NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २१ गते

यस्ता छन् ललितपुर १ का कांग्रेस उम्मेदवार राणाका चुनावी प्रतिवद्धता ?

ललितपुर । लोकतान्त्रिक वाम गठबन्धनबाट ललितपुर क्षेत्र नम्बर १ मा उम्मेदवार बनेका उदयशमशेर राणाले पूर्वाधारको विकास, शिक्षा र स्वास्थ्यलाई मुख्य प्राथमिकता राख्दै चुनावी प्रतिवद्धतापत्र सार्वजनिक गरेका छन् ।

संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधानको रक्षाका लागि एकतावद्ध अभियान, स्थिर सरकार र आर्थिक समृद्धिका लागि लोकतान्त्रिक वाम गठवन्धनलाई मतदान गर्न आग्रह गरिएको छ । ४ पृष्ठमा गठबन्धनका उम्मेदवारले समावेशी विकास, सडक तथा पूर्वाधार विकास, शिक्षा, संचार तथा सूचना, स्वास्थ्य तथा स्वस्थ मानव जीवन, खानेपानी सरसफाई तथा सिंचाई, धार्मिक तथा पर्यटकीय विकास, कला संस्कृति र खेलकुद, आवास व्यवस्थापन र कृषि पशुपालनमार्फत जीविकोपार्जनका लागि आफ्ना एजेण्डाहरु मतदाता समक्ष राखेका छन् ।

ललितपुर १ मा सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका युवा नेता केन्द्रीय सदस्य उदय शम्शेर राणा संघीय संसदको उम्मेदवार रहेका छन् भने प्रदेश (क) मा माओवादी केन्द्रका हरि दाहाल तथा प्रदेश (ख) मा कांग्रेसकै मीनकृष्ण महर्जन रहेका छन् ।

संघीय संसदका उम्मेदवार राणाले नेपालको संविधान २०७२ र संविधानले व्यवस्था गरेको संघीय लोकतान्त्रिक गणतन्त्र माथि नै तत्कालिन ओली सरकारवाट प्रहार भएका कारण संविधान र संवैधानिक व्यवस्था वचाउन तथा प्रतिगमनलाई परास्त गर्न २०७८ असारमा पाँच दलीय गठबन्धन निर्माण भएको र अहिलको चुनाव संविधान रक्षाका लागि हुन लागेकाले सबैले गठबन्धनका उम्मेदवारलाई मतदान गर्नुपर्नेमा जोड दिएका छन् ।

शिक्षा, स्वास्थ्य, रोजगारी, आय आर्जन नै समृद्ध जीवनका आधार रहेकाले ती कुराहरुलाई पूरा गर्नका लागि लोकतान्त्रिक वामगठबन्धनले क्षेत्र नम्बर १ का लागि साझा प्रतिवद्धता सार्वजनिक गरेको राणाले बताए ।

केही विषयहरूमा फरक विचार र दृष्टिकोणहरूका कारण नै अलग अलग पार्टीहरूको अस्तित्व रहेको बताउँदै आ–आफ्नो वैचारिक पहिचान सहित वृहत् राष्ट्रिय स्वार्थ र राष्ट्रिय आवश्यकताहरूलाई मध्यनजर गरी साझा दृष्टिकोण आएको र त्यसैको आधारमा चुनावी गठबन्धन बनेको कुरा आम मतदाताले बुझ्दै गएको पनि उनको भनाई छ ।

स्थानीय स्तरमा विगतको समीक्षा

हालका गठवन्धन दल नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले ललितपुर क्षेत्र नं १ मा जम्मा १÷१ पटक विजयी हुँदा के कसरी काम भएगरेका थिए, विकासमा कस्ता कस्ता प्रयासहरू भएका थिए, रातो कितावमा कुनकुन योजना कसरी समावेश गरिएको थियो, वहुवर्षे योजनाको शुरुवात कसरी गरियो, कान्तिलोकपथ, मध्यमार्गी सडक, ललित घुम्ती जस्ता ठूला योजना कसरी सुचारु गरियो ? त्यो आम मतदातालाई थाहा भएकै कारण यहाँ पुनरावृत्ति गरिरहनु परेन ।

