NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ३ गते

नारायणी किनारका होटलमा पर्यटकको आकर्षण बढ्दो

नवलपुर । दसैँ, तिहार र छठको बिदासँगै नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को नारायणी नदी किनारका होटलमा पर्यटकको आकर्षण बढ्दै गएको छ । जिल्लाका होटलमध्ये नदी किनारका होटल पर्यटकको रोजाइमा पर्ने गरेको व्यवसायी बताउँछन् ।

जिल्लाको गैँडाकोट–१ मा सञ्चालनमा रहेको ‘द नारायणी रिसोर्ट’का सञ्चालक वसन्त पराजुलीले अहिले होटलमा पाहुनाको आगमन बढ्न थालेको बताए । ‘दसैँ, तिहार र छठको बिदासँगै यहाँका होटलमा आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढेको छ’, उनले भने, ‘अघिल्ला वर्षहरुको यो समयमा होटलको अकुपेन्सी मुस्किलले ४० प्रतिशत पुग्ने गरेकोमा अहिले ७० प्रतिशतसम्म पुगेको छ ।’ नारायणी नदी किनारबाट देखिने मनोरम दृश्यावलोकनका लागि पर्यटक नदी किनारका होटलमा केन्द्रित हुने गरेको पराजुलीको भनाइ छ ।

‘जिल्लामा विभिन्न ठूला कार्यक्रम हुने गरेका छन्, उनीहरुको रोजाइमा पनि नदी किनारका होटल नै परेका छन्’, पराजुलीले भने, ‘नदी किनारबाट देखिने सूर्यास्त, मोटरबोट सयरलगायत विभिन्न कारण नदी किनारको होटलमा आकर्षण बढेको हुनसक्छ ।’ चितवनको सौराहा केन्द्रित हुने पर्यटक अहिले नारायणी नदी किनारका होटलमा विस्तार भइरहेका पराजुलीको भनाइ छ । यहाँ आउने पर्यटक पवित्र तीर्थस्थल देवघाटधाम, ऐतिहासिक महत्वको मौलाकालिका मन्दिरलगायतका ठाउँमा घुम्ने गरेका पराजुलीले बताए ।

होटल व्यवसायी सङ्घ नवलपुरका अध्यक्ष सन्तोष रानामगरले जङ्गल सफारी, जीप सफारी, डुङ्गा सफारीलगायतका लागि पर्यटक आउने हुँदा नारायणी नदी किनारका होटल उनीहरुको रोजाइमा पर्ने गरेको बताए । ‘नारायणी नदी वारि रहेका अमलटारी, पिठुवासहितका सामुदायिक वनमा जीप सफारी, ट्रेकिङ, नारायणीमा डुङ्गा सफारीजस्ता पर्यटकीय गतिविधि हुने गरेका छन्’, रानामगरले भने, ‘दुर्लभ एकसिङ्गे गैँडा, मयुर, भालु, मृगजस्ता जनावर जङ्गल सफारीमा सहजै देख्न पाइने हुँदा अहिले पर्यटकको आगमन राम्रो छ ।’

नेपालकै तेस्रो पर्यटकीय गन्तव्य चितवनको सौराहाको विकल्पका रुपमा नवलपुर क्षेत्र उदाउँदै जँदा नारायणी नदी किनारका होटलमा आकर्षण बढेको राना मगरले बताए । ‘केही हप्ताअघि राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत केही खेल नवलपुरमा आयोजना हुँदा यहाँको पर्यटन क्षेत्रलाई थप बल पुगेको छ’, रानामगरले भने, ‘अहिले जिल्लामा आउने पर्यटक दुईतीन दिनको बसाइँमा आउने गरेका छन् उनीहरुलाई एक हप्तासम्म राख्ने गरी हामीले प्याकेज बनाउँदै छौँ ।’

