अहोरात्र खटिने वाचा गर्द्छु ।’

पार्टीले समानुपातिकमा बस्न आग्रह गरे पनि नेपालका एकमात्र डलर अर्बपति चौधरी आफैंले प्रत्यक्ष निर्वाचनमा लड्ने घोषणा गरेका थिए । समानुपातिकबाट सांसद पद सुरक्षित हुने भए पनि उनले जनतासँग जोडिने मानसिकताले नै प्रत्यक्षमा उठ्ने घोषणा गरेका हुन् ।

चौधरीले विभिन्न जातिको भाषा, संस्कृति, कला, भेषभुषाको संरक्षण र संम्वद्र्धनमा आफू प्रयत्नशील रहने बताउँदै आएका छन् ।
चौधरीले आफूले थारु संस्कृतिको संरक्षणमा विशेष चासो दिएर काम गर्ने पनि बताउँदै आएका छन् ।

चौधरीले शिक्षा, स्वास्थ्य, रोजगारी र भौतिक पूर्वाधारको विकासलाई यसपटक मुख्य एजेण्डा बनाएर चुनावमा होमिएका छन् ।
चौधरीविरुद्ध जनता प्रगतिशील पार्टी नेपालका हृदयेश त्रिपाठी प्रतिस्पर्धामा छन् । उनलाई एमालेले पनि समर्थन गरेको छ । राप्रपाका भोजराज ढकाल चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् ।

चौधरी प्रत्येक टोल र बस्तीमा घुम्दै चुनावी प्रचारमा व्यस्त छन् । उनले सबै वडा र चोकमा पुगेर नवलपरासीको विकास र समृद्धिको लागि काम गर्ने प्रष्ट्याउँदै आएका छन् ।  जातीय विविधता भएकोले चौधरी सबै समुदायको सम्वेदनशीलता र समस्या बुझ्दै चुनावी अभियानमा जुटेका छन् ।