तर विडम्वना यस क्षेत्रवाट ४ पटक विजय प्राप्त विपक्षी दल एमालेले क्षेत्रको विकासमा कुनै ठोस पहल त के सिन्को पनि नभाँचेको यथार्थता मतदाता माझ छिपेको छैन । पछिल्लो हावादारी ओली सरकार र यस क्षेत्रका सांसदको कार्यकाल त चटकी र नाटकी ढंगवाटै वितेको स्पष्ट देखिन्छ । त्यस अवधिमा नयाँ योजनाको त कुरा छोडौं हामीले शुरु गरेका योजनालाई निरन्तरता समेत दिइएन ।

२०७८ असारमा गठवन्धनको सरकार वनेपछि मात्र हामीले हाम्रा स्थानीय अधुरा कामहरूलाई सम्पन्न गर्न निरन्तर प्रयास गरिरह्यौ । फलस्वरुप यि थन्किएका योजनालाई विउँझाएका छौं, जसलाई हामी हाम्रो अवको ५ वर्षे कार्यकालभित्र सम्पन्न गर्नेछौं । २०७२ को महाभूकम्प, कोभिड महामारी जस्ता संकटमा उद्धार र राहत कार्यमा हामी र हाम्रा उम्मेदवारले गरेको प्रयासलाई स्मरण गर्नु हुन आदरणीय मतदाताहरूलाई हार्दिक अनुरोध गर्दछौं। तपाईले निर्वाचित गराएर पठाएको जनप्रतिनिधि तपाई कै सुख दुखको साथी हुनुपर्छ,

आक्कलझुक्कल झुल्कने सेलिब्रेटी होईन भन्ने हाम्रो मान्यता रहेको छ । तसर्थ हामी सधैं तपाईकै साथमा हुनेछौं, यो हाम्रो दृढ प्रतिवद्धता हो ।
हामी ललितपुर क्षेत्र नं. १ का जनताको प्राविधिक तथा गुणस्तरीय सीपमुलक शिक्षा, स्वास्थ्य, रोजगारी तथा आयआर्जनलाई प्राथमिकिकरणमा राखी दिगो विकासको लक्ष्यका साथ क्षमता अभिवृद्धि र जीवन निर्वाहलाई आधार मानेर कार्य गर्ने दृढताका साथ निम्नअनुसारका लक्ष्य, योजना र कार्यक्रमलाई निरन्तर गर्नेछौं ।

विकासका सवालमा, समावेशी विकास

ललितपुर क्षेत्र १ नं का महिलाहरूलाई लक्षित गरी महिला सशक्तिकरण मार्फत महिला अधिकार, सीप विकास, आय आर्जन, क्षमता अभिवृद्धि तथा सशक्तिकरणका कार्यक्रम संचालन गर्नेछौं ।

समाजमा पछि परेका दलित तथा जनजाति विशेषलाई लक्ष्य गरी दलित तथा जनजाति सहयोग, परिचालन, समन्वय र विकासका लागि तीब्र पहल गर्नेछौं ।

युवाहरूको रोजगारी र सुन्दर भविष्यलाई लक्षित गरी क्षेत्र भित्रका १० + २ पढ्दै गरेका र उतीर्ण भएका विद्यार्थीलाई केन्द्रित गरी शैक्षिक सहयोग तथा परामर्श कार्यक्रम लागू गर्ने छौं ।

जेष्ठ नागरिकलाई लक्षित गरी दिवा सेवा केन्द्र, स्वास्थ्य उपचार, जेष्ठ नागरिकसंग आशिर्वाद, सम्मान, अन्तरक्रिया र धार्मिक तीर्थस्थल भ्रमणका कार्यक्रमहरू सञ्चालन गर्नेछौं ।

पिछडिएको वर्ग विशेषत पहरी, दनुवार र वराम जातिलाई लक्षित गरी सीप विकासमा स्तरोन्नति र उत्थानका लागि सहयोग उपलब्ध गराउने कार्यलाई प्राथमिकतामा राखेका छौं

