NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ७ गते

पटक–पटक ‘टेस्टेड’ यी नेता : जसलाई जनताले फेरि संसदमा देख्न चाहेका छैनन्

काठमाडौं । आइतबार हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि उम्मेदवारलाई प्रचारप्रसार गर्न निर्वाचन आयोगले उपलब्ध गराएको समयसीमा बिहीबार मध्यरातिसम्म मात्रै हो । अन्तिमसम्मै चुनावी कार्यक्रम गर्न राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवारहरू यतिबेला आ–आफ्ना निर्वाचन क्षेत्रमा व्यस्त भए । विगतका आम निर्वाचनभन्दा योपटकको निर्वाचनलाई धेरैले महत्व र चासोका साथ हेरेका छन् ।

एकातिर ३१ वर्षदेखि राज्यसत्तामा राज गर्दै आएका सत्ता गठबन्धन र एमाले एक अर्कालाई हराएर पुनः संसद छिर्ने दाउमा छन् । संसद हुँदै मुलुकको शासनसत्ता आफ्नो हातमा लिएर जनतामाथि हैकम चलाउने सपना उनीहरूले देखेका छन् । अग्रगमन र प्रतिगमनबीचको मुख्य लडाईँको भाष्य तयार गरेर चुनावमा होमिएका परम्परागत दलहरूका लागि यसपटक स्वतन्त्र र वैकल्पिक शक्तिहरूले धेरै ठूलो धक्का दिने देखिन्छ ।

बारम्बार परीक्षण भएका नेताहरूबाट अब देश नबन्ने घोषणा गर्दै सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले ‘नो नट अगेन’ ‘ह्यास ट्याग’ प्रभावकारी रुपमा प्रचारमा ल्याएका छन । फेसबुक, ट्वीटर, टिकटकलगायत सामाजिक सञ्जालमा निकै लोकप्रिय हुँदै गएपछि दलका नेताहरूको सात्तो उडेको छ । योपटकको निर्वाचनमा स्वतन्त्र व्यक्तिहरूको लहर र उनीहरूको आक्रामक प्रचारप्रसारले पुराना नेताहरू निकै विचलित भएका छन् ।

‘नो नट अगेन’ अभियान सामाजिक सञ्जालमा निकै भइरल भएपछि कात्तिक ८ गते आयोगले अभियान रोक्न विज्ञप्तिमार्फत ‘सचेत’ गरायो । नेताहरूविरुद्ध लाञ्छना र भ्रामकपूर्ण सामग्री प्रकाशित÷प्रसारण गरिएको भन्दै आयोगले उक्त अभियान तत्काल रोक्न ‘निर्देशन’ नै दियो । त्यस्ता सामग्री नरोके विद्युतीय कारोबार ऐन र निर्वाचन ऐनअनुसार कारबाही हुने ‘चेतावनी’ पनि दियो ।

आयोगको विज्ञप्ति दूरासयपूर्ण र संविधानमा व्यवस्था भएको मौलिक हक विपरित भएको चेतावनी दिँदै अभियन्ताहरू झनै आक्रामक रुपमा अघि बढे । जुन अभियान ट्वीटरमा ‘ट्रेन्डिङ’मा पुग्यो । टिकटक, फेसबुक र इन्ट्राग्राममा ‘नो नोट अगेन’ भन्ने नामका पेज र ह्यान्डिल दैनिक थपिए ।

सर्वोच्च अदालतले ‘नो नट अगेन’ अभियान चलाउने अभियन्तालाई कारबाही नगर्न आयोगको नाममा अल्पकालीन अन्तरिम आदेश दियो । यसपछि त झन् यो अभियानमा झन् धेरै लहर देखिएको छ । दलहरूले दिएकै शैलीमा ‘नो नट अगेन’ अभियानले पनि संचारमाध्यममा विज्ञापन उपलब्ध गराएर दलहरूमा िदबाब थपेको छ ।

माथिका यी घटनाले आगामी निर्वाचनबाट आम नागरिकले विकल्प खोजिरहेको देखिन्छ । बारम्बार संसद छिरेका तर देश र जनताको पक्षमा केही माखो नमारेकोमा आक्रोसित हुँदै यी नेताहरूलाई आम नगरिकले पुनः देख्न चाहेका छैनन् । यतिमात्रै होइन पटकपटक परीक्षण भइसकेर पनि कुनै प्रभावकारी नतिजा नदिएका, बरु उल्टै भ्रष्टाचारी र बेथिति फैलाएकोले नै टिकट पाउने क्रम यसपटक पनि रोकिएन । टिकटमा रोकिए त केबल दलभित्रै युवा र प्रभावशाली नेताहरू । यसैले पनि ‘नो नट अगेन’ अभियानले तीव्रता पायो । यो उनीहरूको अभियानभन्दा दलहरूकै त्रुटी र कमजोरीको उपजको रुपमा आएको देखिन्छ ।

