NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ २ गते

विश्वकपको सेमिफाइनलमा भिड्दै भारत र इंग्ल्यान्ड

काठमाडौं । टी २० विश्वकपको दोस्रो सेमिफाइनल आज भारत र इंग्ल्यान्ड भिड्दै छन् । पहिलो सेमिफाइनलमा पाकिस्तानले न्युजिल्यान्डलाई हराएपछि दोस्रो खेलमा आज र भारत र इंग्ल्यान्डबीच प्रतिस्पर्धा हुन लागेको हो । यो खेलको विजेताले विश्वकप क्रिकेटको उपाधिको लागि पाकिस्तानसँग खेल्नेछ ।

भारत सुपर १२ मा समूह २ को पहिलो स्थानमा हुँदै सेमिफाइनमा पुगेको थियो । इंग्ल्याण्ड भने समूह १ को दोस्रो स्थानमा रहँदै सेमिफाइनल पुगेको टोली हो ।

भारत र इंग्ल्यान्डको खेल नेपाली समय अनुसार आज दिउसो पौने दुई बजे सुरु हुनेछ ।

भारतले सुपर १२ का पाँचमध्ये चार खेल जित्दा दक्षिण अफ्रिसँग मात्रै पराजित भएको थियो । भारतले सुपर १२ को पहिलो खेलमा पाकिस्तानलाई अन्तिम बलमा हराउँदा रोमाञ्चक ४ विकेटको जित निकालेको थियो । दोस्रो खेलमा नेदरल्याण्डसलाई ५६ रनले पराजित गर्यो । तेस्रो खेल भने दक्षिण अफ्रिकाले दुई बल बाँकी हुँदै ५ विकेटले जित्यो ।

तेस्रो खेलमा भारत बंगलादेशविरुद्ध डिएल मेथडमा ५ रनले विजयी हुन पुग्यो । चौथो खेलमा भने भारतले जिम्बाब्वेलाई ७१ रनको फराकिलो अन्तरले पराजित गरेको थियो । नेदरल्यान्डसले दक्षिण अफ्रिकालाई पराजित गरेपछि भारत एक खेल अगावै सेमिफाइनलमा पुगेको थियो । अन्तिम खेलमा जिम्बाब्वेसँग पराजित भएको भए भारतको सेमिफाइनल खेल न्युजिल्यान्डसँग हुने थियो ।

यता इंग्ल्यान्ड न्युजिल्यान्डपछि दोस्रो हुँदै समूह १ बाट सेमिफाइनलमा पुगेको टोली हो । पहिलो खेलमा अफगानिस्तानविरुद्ध इंग्ल्यान्ड ५ विकेटले विजयी भयो । दोस्रो खेलमा आयरल्यान्डसँग इंग्ल्यान्ड पानी परेपछिको डिएल मेथडमा ५ रनले स्तब्ध हुन पुगेको थियो । तेस्रो खेलमा वर्षाले खेल रोकिएपछि इंग्ल्यान्ड र अष्ट्रेलियाले एकएक अंक बाँडेका थिए ।

चौथो खेलमा न्युजिल्यान्डलाई २० रनले पराजित गर्न इंग्ल्यान्ड सफल भएको थिया । अन्तिम खेलमा श्रीलंकालाई चार विकेटले पराजित गरेपछि इंल्यान्ड अष्ट्रेलियालाई पछि पार्दै बढी रनरेटका आधारमा सेमिफाइनल पुग्न सफल भएको थियो । त्यो म्याचमा श्रीलंका जितेको भए अष्ट्रेलिया सेमिफाइनलमा पुग्ने थियो । सात अंक नै भए पनि आयोजक अष्ट्रेलिया भने रनरेटमा पछि पर्दै सुपर १२ बाटै प्रतियोगिताबाट बाहिरिएको थियो ।

अहिलेसम्म वेस्ट इण्डिजबाहेक कुनै पनि टिमले दुईपटक टी २० विश्वकपको उपाधि जितेका छैनन् ।