अपाङ्गता भएका व्यक्तिहरूलाई सहायक सामाग्री वितरण, सहयोग र सहारा विहीन महिला, अनाथ तथा वौद्धीक अपाङ्गता भएका बच्चाहरूको लागि आवास केन्द्रको स्थापनामा उल्लेख्य कार्य गर्ने र सहयोग पुयाउने छौं ।

सडक तथा पुर्वाधार विकास

पहाडी क्षेत्रका मुख्य सडकहरू तथा काँठ क्षेत्रका भित्री सडकहरूलाई ५ वर्ष भित्रै कालो पत्र सम्पन्न गर्नेछौं । टौखेल–घ्याम्पे डाँडा– विष्ट गाउँ–टाहाखेल सडकलाई प्राथमिक योजनामा राखी लेले जोड्दै ग्रामीण घुम्ति सडकको रुपमा विकसित गर्नेछौं । दक्षिण ललितपुरको मध्यमार्गी बाटोलाई बुखेलको बुर्जा हुदै गिम्दी र तराईसम्म जोड्नेछौ । ललितपुरको गिम्दीवाट सर्लाही जोड्ने वाटोको लागि आवश्यक पहल गर्नेछौं ।

नख्खु कोरिडोर (भारदेउ सम्म जोड्ने गरी), गोदावरी कोरिडोर, कर्मनाशा कोरिडोर र दुर्लुङ कोरिडोर निर्माणमा उल्लेख्य पहल गर्नेछौं । अन्य सम्पुर्ण वडाहरूका स–साना सडकहरूलाई माग भई आए बमोजिम स्थानीय योजना, प्रदेश योजना र केन्द्रीय योजना मार्फत सम्बोधन गर्नेछौं। सार्वजनिक यातायातलाई व्यवस्थित गर्न लगाउनेछौं ।

सडक, पुल, सार्वजनिक भवन लगायत निर्माण हुने भौतिक पूर्वाधारहरू वातावरण मैत्री, अपाङ्गता मैत्री, बाल मैत्री, जेष्ठ नागरिक मैत्री बनाउने छौं ।

शिक्षा, संचार तथा सूचना

ललितपुर क्षेत्र नं १ भित्रका चापागाउँको जनभावना, गोदावरीको किटिनी र गोटीखेलको महांकाल क्याम्पसलाई भौतिक पूर्वाधार सम्पन्न बनाई बहु विषय अध्यापनको व्यवस्था सहित तह थप गर्नेछौं । साथै ललितपुरका हरेक विद्यालय र उच्च मा.वि.लाई ईमेल ईन्टरनेट सुविधायुक्त कम्प्यूटर शिक्षा प्रणाली लागु गर्न गराउन आवश्यक पहल गर्नेछौं र आवश्यकतानुसार आवासीय तथा प्रविधि मैत्री वनाउँनेछौं । वागमती र कोञ्ज्योसोम गाउँपालिकामा वहुविषय अध्ययन हुने कलेज स्थापना गर्न आवश्यक पहल गर्नेछौं ।

दक्षिण ललितपुरका जनताको सीप विकासलाई लक्षित दक्षीण ललितपुरमा एक प्राविधिक विद्यालयको स्थापना गर्न तथा भएकालाई स्तरउन्नती गर्न सशक्त कार्यक्रमको थालनी गर्नेछौं । विशंखुमा निर्माणाधिन प्राविधिक शिक्षालयलाई सम्पन्न गर्नेछौं । एक स्थानीय तह एक सामुदायिक पुस्तकालयलाई कार्यान्वयनमा ल्याउन आवश्यक पहल गर्नेछौं । ललितपुर क्षेत्र नं १ लाई प्रविधि मैत्री वनाउँदै संचार सँग जोड्न ईन्टरनेट सेवालाई प्रभावकारी वनाउँदै मोवाईल नेटवर्कका लागि आवश्यक टावरहरू निर्माण र व्यवस्थापन गर्न आवश्यक पहल गर्नेछौं ।

स्वास्थ्य तथा स्वस्थ मानव जीवन

महामारी नियन्त्रण पूर्व तयारी, सहज उपचार र स्वास्थ्य विमालाई प्रभावकारी वनाउन पहल गर्नेछौं ।