सर्वोच्च अदालतले २०७० साल पुस २१ गते नै एउटा फैसला गर्दै अनिवार्य रूपमा निर्वाचनसम्बन्धी कानुनमा ‘राइट टु रिजेक्ट’ (कुनै पनि उम्मेदवारलाई मत दिन्नँ) को व्यवस्था गर्न सरकारलाई आदेश दिएको थियो । ९ वर्ष पुग्न लाग्दासमेत अदालतको आदेश पालना गर्न न निर्वाचन आयोगले चासो दिएको छ न त संसदको ध्यान गएको छ ।

अदालती आदेश अनुसार सरकारले निर्वाचनसम्बन्धी कानुनमा यो व्यवस्था राखेको भए मतदाताले कसैलार्ई पनि मत नदिई सबैलार्ई बहिष्कार गर्न पाउने नेपाल विश्वको नयाँ सदस्य राष्ट्र बन्ने थियो ।

विश्वका अमेरिका, फ्रान्स, बेल्जियम, फिनल्याण्ड, स्वीडेन, ब्राजिल, ग्रीस, युक्रेन, चिली, बंगलादेशलगायत १५ देशमा यो व्यवस्था लागु भइसकेको छ । तर नेपालमा यो व्यवस्था लागु गर्न राजनीतिक दलका नेताहरू डराएका देखिन्छन् ।

संविधानमा ‘राइट टु रिजेक्ट’ को व्यवस्था गरेको भए अहिले सामाजिक सञ्जालमा आक्रोश पोखिने थिएन । अदालतको फैसलाबमोजिम प्रचलित निर्वाचन आयोग ऐन–२०७३ ले ‘राइट टु रिजेक्ट’ को अधिकार नराख्दा मतदाताले धेरै खराबमध्ये कम खराब रोज्ने मौलिक अधिकारमाथि बन्देज लगायो । बारम्बार देश र जनतामाथि भएको धोकाधडीपूर्ण व्यवहारबाट आजित भएका आम नागरिकले यही निर्वाचनबाट नेताहरूलाई विश्राम दिन चाहेका छन् ।

कसको किन विरोध ?

शेरबहादुर देउवा

कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा सातौंपटक निर्वाचनमा होमिएका छन् । देशको पाचौंपटक प्रधानमन्त्री भएका देउवालाई योपटक जनताले संसदमा देख्न चाहेका छैनन् । उमेरले ७७ वर्ष पार गरेका उनी निर्वाचनपछि पुनः प्रधानमन्त्री हुने दाउमा छन् । बुधबार डडेधुरामा सञ्चारकर्मीलाई जवाफ दिँदै अबको प्रधानमन्त्री आफू निर्विकल्प भएको दाबी गरेका छन् । जबकी उनी ५ पटकसम्म प्रधानमन्त्री हुँदा देशले गर्वलायक लायक कुनै पनि एउटा कामको लागि सम्झिने पात्रमा पर्दैनन् ।

‘अबको प्रधानमन्त्री पनि म नै हो । मेरो विकल्पमा कोही छैनन्’, उनले भने, ‘सुदूरपश्चिमबाट प्रधानमन्त्री हुने कोही पनि छैन । निर्वाचनपछि मेरै नेतृत्वमा सरकार बन्छ ।’ देउवाले आफू उठ्ने निर्वाचन क्षेत्रमा भनेका थिए ।

ज्योतिषीले सातौंपटक प्रधानमन्त्री बन्ने योग रहेको बताएपछि उनी झनै हौसिएका छन् । गठबन्धनका प्रमुख नेतासमेत रहेका उनी वर्तमान गठबन्धनबाट छैटौंपटक बन्न चाहेका छन् । डडेल्धुराको रुवाखोलामा २००३ साल जेठ ३१ मा जन्मिएका देउवालाई पाँचौपटक प्रधानमन्त्री बन्ने अवसर आएको हो । पाचौंपटक प्रधानमन्त्री हुँदासमेत देशको आर्थिक उन्नति र विकासमा केही काम नगरेको उनीमाथि आरोप छ ।
देउवा २०२० सालदेखि कांग्रेसको राजनीतिमा होमिएका थिए । उनी २०२८ सालमा नेविसंघको सभापति भए ।

२०४८ सालमा पहिलोपटक देउवाले डडेल्धुराबाटै सांसदमा जिते । सोही निर्वाचनपछि २०४८ सालमा गिरिजाप्रसाद कोइरालाको नेतृत्वको देउवा गृहमन्त्री बन्न पुगे । गृहमन्त्री बनेको चार वर्षपछि देउवा २०५२ सालमा पहिलोपटक प्रधानमन्त्री बने । त्यतिबेला उनी ४९ वर्षका थिए । उनी प्रधानमन्त्री भएकै बेला देशमा १० वर्षे माओवादी सशस्त्र विद्रोह भयो । राज्यकोषको दुरुपयोग गरी सांसदहरूलाई पजेरो वितरणमा उनी जोडिए । सांसद किनबेचको विकृत संस्किृतिले संसदीय प्रणाली नै बदनाम भयो । देशमा भ्रष्टाचार उनकै शासनकालमा मौलायो । ४९ जनाको जम्बो मन्त्रिमण्डल बनाएर राज्यको ढुकुटी रित्याउने काम भयो । राजनीतिक अस्थिरताको सुत्रधार उनकै पालाबाट भयो । एकातिर सशस्त्र माओवादी विद्रोहले उग्ररुप लिएको र अर्कोतिर राज्यसत्तामा चरम भ्रष्टाचारका कारण जनतामा निराशा बढ्दै गयो । जनतामा बढ्दो निराशाकाबीच तत्कालीन राजा ज्ञानेन्द्रले देउवा सरकार अपदस्थ गरे ।