जिल्लामा रहेका धार्मिकस्थल, प्राकृतिक सम्पदा र पर्यटकीय स्थलहरुलाई समेटेर व्यवस्थित पर्यटकीय गन्तव्य बनाउने लैजाने योजना रहेको रानामगरले बताए । ‘नवलपुरमा बसुन्जेल आन्तरिक पर्यटक खुलेर रमाइलो गरुन् भन्ने तरिकाले हामीले यहाँको पर्यटनलाई व्यवस्थित गर्ने योजना बनाएका छौँ’, रानामगरले भने, ‘हामीकहाँ आउने पर्यटकले यहाँ खाँदा बस्दा पैसा सकिएको अवस्थामा उनीहरुलाई हामी आफैँ गाडीभाडा हालेर घर पठाउने व्यवस्था गर्ने गरी छलफल अघि बढाएका छौँ, त्यस्तो गर्न सकियो भने नेपालमै नवीन पर्यटकीय ठाउँ बन्नेछ नवलपुर ।’

नवलपुरमा तीन प्रकारको हावापानी पाइने भन्दै उनले राजमार्गबाट उत्तरतर्फ पाँच किलोमिटरको दूरीमा चिसो हावापानी, राजमार्ग क्षेत्र र राजमार्गबाट दक्षिणतर्फ सिमसार छुट्टै हावापानी पाइने उनको भनाइ छ । नवलपुरको त्रिवेणीधाम, दाउन्नेदेवी मन्दिर, धौवादीको फलाम खानी, देवचुली डाँडा, शाश्वत धाम, मौलाकालिका मन्दिर, देवघाटधाम, चितवन राष्ट्रिय निकुञ्जका सामुदायिक वनलाई पर्यटनसँग जोडेर प्याकेज बनाउने तयारी भइरहेको राना मगरको भनाइ छ ।

यहाँको पहाडी क्षेत्रमा गुरुङ, मगरको तथा तराईमा थारु समुदायको संस्कृति, परम्परागत खानपानमा पर्यटकलाई रम्ने वातावरण बनाउँदै नदी केन्द्रित पर्यटनको क्षेत्र विस्तार गरिने उनको भनाइ छ । जिल्लामा रहेका करिब आठ सय होटलमध्ये नारायणी किनारमा मात्रै अहिले दुई सयको हाराहारीमा होटल सञ्चालनमा रहेका राना मगरले बताए । यो समयमा नारायणी किनारका सबै होलटमा ७० देखि ७५ प्रतिशत अकुपेन्सी रहेको राना मगरले जानकारी दिए ।

जिल्लाका सानाठूला होटलमा गरी करिब तीन हजार कोठा रहेका राना मगरको भनाइ छ । होटल व्यवसायी महासङ्घका वरिष्ठ केन्द्रीय उपाध्यक्ष दिनेशकुमार चुकेले नारायणी नदी किनार पर्यटकीय दृष्टिकोणले आकर्षित बन्दै जाँदा यहाँ आउने पर्यटक बढेका बताए । ‘भारतको गोवा तथा मुम्बईको समुद्री तटको झल्को दिने गरी नारायणी नदी किनार विकास भइरहेको छ’, चुकेले भने, ‘त्यसैको प्रभावले यहाँको नदी किनारका होटलमा पर्यटकको आकर्षण बढेको हो ।’ नदी किनारका होटलमा बास बस्दा नारायणी गङ्गा आरतीको अवलोकन, मोटर बोटमा सयर, मनोरम सूर्यास्तको दृश्यावलोकनजस्ता क्रियाकलाप गर्न पाइने हुँदा आन्तरिक पर्यटकको रोजाइमा नदी किनार पर्ने गरेको चुकेले बताए ।

‘गैँडाकोटका नदी किनारका होटलमा बस्ने पर्यटक बिहान उठेर सहजै मौलाकालिका मन्दिरको दर्शन गर्दै देवघाटधाममा जान सक्छन्’, वरिष्ठ उपाध्यक्ष चुकले भने, ‘नदी किनार देशकै केन्द्र भागमा पर्ने हुँदा यातायातको सजह व्यवस्था भएकाले यहाँ पर्यटकको आकर्षण बढ्नु स्वभाविक हो ।’ यहाँ आउने पर्यटकमध्ये अधिकांश छुट्टी मनाउन तथा घुम्न आउने भएकाले उनीहरुको बसाइँ लम्बाउने गरी विभिन्न क्रियाकलाप सञ्चालन गर्नसकेमा आर्थिक क्रियाकलाप बढ्ने चुकेले बताए ।