हाम्रो पहलमा स्थापित वज्रवाराही सामुदायिक अस्पताल, मानिखेल अस्पताल, थानसिङटार अस्पताल र शंखुमा निर्माणाधिन अस्पताललाई सुविधा सम्पन्न ढंगवाट सञ्चालन गर्न आवश्यक सहयोग गर्ने छौं ।

गोटीखेल, भट्टेडाँडा र चौघरेका प्राथमिक स्वास्थ्य केन्द्रहरूलाई स्थानीय अस्पतालको रुपमा विकास गरी अनिवार्य डाक्टर, दक्ष स्वास्थ्यकर्मी र एम्वुलेन्सको ब्यवस्था गर्नेछौं ।

लेले र गोदावरीमा सामुदायिक अस्पताल निर्माणका लागि सम्भाव्यता अध्ययन गरी आवश्यक पहल गर्नेछौँ । सबै स्वास्थ्य संस्था तथा स्वास्थ्य चौकीलाई अनिवार्य प्रसुति सेवा दिन सक्ने बनाउँछौं । योग, ध्यान र व्यायामलाई प्राथमिकतामा राखि स्वास्थ्य जनचेतना र संस्थागत विकासमा कार्य गर्नेछौं ।

पर्यावरणीय सुधारका माध्यमबाट स्वस्थ एवं दीर्घ जीवनका लागि आवश्यक कार्य गर्नेछौं ।

खाने पानी, सरसफाई तथा सिंचाई

सबैलाई स्वच्छ र स्वस्थ खानेपानीका लागि मुहान संरक्षण र धारा वितरण कार्यलाई तिब्र बनाउनेछौं र आवश्यकतानुसार माग भई आएका ठाउँमा रिजर्भ ट्याङ्की बनाउने कार्यलाई सहयोग गर्नेछौं ।

चापागाउँ, लेले, वडिखेल, गोदावरी, झरुवाराशी, छम्पी, गोदामचौर, टीकाभैरव, डुकुछाप र विशंखुनारायणमा क्झष् गचदबल मचष्लपष्लन धबतभच mबलबनझभलत कथकतझ मार्फत बिशेष खानेपानी योजना सम्पन्न गरि घरघरमा खाने पानी पु¥याउनेछौं ।

दक्षिण ललितपुरका पहाडी क्षेत्रमा मुहान व्यवस्थापन र पाइपलाइन मार्फत शुद्ध खानेपानी उपलब्ध गराउनेछौं । मुख्य चोकमा निःशुल्क खानेपानी वितरणको व्यवस्था गर्नेछौं । स्थानीय तहसँग समन्वय गरि फोहर व्यवस्थापनमा नीतिगत सुधार गर्नेछौं ।

स्थानीय क्षेत्रलाई वातावरण मैत्री तथा स्वच्छ क्षेत्र घोषणा गर्नेछौं । स्थानीय राजकुलो संचालन, लिफ्ट सिंचाईं तथा माग भई आएका माल्टा, गोटीखेल, टीकाभैरव – छम्पी, लेले, बुखेल, मानिखेल र बडिखेलको सिंचाईंलाई क्रमशः सम्पन्न गरी व्यवस्थित गर्नेछौं ।

धार्मिक तथा पर्यटकीय विकास

गोदावरी क्षेत्रलाई आधुनिक वातावरण मैत्री पर्यटकीय क्षेत्र भ्अय त्यगचष्कm ज्गद र दक्षिण ललितपुरलाई कृषि पर्यटकीय क्षेत्र ब्नचय त्यगचष्कm ज्गद को रुपमा विकास गर्नुको साथै पुष्प विकास तथा प्रबर्द्धन, वन्यजन्तु आरक्षण, जैविक तथा वातावरणीय संरक्षण लगायत पशुपन्छीको अध्ययन केन्द्र स्थापनाको पहल गर्नेछौं । ठेव–गोदामचौर – विशंखु, गोदावरी सडक खण्डलाई लोकल पर्यटकीय सडकको रुपमा विकास गरी स्तर उन्नती गर्नुको साथै गोदामचौर विशंखुको सिमानामा रहेको मनकामना मन्दीर परिसरलाई धार्मिक पार्कको रुपमा विकास गर्ने कार्यक्रम अगाडी बढाउनेछौं । मानिखेल, नल्लु, भारदेउ, शंखु र चौघरेलाई लक्षीत गरी बौद्ध गुम्बाहरू निर्माण, सेरप छ्योइफेल र कालेश्वर गुम्बालाई बिकसित गर्नका लागि आवश्यक कार्य थालनी गर्नेछौं । कोञ्ज्योसोमको प्रतिमालाई पूर्णता दिन आवश्यक पहल गर्नेछौं । धार्मिक स्वतन्त्रताको सिद्धान्त वमोजिम इसाई धर्मालम्वीहरूलाई सम्मान गर्दै संचालित इसाई संस्थाहरूलाई कानून संगत ढंगले व्यवस्थित गर्न पहल गर्नेछौ ।