२०५८ र २०६१ सालमा उतारचढावपूर्ण अवस्थामा प्रधानमन्त्री बनेका देउवा चौथोपटक २०७४ सालमा प्रधानमन्त्री भए । तर देउवाको कामबाट कोही पनि सन्तुष्ट भएनन् । छैटौंपटक डडेलधुराबाट निर्वाचन जितेपनि देशका लागि केही काम नगरेको भन्दै उनीमाथि चौतर्फी आलोचना भएको छ । योपटक देउवालाई विश्राम दिने भन्दै उनीविरुद्ध स्वतन्त्र उम्मेदवार सागर ढकालले उम्मेदवारी दिएका छन् । वृद्ध नेतालाई विश्राम दिएर युवा पुस्तालाई प्रधानमन्त्री बनाउनुपर्ने उनले अभियान नै चलाएका छन् ।

रामचन्द्र पौडेल

रामचन्द्र पौडेल प्रजातान्त्रिक आन्दोलनका नेता हुन् । तनहुँ क्षेत्र नं–१ बाट कांग्रेसका उम्मेदवार रहेका उनी प्रधानमन्त्री बन्ने दाउमा छन् । २०४८ यता लगातार सांसद रहेका उनी २०७४ मा पराजित भएका थिए । उनी २०४८ मा सभामुख भए । २०६३ मा गिरिजा नेतृत्वको अन्तरिम सरकारमा शान्ति तथा पुनर्निर्माण मन्त्री भए । उमेरले ७८ वर्ष पार गरेका उनको २०६८ मा प्रधानमन्त्री बन्ने प्रयास असफल भएको थियो । ३१ वर्षसम्म सत्ताको वरिपरी रहेर पनि देशका लागि केही गर्न नसकेको उनीमाथि आरोप छ । पौडेललाई योपटक जनाताले संसदमा देख्न चाहेका छैनन् । २०४८ सालयता पार्टी र देशको प्रमुख पदमा पुग्नुबाहेक पौडेल सत्ताबाट कहिल्यै बाहिर छैनन । तर उनमा एकपटक देशको प्रधानमन्त्री र पार्टीको नेतृत्वमा पुग्ने धोको अझै छ ।

विजयकुमार गच्छदार

संसदीय राजनीतिका चतुर खेलाडी विजयकुमार गच्छदार २०४८ देखि लगातार निर्वाचित सांसद हुन् । २०४८ मा गिरिजा नेतृत्वको सरकारमा सञ्चार राज्यमन्त्री भएका उनी त्यसयता १२ पटक मन्त्री र चारपटक उपप्रधानमन्त्री भइसेका छन् । २०१० साल माघ १९ गते सुनसरी–८ पचरामा जन्मेका उनी पहिलोपटक प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुँदा ३७ वर्षका थिए । उनले २०४८, ०५१, ०५६ को संसदीय निर्वाचन सुनसरी ३ बाट जितेका थिए । देउवापछि ३१ वर्ष सांसद रहेका उनी सुननसरी–३ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार छन् ।

सत्तामा रहेर राज्यकोषको दोहन गर्ने, भ्रष्टाचारीको संरक्षण गर्ने नेताको छवि बनाएका उनलाई योपटक जनताले संसदमा देख्न चाहेका छैनन् । गच्छदारलाई बालुवाटार जग्गा प्रकरणमा दोषी पाइएको भन्दै अख्तियारले ९ करोड ६५ लाख रुपैयाँ बिगो दाबीसहित विशेष अदालतमा उनीमाथि मुद्दा दायर गरेको थियो ।

६ पटक सांसद र १२ पटक मन्त्री भइसकेका गच्छदारलाई फेरि पनि सांसद बनेर राज्यसत्ताको स्वाद चाख्नुपरेको छ । यत्ति विवादास्पद छविको व्यक्तिलाई टिकट दिंदै गर्दा कांग्रेसबाट अघिल्लोपटक प्रत्यक्ष चुनाव जितेका डा. मीनेन्द्र रिजाललाई भने यसपटक टिकट दिइएन । यतिमात्रै होइन राजनीतिबाहिरबाट आएर देशको अर्थतन्त्रको विकासबारे गहिरो दृष्टिकोण राख्ने र समस्या समाधानको लागि लाग्न खोज्ने स्वर्णिम वाग्ले र डा. गोविन्दराज पोखरेलसमेत यसपटक टिकट पाएनन् । पाए उही बद्नामी बेहोर्दै आएका गच्छदारले ।