 

 

चुनाव नयाँ, एजेण्डा पुरानै
काठमाडौं । निर्वाचन जनताको मत आफ्नो पक्षमा तान्न प्राय सबै राजनितिक दलले स्थायित्व, सुशासन, समृद्धि र शान्ती सुव्यवस्थासम्बन्धी मुद्दालाई नै प्रमुखताका साथ उठाएको पाइएको छ । आगामी मंसिर ४ गते हने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि राजनितिक दलले तयार गरेको घोषणापत्रमा मूलभूतरुपमा राष्ट्र, राष्ट्रियता, आत्मनिर्भर अर्थतन्त्र, रोजगारी, पूर्वाधार निर्माण, नागरिकता, धर्म संस्कृतिसँग जोडिएका विषयवस्तुलाई नै समेटेका छन् ।

सोही क्रममा नेपालका लागि नेपाली पार्टी भ्रष्टाचारको अन्त्य, पृथ्वीपथ र नेपालवादको मुद्दालाई प्रखररुपमा उठाउँदै मत माग्न जनताको घरदैलोमा पुगेको छ । निर्वाचन चिह्न शङ्ख रहेको उक्त पार्टीले पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ प्रतिनिधिसभा र प्रदेशसभा सदस्यमा तथा समानुपातिकतर्फ एक सय १० उम्मेदवार उठाएको अध्यक्ष बालकृष्ण न्यौपानेले बताए ।

पञ्चायत समयदेखि हालसम्म सार्वजनिक उच्च ओहदामा रहेका व्यक्तिको सम्पति छानबिन, प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री, राजसंस्था, सांसद मन्त्रिमण्डलमा सामेल हुन नपाउने प्रावधानसहित भ्रष्टाचार अन्त्य गर्न शक्तिशाली नागरिक आयोग गठनका मुद्दा उठाउँदै आएको छ । केही राजनीतिक दलले भने देशको सङ्कटापन्न स्थिति, बाह्य हस्तक्षेप, सामाजिक न्याय तथा आत्मनिरर्भता, महिला एवं बालबालिका, शिक्षा र स्वास्थ्य क्षेत्रका समस्यासमेत प्रतिबद्धतापत्रमा उल्लेख गरेका छन् ।

‘ढकिया’ चुनाव चिह्न तथा अध्यक्ष रञ्जिता श्रेष्ठले नेतृत्व गर्नुभएको नागरिक उन्मुक्ति पार्टीले यस निर्वाचनमा मुलुकको विकास, पहिचान, सुशासन समृद्धिका साथै समावेशी पहिचानको मुद्दालाई प्रखररुपमा उठाएको छ ।

प्रतिनिसभामा ८५ र प्रदेशसभा सदस्यमा एक सय ३७ उम्मेदवार खडा गरेको उक्त पार्टीले प्रत्यक्ष निर्वाचनद्वारा निर्वाचित राष्ट्रपति वा प्रधानमन्त्री हुनुपर्छ भन्दैआएको छ । किराँत खुम्बुवान साझा पार्टीले यस निर्वाचनमा प्रतिनिधिसभा सदस्यमा प्रत्यक्षतर्फ एक र प्रदेशसभा सदस्यमा दुई स्थानमा तथा समानुपातिकतर्फ १५ जनालाई उम्मेदवार बनाएको छ ।

‘ढाका टोपी’ चुनाव चिह्न रहेको उक्त पार्टीले प्रदेश नं १ लाई किराँत प्रदेश नामाकरण, धरानमा खानेपानीको सहज आपूर्ति, भ्रष्टाचार न्यूनीकरण तथा शिक्षा र स्वास्थ्यका जल्दाबल्दा मुद्दालाई पनि त्यतिकै प्राथमिकता दिने जनाएको छ । पार्टीले मुलुकमा राजनीतिक स्थिरताका लागि जनताबाट निर्वाचित प्रधानमन्त्री तथा पूर्ण समानुपातिक निर्वाचन प्रणाली अपनाउन उपयुक्त हुने मत राख्दैआएको छ । तामाङ शालिङ लोकतान्त्रिक पार्टीले प्रतिनिधिसभामा एक र प्रदेशमा २० उम्मेदवार खडा गरेको छ ।