ईकुडोलको माझखण्ड, वुखेलको विमिरेचौर र बुर्जा, चन्दनपुरको गढीभञ्ज्याङ्ग, कालेश्वरको वतासे, देवीचौरको देउराली सुन्तली डाँडा, दल्चोकीको मनकामना डाँडा, भट्टेडाँडाको पीआई ए पार्क, बिशंखुको कोटडाँडा र चापाखर्क, गिम्दीको चमेरे गुफा र गुप्तेश्वर गुफालाई पर्यटकीय संरक्षण क्षेत्रको रुपमा विकास गर्न आवश्यक कार्य गर्नेछौं ।

गोदावरीको फूलचोकी, नौधारा र गोदावरी कुण्ड, बज्रवाराही, लेलेको सरस्वती कुण्ड र मनकामना मन्दिर, टीकाभैरव, विशंखु नारायण मन्दिर, गोटीखेलको वैतरणी धाम, कालेश्वर महादेवको मन्दिर, नल्लुको पाथिभरा, गुप्तेश्वर, तपेश्वरधाम, कटुवाल दह, गोदामचौरको मुक्तिनाथ,
सन्तानेश्वर महादेव क्षेत्रलाई धार्मिक तथा पर्यटकीय स्थलको रुपमा विकसित गर्न उल्लेख्य पहल गर्नेछौं । ललितपुर क्षेत्र नं १ साईकल ट्रेल र ट्रेकिङ रुटको लागि उपयुक्त भएकोले सोको निर्माणमा पहल गर्नेछौँ ।

कला, संस्कृति र खेलकुद

साहित्य, कला, भाषा र संस्कृति मानवीय जीवनका पहिचान र निधि हुन् । हाम्रा समाजका तामाङ, नेवार, पहरी, दनुवार लगायत अन्य समुदायको भाषा, भेषभूषा, कला र संस्कृतिको जगेर्ना र संरक्षणका लागि आवश्यक कार्य गर्नेछौं । साथै सिर्जनशील व्यक्तित्व र स्रस्टाहरूलाई अवसर र सम्मानमा सहकार्य गर्नेछौं । चापागाउँलाई संस्कृति र सम्पदाको नमुना शहरको रुपमा बिकसित गर्नेछौ ।

चापागाउँमा नेवारी संस्कृति झल्कने पुरातात्वीक सङ्ग्रहालय, वडिखेलमा पहरी सङ्ग्रहालय र कोञ्ज्योसोममा तामाङ सङ्ग्रहालय निर्माण गर्न पहल गर्नेछौं । महत्वपूर्ण मरण घाट तथा चिहानहरूलाई आवश्यक बजेट सहित व्यवस्थित गर्नेछौं । युवाहरूलाई खेलकुद र मनोरञ्जनमा सहयोग पुर्याउने उद्धेश्यले विद्यालय र स्थानीय वाल क्लव देखि नै खेलकुद कार्यक्रम सञ्चालन गरी युवा खेलमैत्री वातावरण निर्माण गर्नेछौं ।
स्थानीय तहसँग थप समन्वय गरि पालिकाहरूमा सुविधा सम्पन्न वहुउद्धेश्यीय सामुदायिक तथा क्लव भवन, कभर्ड हल तथा प्रत्येक वडामा
खेल मैदान निर्माणका अतिरिक्त खेलाडी सम्मान र प्रोत्साहन कार्यक्रमलाई व्यवस्थित गर्नेछौं । चापागाउँमा निर्माणाधिन राष्ट्रिय स्तरको रंगशालालाई अत्याधुनिक वनाउन आवश्यक पहल गरी हाम्रै कार्यकालमा सम्पन्न गर्नेछौं ।