डा. शशांक कोइराला

बिपी कोइरालाका कान्छापुत्र हुन् शशांक कोइराला । शशांकले नवलपरासी १ बाट निरन्तर चुनाव जित्दै आएका छन् । उनी कांग्रेसमा पनि महामन्त्री भइसकेका छन् । तर उनी सांसद भएको र मन्त्री भएको फाइदा न उनको क्षेत्रले पाएको छ । न उनीबाट देशले नै कुनै योगदान पाएको छ । तर पनि फेरि उनी यसपटक नवलपरासी १ बाटै प्रतिनिधिसभाको उम्मेदवार बनेका छन् ।

उम्मेदवार मात्रै होइन आफू यसपटक प्रधानमन्त्रीको बलियो दाबेदार भएको उनले बुधबार मात्रै बताए । ‘पार्टीमा गगन थापाहरूले प्रधानमन्त्रीमा दाबी गर्ने बेला भइसकेको छैन’ उनले भने, ‘यसैले यसपटक प्रधानमन्त्रीको लागि म बलियो दाबेदार हुँ ।’ शशांकले यसो भनिरहँदा संसदमा उनको अघिल्लोपटकको उपस्थिति र संसदमा बोलेको रेकर्ड हेर्ने हो भने लाजलाग्दो स्थिति छ । किनकी उनी संसदमा नबोल्ने नेतामा पर्छन् । जनताको प्रतिनिधिले संसदमा बोल्दैन, जनताको समस्याका विषयमा बहस पैरवी गर्दैन भने फेरि पनि सांसद जितेर उनले के गर्लान् ?

प्रकाशमान सिंह

काठमाडौं–१ का उम्मेदवार प्रकाशमान सिंह कांग्रेसका लौह पुरुष गणेशमान सिंहका पुत्र हुन् । २०४८ यता लगातार संसदीय निर्वाचनमा सिंह उठेका छन् । सिंहले २०६४, २०७०, २०७४ को निर्वाचन जितेका छन् । कांग्रेसको प्रभावशाली नेता भएरपनि उनले निर्वाचित क्षेत्रमासमेत केही नगरेको आरोप छ । काठमाडौंको साँघुरो घेराबाट माथि उठ्न नसकेका उनी गणेशमानको पुत्र हुनुबाहेक केही गर्न सकेका छैनन् । तर पनि चुनाव जितेर एकपटक मुलुकको नेतृत्व गर्ने धङधङीबाट सिंह मुक्त छैनन् । जबकी यस अघि सधैं चुनाव जितेका उनले आफूले के गरें भनेर कुनै प्रभावकारिता देखाउन सकेका छैनन् । योपटक उनलाई राप्रपका उम्मेदवार रवीन्द्र मिश्र र स्वतन्त्र उम्मेदवार पुकार बम, रमेश खरेलसहितले चुनौती दिएका छन् ।

एमाले
केपी ओली

समकालीन राजनीतिका चतुर र धुर्त नेता मानिएका एमाले अध्यक्ष केपी ओली आगामी निर्वाचनबाट तेस्रोपटक प्रधानमन्त्री बन्ने दाउमा छन् । २०४८, ०५१, ०५६ झापा–७ बाट प्रतिनिधिसभा निर्वाचन जितेका ओलीले २०६४ को संविधानसभा निर्वाचनमा झापा–६ बाट पराजित भएका थिए । २०७० र २०७४ को निर्वाचन झापा–६ र क्षेत्र नं. ५ बाट निर्वाचित भएका थिए । दुईपटक एमाले अध्यक्ष भएका ओली २०७४ को निर्वाचनमा दुईतिहाइ वामपन्थी सरकारको शक्तिशाली प्रधानमन्त्री भए । ४१ महिनामै उनको सरकार ढल्यो । उनी कामभन्दा बढी गफ दिने नेताका रुपमा परिचित छन् । एउटै कार्यकालमा दुईपटक संसद विघटन गरी उनी आलोचित भए । भ्रष्टाचारीलाई संरक्षण दिएको, राजनीतिक अस्थिरता निम्ताएको, अहंकार, दम्भ र विपक्षीमाथि अराजनीतिक व्यवहार देखाएको उनीमाथि आरोप छ ।

ईश्वर पोखरेल

एमालेका वरिष्ठ उपाध्यक्ष रहेका ईश्वर पोखरेल काठमाडौं–५ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार छन् । सरकारका उपप्रधानमन्त्रीसमेत भएका उनीमाथि राज्यकोष दुरुपयोग गरेको आरोप छ । शाहीकालमा मन्त्री हुँदा आर्थिक अपचलन गरेको, कोरोना महामारीमा ओम्नी गु्रपमार्फत आर्थिक अपचलन गरेको उनीमाथि आरोप छ । पोखरेल २०४८ साल यता संसदीय निर्वाचनमा भाग लिएका नेता हुन् । उनी उद्योग, बाणिज्य तथा आपूर्तिमन्त्री, रक्षा तथा उपप्रधानमन्त्री भइसको नेता हुन् । जनतामाझ निकै आलोचित रहेका उनलाई जनताले यसपटक सांसदमा रुचाएका छैनन् ।

