NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २१ गते
वेथिति

विष मिसिएको स्यानिटाइजर नेपालमा बिक्री गर्दै भारतीय कम्पनी

बिक्री वितरण रोकेर बजारबाट फिर्ता गर्न विभागले दियो निर्देशन

काठमाडौं । भारतको एक कम्पनीले नेपालमा विषाक्त स्यानिटाइजर बिक्री वितरण गरेको पाइएको छ । कुञ्जपुरा कर्नलमा रहेको भारतीय कम्पनी ग्लोबल हेल्थकेयरले विषाक्त मेथानल मिसिएको स्यानिटाइजर नेपालमा बिक्री गरेको हो । गुणस्तरहीन स्यानिटाइजर बजारमा बिक्री वितरण गरेको पुष्टि भएसँगै विभागले त्यसको बिक्री वितरण रोकेर फिर्ता गर्न निर्देशन दिएको छ ।

ग्लोबलको ब्याच नं. केयर–११–२२ को सिजिएच ह्याण्ड स्यानिटाइजर ५०० एमएल गुणस्तरहीन रहेको गुनासोपछि औषधि व्यवस्था विभागले नमुना संकलन गरेर राष्ट्रिय औषधि प्रयोगशाला, काठमाडौंमा परीक्षण गरेको थियो । नतिजामा उक्त स्यानिटाइजरमा विषाक्त पदार्थ मिथानल भेटिएको विभागले जनाएको छ ।

जनवरी २०२२ मा उत्पादन गरेर डिसेम्बर २०२४ सम्म म्याद राखिएको स्यानिटाइजर गुणस्तरहीन पुष्टि भएपछि विभागले फिर्ता गर्न निर्देशन दिएको छ । औषधि ऐन २०३५ को दफा १४ अनुसार ग्लोबल हेल्थकेयरको ह्याण्ड स्यानिटाइजर बजारबाट फिर्ता (रि–कल) गर्न निर्देशन दिएको विभागले जनाएको छ । साथै विभागले यो स्यानिटाइजर प्रयोग नगर्न र फिर्ता गरिएको विवरण विभागमा पेस गर्न सम्बन्धित उद्योग, आयातकर्ता र तिनका प्रतिनिधिलाई आग्रह गरेको छ ।

 

ताजा अपडेट

नेपालवाच विशेष