जग्गा प्राप्ति तथा आवास व्यवस्थापन

यस क्षेत्रमा व्यक्तिका निजी हकभोगका जग्गाहरू नापीको समयमा छुटहुन गई जग्गाधनी पुर्जावाट बञ्चित हुन पुगेका सम्बन्धित परिवारहरूलाई जग्गाधनी लालपुर्जा उपलब्ध गराउन पुनः नापी गराई जग्गाधनी पुर्जा दिलाउन आवश्यक पहल गर्नेछौं । राष्ट्रिय भूमि आयोग मार्फत ललितपुर क्षेत्र नं १ मा भूमिहीन र सुकुम्वासीहरूको लगत तथ्यांक संकलन भईसकेको छ । तसर्थ पहिचान भएका भूमिहीन र सुकुम्वासीहरूलाई अव हाम्रै कार्यकालमा जग्गा उपलब्ध गराईनुका साथै अन्य समस्याहरू समाधान गर्नेछौं । व्यवस्थित वस्ती विकासमा जोड दिनेछौं ।

कृषि, पशुपालन, उद्यमशीलता मार्फत आयआर्जन र जीविकोपार्जनः

विकासको अन्तिम लक्ष्य आय आर्जन र जीविकोपार्जन नै हो । तसर्थ हाम्रा ग्रामीण वस्तीहरूलाई यथास्थितिवाट उठाउन आवश्यक कार्य गर्नेछौं ।

दक्षिण ललितपुरको कृषि उत्पादन, पशुपालन, तरकारी, चिया, कफि, जडीवुटी र विशेषत दुधलाई आधुनिक, व्यवसायीक, उत्पादनमुख तथा उचीत बजार व्यवस्थापनको लागि स्थानीय समूह र सहकारीलाई सशक्त र क्षमतावान बनाउन स्थानीय उत्पादन सहयोग तथा बजार व्यवस्थापनमा सहजिकरण कार्यक्रम लागु गर्नेछौं । सहकारी शिक्षा, सहुलियत कर्जा, महिला सहकारी प्रवर्द्धन, कर न्यूनीकरण तथा विपन्न सहायता कार्यक्रमलाई जोड दिनेछौ ।

तरकारी हाट वजार र कोल्डस्टोरेज निर्माण र व्यवस्थापनलाई प्राथमिकतामा राख्नेछौँ । दक्षिण ललितपुरलाई चिया, कफी, तरकारी र दूध उत्पादनको पकेट क्षेत्रको रुपमा घोषणा गराउन आवश्यक पहल गर्नेछौं, स्थानीय घरेलु तथा साना उद्योग स्थापनालाई सहजीकरण सहित कृषि पर्यटनलाई प्रवर्द्धन गर्नेछौं ।

उत्पादनमा व्यवसायिकता र प्राविधिक बजारीकरणको लागि कृषि सुचना केन्द्रको व्यवस्था मार्फत प्राविधिक सूचना उपलव्ध गराउन प्राविधिक सेवा संचालन कार्यक्रम लागु गर्नेछौं साथै कृषि पेशालाई सम्मानित पेशाको रुपमा विकास र विस्तार गराउनको लागिपहल गर्नेछौं । आर्थिक र सामाजिक रुपान्तरणका लागि सहकारीको अवधारणावाट नै विकास सम्भव हुने देखिएकोले स्थानीय स्तरका सहकारीहरूलाई सशक्त बनाउन र विषय केन्द्रीत गर्न ग्रामीण सहकारी प्रवर्द्धन कार्यक्रम संचालनको लागि टेवा सहयोगका अतिरिक्त सहकारी प्रवर्द्धन तथा विकास कोष खडा गरी विषयगत विज्ञको परामर्शमा प्रभावकारी कार्यक्रम संचालन गर्नेछौं ।