शंकर पोखरेल

एमालेका महासचिव रहेका शंकर पोखरेल योपटक दाङ–२ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवार रहेका छन् । २०७४ को निर्वाचपछि लुम्बिनी प्रदेशमा ४२ महिना मुख्यमन्त्री भए । एमालेका प्रभावशाली नेता र भविष्यका उत्तराधिकारीका रुपमा हेरिएका उनलाई ओलीको हरेक कामको साक्षी बस्ने गरेको आरोप लागेको छ । सकारात्मक काममा मात्र होइन नकारात्मक काममा पनि ओलीको साक्षी बनेको भन्दै उनीमाथि प्रश्न उठ्ने गर्छ । मुख्यमन्त्री हुँदा पदमा टिक्नका लागि पैसा र पावरको दुरुपयोग गरेको, संविधान विपरीत मुख्यमन्त्री दोहोरिएको विपक्षीले आरोप लगाएका छन् । संविधानले व्यवस्था गरेको नयाँ प्रावधानको संघीयतालाई थप मझबुत र बलियो बनाउने अपेक्षासहित उनी केन्द्रीय राजनीतिबाट प्रदेशमा झरेका थिए । तर एउटा बलियो र जिम्मेवार नेताले देखाउनुपर्ने व्यवहार र परिपक्वता नदेखाए पोखरेल मुख्यमन्त्रीबाट बद्नाम हुँदै बाहिरिन पुगे । अनेरास्ववियुको राजनीतिबाट उदाएका उनी २०४८ यता संसदीय निर्वाचनमा भाग लिँदै आएका छन् ।

गोकुल बाँस्कोटा

गोकुल बाँस्कोटा राष्ट्रिय राजनीतिमा शक्ति र चर्चाको शिखरमा जति छिटो चढे उति छिटो झरे । अर्थात बलिया र प्रभावशालीलाई पछि पार्दै छिटो माथि पुगे । तर धेरैसमय टिक्न सकेनन् । अध्यक्ष ओलीसँगको गहिरो सम्बन्धनका कारण छिट्टै माथि पुगे । तर विवादपछि उनी लामो समय नअडि एक्कासी ढल्न पुगे ।

सांसद र केन्द्रीय सदस्य भएको लामो समयपछि अरु नेताले एमालेमा थोरैमात्रै अवसर पाउने गरेका छन् । तर गोकुलका लागि भने ओलीसँगको विशेष सम्बन्धनले लो प्रोफाइनलमा उच्च पद दिइएपछि एमालेभित्रै तीव्र असन्तुष्टि थियो । तर ओली र गोकुलको विशेष सम्बन्धका कारण कसैले मुख खोल्न भने सक्दैनथे ।

संचार मन्त्री भएकै बेला सेक्युरिटी प्रेस खरिदमा ७० करोडको घुस बार्गेनिङ गरेको अडियो बाहिरिएपछि गोकुलको ओरालो यात्रा सुरु भयो । त्यसैले जबर्जस्त प्रभाव एकाएक खस्कियो । शक्तिशाली दुई तिहाई हाराहारी मतको प्रधानमन्त्री हुँदासमेत ओलीले नै गोकुललाई बचाउन सकेनन् । त्यही अडियोले गर्दा नैतिकताको आधारमा उनले राजीनामा दिए । छानविन गरेर उनलाई दोषी वा निर्दोष के हो प्रष्ट्याउने काम भएन । यसैले आज पनि गोकुलमाथि थुप्रै नैतिक प्रश्न उठिरहेका छन् ।

छोटो समयमा अत्याधिक शक्ति र सामथ्र्य प्राप्त गर्नुका कारण आफ्नै विरासत र शक्तिभन्दा ओलीको धाप धेरै थियो । यसैले उनी सत्ता र शक्तिको शिखरमा चढे पनि उनलाई ठूलो राजनीतिक क्षति पुर्यायो । आरोप लागिसकेपछि यो मुद्दाले किनारा नपाउँदा विरोधी र आलोचकलाई यही ७० करोडको विषयले उनीविरुद्ध प्रश्न उठाउने ठाउँ दिएको छ ।

यसपटक उनै विवादास्पद छविका गोकुल काभ्रे २ बाट कांग्रेस उम्मेदवार शिवप्रसाद हुमागाईंसँग प्रतिस्पर्धा गर्दैछन् । २०७० सालमा यही क्षेत्रबाट पराजित भएका उनी २०७४ सालमा भने यही क्षेत्रबाट जित्न पुगेका थिए ।

चुनाव जितेलगत्तकै संसद र पार्टीको केन्द्रीय राजनीतिमा ओलीले बाँस्कोटालाई स्थापित गरेका थिए ।

