NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २२ गते

मुख्य दलका शीर्ष नेता : कसले कहाँ सम्बोधन गर्दैछन् ?

काठमाडौं । मुख्य राजनीतिक दलका नेताहरू चुनावी नतिजा आफ्नो पक्षमा पार्न देश दौडाहमा छन् । आज पनि उनीहरूले विभिन्न चुनावी सभालाई सम्बोधन गर्दैछन् । दलहरूले भोलि मध्यरातसम्म चुनाव प्रचारप्रसार गर्न पाउँछन् ।

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज डडेल्धरा, बैतडी र अछाममा आयोजना हुने चुनावी सभालाई सम्बोधन गर्दैछन् । सभालाई सम्बोधन गर्न उनी बिहीबार गृहजिल्ला आउँदैछन् ।

कांग्रेस डडेल्धुराका सचिव हेमराज चटौतका अनुसार प्रधानमन्त्री देउवाले साढे ११ बजे अजयमेरु गाउँपालिकाको देवलमा आयोजना गरिएको चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम छ । प्रधानमन्त्री देउवाले बैतडी र अछाम जिल्लामा आयोजना हुने चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम तय भएको जानकारी दिए ।

यसअघि प्रधानमन्त्री देउवा यही कात्तिक १७ गतेदेखि चार दिनसम्म यहाँ बसेका थिए । सो क्रममा उनले सात पालिकामा आयोजित चुनावी सभालाई सम्बोधन गरेका थिए । आगामी मङ्सिर ४ गते हुने निर्वाचनमा उनी प्रतिनिधिसभा सदस्यको उम्मेदवार छन् ।

प्रतिनिधिसभातर्फ एक मात्र निर्वाचन क्षेत्र रहेको डडेल्धुरामा प्रधानमन्त्री देउवासहित आठ उम्मेदवार चुनावी मैदानमा छन् । उनी ०४८ सालयताका हरेक निर्वाचनमा विजयी हुँदै आएका छन् ।

चुनावी सभालाई सम्बोधन गर्न प्रधानमन्त्री दोस्रो पटक बैतडी आउँदैछन् ।

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति देउवाले आज सत्ता गठबन्धनद्वारा बैतडीको शिवनाथ गाउँपालिकाको सुल्लेखानमा आयोजना गरिएको चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम छ ।

चुनावी सभाको तयारी पूरा भएको सत्ता गठबन्धनका चुनाव प्रचार–प्रसार संयोजक एवं नेपाली कांग्रेसका जिल्ला सभापति चतुरबहादुर चन्दले जानकारी दिए ।

बैतडीमा सत्ता गठबन्धनबाट प्रतिनिधिसभा सदस्यका लागि माओवादी केन्द्रका नरेन्द्रबहादुर कुँवर तथा प्रदेशसभा (१) मा कांग्रेसका वीरबहादुर विष्ट र प्रदेशसभा (२) मा कांग्रेसकै शिवराज भट्ट चुनावी मैदानमा छन् ।

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले ताप्लेजुङ र खोटाङको सभालाई सम्बोधन गर्दैछन् ।

सत्ता गठबन्धन ताप्लेजुङद्वारा आयोजित चुनावी आमसभालाई सम्बोधन गर्न प्रचण्ड ताप्लेजुङ आउने जिल्ला निर्वाचन परिचालन समितिका संयोजक मिङ्मा डण्डु शेर्पाले जानकारी दिए । सदरमुकामस्थित तोक्मेडाँडामा आयोजित सभालाई नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महत, नेकपा (एकीकृत समाजवादी) का उपमहासचिव डा. गङ्गालाल तुलाधरलगायतले सम्बोधन गर्ने कार्यक्रम छ । सत्ता गठबन्धनले यसअघि जिल्लाका आठ पालिकामा चुनावी सभा सम्पन्न गरिसकेको छ ।

उनले आजै बैतडीको शिवनाथ गाउँपालिकाको सुल्लेखानमा आयोजना गरिएको चुनावी सभालाई पनि सम्बोधन गर्दैछन् ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पनि बिहीबार दिनभर चुनावी दौडधुपमा रहनेछन् ।