‘वज्र’ चुनाव चिह्न रहेको उक्त पार्टीका अध्यक्ष सीमाङ तामाङले खर्चिलो र भड्किलो चुनाव प्रणाली रोक्न तथा जातीय जनसङ्ख्याका आधारमा उम्मेदवार छनोट हुने पूर्ण समानुपातिक निर्वाचनका पक्षमा वकालत गर्दैआएको छ । ‘घोडा’ चुनाव चिह्न तथा अध्यक्ष घनेन्द्र बस्नेत रहेको मितेरी पार्टी नेपालले यस निर्वाचनमा भौगोलिकरुपमा मुलुकलाई पाँच विकास क्षेत्र कायम गरी अलङ्कारी राजसंस्था रहनुपर्छ भनी त्यसको पक्षमा मत मागेको छ ।

कर्मा लामा अध्यक्ष रहनुभएको नेपाल विवेकशील पार्टीले प्रतिनिधिसभा सदस्यतर्फ दुई उम्मेदवार मात्र उठाएको छ । ‘कुकुरको मुखाकृति’ चुनाव चिह्न रहेको उक्त पार्टीले वर्तमानमा अभ्यास गरिरहेको शासकीयस्वरुप र निर्वाचन प्रणालीमा व्यापक सुधार गरी अघि बढ्न सकिने प्रतिक्रिया दिएको छ ।

‘कुखुराको भाले’ चुनाव चिह्न बुद्धलाल मेचे अध्यक्ष रहेको मङ्गोल नेशनल अर्जनाइजेशनले मुलुकका सङ्घ र प्रदेश गरी यस निर्वाचनमा ५० जिल्लामा दुई सय ३८ उम्मेदवार उठाएको छ । लोकतन्त्र, धर्मनिरपेक्ष, सङ्घीयता र मङ्गोलीयन मूलवासीको अधिकार तथा अस्तित्वका मुद्दालाई उक्त पार्टीले प्रमुख मुद्दा बनाएको छ ।

सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका अध्यक्ष कुमार लिङ्देनले मुलुकाका छ प्रदेशका ८६ निर्वाचन क्षेत्रमा यस पटक पार्टीका उम्मेदवार रहेको बताउनुभयो । पहिचानसहितको सङ्घीयता, हाल कायम रहेको न्यूनतम मत सीमा ‘थ्रेस होल्ड’ हटाउने तथा प्रदेशलाई अधिकार सम्पन्न गराउने विषय उठाउँदै आएको मञ्चको चुनाव चिह्न ‘दापसहितको खुकुरी’ रहेको छ ।

बहुजन एकता पार्टी नेपालले समानता, स्वतन्त्रता, आत्मसम्मान र समृद्धिका मुद्दालाई पहिलो प्राथमिकतामा राखेको छ । चुनाव चिह्न ‘सात खुड्किलाको भ¥याङ’ रहेको उक्त पार्टीले प्रत्यक्षतर्फ ३४ र समानुपातिकतर्फ ४९ स्थानमा उम्मेदवार खडा गरेको छ ।

राष्ट्रपति होस् वा प्रधानमन्त्री दुवै कार्यकारी प्रत्यक्ष निर्वाचनबाट चुनिनुपर्छ भन्ने मान्यता बोकेको उक्त पार्टीले जातीय आरक्षणसहित पूर्ण समानुपातिक निर्वाचन प्रणालीमा जोड दिएको छ । मतदाताले पनि राजनीतिक दल र उम्मेदवारसँग शान्ति सुव्यवस्था, सुशासन, मलखाद, सिँचाइ र सडकजस्ता पुरानै माग दोहो¥याइरहेको पाइएको छ ।
–––