ओलीलाई गलत काम गर्न उक्साउने र गलत सल्लाह दिने नेताका रुपमा समेत गोकुल अगाडि छन् । आफूमाथि लागेको ठूलो चार्जको टुंगो नलाग्दै उनी उम्मेदवार भएकोले यसपटक उनलाई संकट देखिएको छ ।

भानुभक्त ढकाल

पूर्वस्वास्थ्यमन्त्री एवं एमाले नेता भानुभक्त ढकाललाई जनताले योपटक संसदमा देख्न चाहेका छैनन् । ओली सरकारको पालामा स्वास्थ्यमन्त्री रहेका ढकालमाथि कोरोना महामारीको अवसर छोपेर स्वास्थ्य सामाग्रीमा आर्थिक अपचलन गरेको आरोप छ । अघिल्लो निर्वाचनमा मोरङ–३ बाट निर्वाचित भएका उनी योपटकपनि सोही क्षेत्रबाट उम्मेदवार बनेका छन् । मानवीय संवेदना देखाउनुपर्ने बेलामा उल्टै अनियमितता गरेको र मानवीय बन्न नसकेको भन्दै बदनाम छन् ।

माओवादी
प्रचण्ड

उमेरले ६८ वर्ष पार गरेका माओवादी अध्यक्ष प्रचण्ड योपटक गोरखा–२ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार बनेका छन् । उनी २५ वर्ष भूमिगत राजनीति गरी २०६२ सालमा शान्तिपूर्ण राजनीतिमा आएका थिए । २०५२ सालमा सञ्चालित १० वर्षे सशस्त्र विद्रोहको नेतृत्व गरे । २०६२ मा तत्कालीन सात दल र विद्रोही माओवादीबीच भएको १२ बुँदे सहमतिको जगमा २०६२÷६३ को जनआन्दोलन भयो । सोही आन्दोलनले नेपालबाट २४० वर्षे राजसंस्था अन्त्य गरायो ।

२०६४ को पहिलो संविधानसभा निर्वाचनमा काठमाडौं–१० र रोल्पा–२ बाट अत्याधिक मतसहित विजयी भएका थिए । २०७० मा भएको दोस्रो संविधानसभा निर्वाचनमा काठमाडौं–१० र सिराहा–५ बाट निर्वाचनमा उठेका थिए । काठमाडौंबाट शर्मनाक हार व्यहोरेका उनी सिराहाबाट भने विजयी भएका थिए ।

२०७४ को निर्वाचनमा एमालेसँग सहकार्य गरी वाम गठबन्धनबाट निर्वाचनमा भाग लिएका थिए । आफ्नै गृहजिल्ला चितवन–३ बाट उनले चुनाव जितेका थिए । उनी २०६५ र २०७३ मा दुईपटक प्रधानमन्त्री भएका थिए । युद्धबाट आएका नेता सत्तामा पुगेपछि आफू र परिवारबाहेक केही नगरेको भन्दै उनीसँग जनता आक्रोसित रहेका छन् । प्रत्येकपटक निर्वाचन क्षेत्र परिवर्तन गर्दै आएका उनी चितवन–३ मा पराजित हुने डरले गोरखा पुगेका हुन् ।

उनी निर्वाचनपछि तेस्रोपटक प्रधानमन्त्री हुने दाउमा छन् । उनीमाथि भ्रष्टाचारलाई संरक्षण गरेको, राजनीतिक अस्थिरता कारक भएको, जनतासँग धेरै प्रतिवद्धता जनाउने तर काम कुनै पूरा नगर्ने नेताको रुपमा उनी चिनिएका छन् । समकालीन राजनीतिका चतुर खेलाडी रहेका उनी एमाले र कांग्रेसको अन्तर्विरोधमा खेलेर फाइदा लिने गरेको आरोप छ । जनतामाझ चर्को आलोचनाको शिकार हुँदै आएका उनलाई योपटक संसदमा देख्न जनताले चाहेका छैनन् । तर जित्नकै लागि उनी सहज निर्वाचन क्षेत्र खोज्दै गोरखा पुगेका हुन् । सत्ता राजनीतिको खेलमा तेस्रो दल हुँदै फेरि प्रधानमन्त्री हुने र आफूलाई केन्द्रमा राख्ने दाउमा उनी छन् ।

गिरिराजमणि पोखरेल

माओवादी केन्द्रका उपमहासचिव गिरिराजमणि पोखरेल संसदीय राजनीतिमा सबैभन्दा बढी फाइदा लिने नेतामध्ये एक हुन् । माओवादी केन्द्रमा लगातार चुनाव जित्ने र सरकारमा पनि अवसर पाइरहने नेता मध्येमा उनी पर्छन् । २०६४ र २०७० मा एकल रूपमा महोत्तरी क्षेत्र नम्बर १ मा चुनाव जितेका उनी २०७४ मा वाम गठबन्धनको बलमा निर्वाचन जितेका थिए । उनी आगामी निर्वाचनमा वाम–लोकतान्त्रिक गठबन्धनबाट सोही क्षेत्रका उम्मेदवार रहेका छन् । पटक–पटक नेपाल सरकारको स्वास्थ्य र शिक्षामन्त्री भएका उनीमाथि उत्कृष्ट काम गर्न नसकेको उनीमाथि आरोप लागेको छ । वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठको नजिक रहेर माओवादीभित्र अवसर लिने नेताका रुपमा चिनिएका छन् ।