सहकारी मार्फत सञ्चालन भईरहेको ग्रामीण विद्युतीकरणलाई अझ व्यवस्थित र विकसित गरी सवै घरमा विजुली पुर्याउन बजेट र अनुदानका लागि प्राथमिकताका साथ कार्य गर्नेछौं । स्थानीय स्तरमा शीप, क्षमता र लगानी मार्फत सरकारी, गैर सरकारी र निजी क्षेत्रको साझेदारीमा उद्यमशीलताको विकास, प्रविधि हस्तान्तरण तथा लगानी प्रवर्द्धनलाई जोड दिई कार्यक्रममा सहजिकरण गर्नेछौं । स्थानीय स्तरका क्लब, गैर सरकारी संस्था, सामुदायिक संस्था, महिला समूह र विभिन्न वर्गीय समूहको पहिचान गरी संस्था संचालन र सशक्तिकरण कार्यक्रमलाई यथोचित सहयोग गर्नेछौं ।

स्थानीय तह निर्वाचन २०७९ मा गोदावरी नगरपालिका, महांकाल गाउँपालिका, बागमती गाउँपालिका र कोञ्ज्योसोम गाउँपालिकामा गठवन्धन दलहरूवाट नै प्रमुख र उपप्रमुख सहित ३० वटा वडा मध्ये २२ वडामा नेपाली काँग्रेस र ५ वडामा नेकपा माओवादी केन्द्रवाट वडा अध्यक्षहरू निर्वाचित भएको स्थितिमा स्थानीय तहसँगको सहकार्यमा विकासका कार्यक्रमलाई तीव्र रूपमा अगाडि बढाउनेछौ । साथै स्थानीय तहले निर्वाचनका क्रममा प्रतिवद्धता पत्रमा उल्लेख गरेका योजनाहरूलाई प्राथमिकतामा राखि सम्पन्न गर्न थप पहल गर्नेछौं ।

उम्मेदवार परिचय

उदय शम्शेर राणा, उम्मेदवार, प्रतिनिधि सभा सदस्य क्षेत्र नं १ ललितपुर –

२०२६ सालमा ललितपुरमा जन्मिएका नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा युवा नेता उदय शम्शेर राणा जनतामा लोकप्रीय, विकास प्रेमी, आम युवाहरूले आशा र भरोसा गरेको एक राजनीतिक व्यक्तित्वका रुपमा चिरपरिचित छन् । अन्तर्राष्ट्रिय सम्बन्धमा अमेरिकाबाट स्नातकोत्तर (एम.ए.) सम्मको अध्ययन पुरा गरेका का राणाले २०४६ सालमा नेविसंघको सदस्यता लिएर आफ्नो राजनीतिक यात्रा शुरु गरेका थिए । नेपाल तरुणदल ललितपुरको अध्यक्ष हुर्दै आफ्नो राजनीतिक यात्रालाई अगाडी बढाउन सफल राणा नेपाल तरुणदलको केन्द्रीय समितिको अध्यक्ष समेत भइसकेका छन् । उनी अहिले नेपाली कांग्रेसको केन्द्रीय सदस्य हुन् ।

अन्तरराष्ट्रिय लोकतान्त्रिक युवा संस्था यूजीका पुर्व उपाध्यक्ष समेत रहेका उदय शम्शेरको अन्तरराष्ट्रिय सम्वन्ध र पहुँच पनि त्यत्तिकै सशक्त छ । उनी राष्ट्रिय योजना आयोग मार्फत जारी नेपालको भिजन २०३० का अभियन्ता पनि हुन् ।

संविधान सभाको निर्वाचन २०७० मा ललितपुर क्षेत्र नं. १ बाट निर्वाचित भई संबिधान सभाको अर्थ समिति सदस्य भएका थिए । नेपाली कांग्रेसको नेतृत्वमा संविधान जाारी भएपछि प्रतिनिधिसभामा रुपान्तरण भएको संसदको अन्तिम अन्तिम कार्यकालतिर अर्थ राज्यमन्त्रीको जिम्मेवारी पनि सम्हालेका थिए ।