पम्फा भुसाल

उर्जामन्त्री पम्फा भुसाल माओवादीभित्र फाइदा लिने महिला नेतृमध्ये एक हुन् । माओवादीका उपमहासचिसमेत रहेकी उनी २०६४ को संविधानसभा निर्वाचनमा ललितपुर–३ बाट विजयी भएकी थिइन् । २०७० को दोस्रो संविधानसभा निर्वाचनमा वैद्य माओवादीमा लागेर निर्वाचन बहिस्कार गरेकी थिइन् । २०७४ मा बादलसमूहसँगै माओवादीमा फर्किएकी उनी सोही क्षेत्रबाट निर्वाचित भइन् । अहिले वाम–लोकतान्त्रिक गठबन्धनबाट उम्मेदवार रहेकी उनी निर्वाचन जित्न कठिन देखिन्छ । पटक–पटक मन्त्री र सांसद भएपनि उनीसँग जनता सन्तुष्ट देखिँदैनन् ।

एकीकृत समाजवादी
माधव नेपाल

माधव नेपाल एमालेमा झण्डै १५ वर्ष महासचिव भएका पूर्वप्रधानमन्त्री नेपाल २०६४ को संविधानसभा निर्वाचनमा काठमाडौं–२ र रौतहट–१ बाट पराजित भएपछि पदबाट राजीनामा दिएका थिए । एमाले ३३ सिटमा खुम्चिएको थियो । दुवै क्षेत्रबाट पराजित भएपनि प्रधानमन्त्री बन्ने सौभाग्य नेपाललाई मिलेको थियो ।

२०४८, २०५१, २०५६, २०७० को निर्वाचनमा काठमाडौं र रौतहटबाट निर्वाचित भएका थिए । २०७४ को निर्वाचनमा काठमाडौं–२ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए । योपटक काठमाडौं–२ छाडेर गृहक्षेत्र रौतहट–१ बाट उम्मेदवार रहेका उनलाई आमनागरिकले रुचाएका छैनन् । उनीमाथि ललिता निवासप्रकणमा नीतिगत भ्रष्टाचार गरेको आरोप लागेको छ । एमाले नेतृत्वको सरकार ढालेर देउवालाई प्रधानमन्त्री बनाएको, राजनीतिक अस्थिरतालाई मलजल गरेको, पार्टी फुटाएको लगायतको आरोप छ ।

झलनाथ खनाल

पूर्वप्रधानमन्त्री झलनाथ खनाल पटक–पटक सांसद र प्रधानमन्त्री भएपनि आर्थिक उन्नति विकास र समृद्धिमा कुनै भूमिका नखेलेको आरोप लागेको छ । उमेरले ७२ वर्ष पार गरेका खनाल स्वास्थ्य उपचार र सर्पदशं पालनमा राज्यकोषको दुरुपयोग गरेकोमा उनी निकै आलोचित छन् । खनाल २०६८ मा माओवादीको सहयोगमा प्रधानमन्त्री भएका थिए इलाम–१ बाट २०४८, ०५१, ०६४, ०७० र ०७४ को निर्वाचन जितेका थिए । २०५६ को निर्वाचनमा पराजित भए । आइतबार हुने निर्वाचनलाई उनले जीवनकै अन्तिम निर्वाचन भनेका छन् । खनाललाई गठबन्धनले सहयोग गरेको छ । उनी बुटवलमा भएको एमालेको आठौं महाधिवेशनबाट अध्यक्षमा निर्वाचित भएका थिए ।

मधेशवादी दल

जसपाका अध्यक्ष उपेन्द्र यादव २०६४ यता प्रत्येक सरकारमा उपप्रधान तथा शक्तिशालीमन्त्री भए । २०६३ को मधेश आन्दोलनबाट स्थापित भएका उनी मधेशको एजेण्डा बेचेर व्यक्तिगत फाइदा उठाएको आरोप छ । २०६४, २०७०, २०७४ को सप्तरी–२ र सुनसरीबाट निर्वाचन जितेका थिए । सत्ताको स्वार्थमा मधेश आन्दोलन कमजोर पारेको, क्षेत्रीय अहंकारबादबाट माथि उठ्न नसकेको, राजनीतिक विचौलियाको भूमिका खेलेको उनीमाथि आरोप लाग्ने गरेको छ । एक वर्षसम्म गठबन्धनलाई साथ दिएका उनी निर्वाचनको पूर्वसन्ध्यामा एमालेसँग चुनावी तालमेल गरेका थिए ।

राष्ट्रिय सद्भावना पार्टीबाट राजनीतिमा स्थापित भएका लोसपाका नेता राजेन्द्र महतो पटक–पटक मन्त्रीको अफर पाउने नेतामध्ये एक पर्छन् । मधेशवादी दलका चर्चित ने२०४८ यता संसदीय राजनीतिमा भाग लिएका छन् ।