हरि दाहाल (ललित), उम्मेदवार, प्रदेश सभा सदस्य क्षेत्र नं १ (क) ललितपुर

ललितपुर जिल्लाको वागमती गाउँपालिका वडा नं ५ इकुडोलमा २०२६ सालमा जन्मिएका दाहालले पाटन कलेजवाट स्नातक तह सम्मको उच्चशिक्षा हासिल गरेका छन् । २०४० सालमा स्कुले विद्यार्थी जीवनवाट राजनीति शुरु गरेका दाहालले नेकपा माओवादीको १० वर्षे जनयुद्धका क्रममा पार्टीको जिल्ला ईन्चार्जसम्मको नेतृत्वतहमा रहेर कार्य गरिरहँदा रामेछापको दोरम्भा, ललितपुरको ठूलादुर्लुङ र काभ्रेको माझीखोला भिडन्तमा पर्दा ज्यान जोगाउन सफल भएका थिए । उनलाई काभ्रेको माझीखोला घटनामा तीनवटा गोली लागेको थियो भने दोरम्भा घटनामा उनकी धर्मपत्नी अम्विका दाहालको निधन भएको थियो ।

दाहाललाई एक जिउँदो सहीदको रुपमा पनि चिन्न सकिन्छ । राजनीतिका माध्यमवाट सामाजिक विकासमा निरन्तर क्रियाशील दाहालले पार्टीको ललितपुर जिल्ला इञ्चार्ज, केन्द्रीय सदस्य हुँदै पोलिटव्यूरो सदस्य सम्मको जिम्मेवारी वहन गरेका छन् । उनी २०७० को संविधान सभा निर्वाचनमा नेकपा माओवादीको तर्फवाट ललितपुर क्षेत्र नं १ मा संविधान सभा सदस्य पदको उम्मेदवार रहेका थिए ।

मीनकृष्ण महर्जन, उम्मेदवार, प्रदेश सभा सदस्य क्षेत्र नं १ (ख) ललितपुर

२०२८ सालमा ललितपुरको चापागाउँमा जन्मिएका मीनकृष्ण मर्हजनले २०४६ देखि सक्रिय राजनीतिको सुरुवात गरेका थिए । उनी नेपाली कांग्रेस ललितपुर क्षेत्र नं. १ बाट ४ पटक महाधिबेशन प्रतिनिधि, ३ पटक जिल्ला सदस्य तथा नेपाल तरुण दलको केन्द्रीय सदस्य समेत भइसकेका नेता हुन् । युवाहरुमा अत्यन्त लोकप्रीय मर्हजनले आज सम्मको आफ्नो जीवनलाई खेलकुद र राजनीतिमा समर्पण गर्दै आएका छन् । उनी युवाहरूको मन जित्न सफल, निडर, प्रस्ट र समाजलाई परिवर्तन गर्ने युवाले नै हो भन्ने दृढ संकल्प राख्ने विकासप्रेमी नेताको रुपमा परिचित छन् ।

नेपाली कांग्रेसका युवाहरूद्वारा अत्यन्तै रुचाइएका मीनकृष्ण मर्हजन राष्ट्रिय खेलकुद परिषदका कोषाध्यक्ष समेत भइसकेका छन् । कराँते खेलको अन्तराष्ट्रिय रेफ्रीको रुपमा पनि उनलाई चिन्न सकिन्छ । उनी कराँते महासंघका वरिष्ठ उपाध्यक्ष र कराँते महासंघ ललितपुरका संरक्षकको भूमिका पनि रहेका छन् । २०७४ को निर्वाचनमा यसै क्षेत्रवाट उम्मेदवार रहनु भएका महर्जन तत्कालिन वाम गठवन्धनका उम्मेदवारसँग झिनो मतले पराजित भएका थिए ।

तसर्थ ललितपुरको क्षेत्र नं. १ लाई समृद्ध ललितपुर बनाउने लक्ष्यका साथ प्रस्तुत उम्मेदवारहरू र सिङ्गो गठवन्धनलाई अत्याधिक बहुमतले विजयी गराउन हामी सबैमा हार्दिक अनुरोध गर्दछौ ।