मधेशवादी दल
उपेन्द्र यादव

जसपाका अध्यक्ष उपेन्द्र यादव २०६४ यता प्रत्येक सरकारमा उपप्रधान तथा शक्तिशालीमन्त्री भए । २०६३ को मधेश आन्दोलनबाट स्थापित भएका उनी मधेशको एजेण्डा बेचेर व्यक्तिगत फाइदा उठाएको आरोप छ । २०६४, २०७०, २०७४ को सप्तरी–२ र सुनसरीबाट निर्वाचन जितेका थिए । सत्ताको स्वार्थमा मधेश आन्दोलन कमजोर पारेको, क्षेत्रीय अहंकारबादबाट माथि उठ्न नसकेको, राजनीतिक विचौलियाको भूमिका खेलेको उनीमाथि आरोप लाग्ने गरेको छ । एक वर्षसम्म गठबन्धनलाई साथ दिएका उनी निर्वाचनको पूर्वसन्ध्यामा एमालेसँग चुनावी तालमेल गरेका थिए ।

राजेन्द्र महतो

राष्ट्रिय सद्भावना पार्टीबाट राजनीतिमा स्थापित भएका लोसपाका नेता राजेन्द्र महतो पटक–पटक मन्त्रीको अफर पाउने नेतामध्ये एक पर्छन् । मधेशवादी दलका चर्चित नेता रहेका उनी राष्ट्रिय दलसँग मिलेर उपप्रधानमन्त्री, स्वास्थ्य, उद्योग तथा बाणिज्यजस्ता शक्तिशाली मन्त्री भएका छन् । २०४८ यता संसदीय राजनीतिमा भाग लिएका उनी योपटक सर्लाही–२ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार छन् । उनले माधेशलगायत समग्र मुलुकको विकासमा ध्यान नदिएको आरोप छ ।

महन्थ ठाकुर

उमेरले ८२ वर्ष पार गरेका लोसपा अध्यक्ष महन्थ ठाकुर गठबन्धनको सहयोगमा महोत्तरी–३ बाट उम्मेदवार भएका छन् । महोत्तरीको पिपरा गाउँपालिकास्थित एकरहियामा जन्मेका महन्थ ठाकुर नेपाली काँग्रेस छाडेर तमलोपाको अध्यक्ष हुँदै मधेसको राजनीतिमा आएका हुन् । ठाकुरको राजनीतिक पृष्ठभूमि काँग्रेस हो । काँग्रेसमा उनको यात्रा २०१६ मा विद्यार्थी राजनीतिबाट सुरु भयो । काँग्रेसको कोषाध्यक्ष र विज्ञान तथा प्रविधि मन्त्री छाडेर २०६४ सालमा उनी मधेसको राजनीतिमा हेलिएका हुन् । राजनीतिमा शान्त र शालिन देखिने महन्थ क्षेत्रीय अहंकारले भरिएको नेताका रुपमा चिनिएका छन् । कांग्रेस नेतृत्वको सरकारमा पटक–पटक अवसर पाएपनि प्रभावकारी काम गर्न नसकेको आरोप लागेको छ ।

शरतसिंह भण्डारी

लोसपाका प्रभाशाली नेता रहेका शरतसिंह भण्डारी कांग्रेसको राजनीतिबाट खारिएका नेता हुन् । उनी मधेश आन्दोलनताका मधेशी जनअधिकार फोरममा प्रवेश गरेका थिए । पटक–पटक सरकारमा रहेर पनि उनले काम गर्न नसकेको आरोप लागेको छ । उनी २०४८ यता पटक–पटक सांसद भएका छन् । योपटक महोत्तरी–२ बाट उम्मेदवार रहेका छन् । २०६८ मा बाबुराम नेतृत्वको सरकारमा रक्षामन्त्री हुँदा राष्ट्रियतामाथि आँच आउने अभिव्यक्ति दिएपछि उनी निकै आलोचित भएपछि पदबाट राजीनामा दिएका थिए ।

हृदयेश त्रिपाठी

लामोसमय सदभावना पार्टीमा रहेर राजनीति गरेका जन प्रगतिशल पार्टीका अध्यक्ष हृदयेश त्रिपाठी योपटक पनि एमालेको सहयोगमा नवलपरासी पश्चिमबाट उठेका छन् । २०७४ मा एमालेकै सूर्य चिन्हबाट निर्वाचन जितेका उनी ओली सरकारको पालामा उद्योगमन्त्री थिए । २०४८ देखि लगातार संसदीय निर्वाचनमा भाग लिएका उनले पटक–पटक मन्त्री भएका छन् । त्रिपाठीले २०६३ सालमा प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको सरकारमा मन्त्री रहेकै वेला राजीनामा दिएर महन्थ ठाकुरको नेतृत्वमा गठित तराई मधेश लोकतान्त्रिक पार्टीको सह–अध्यक्ष बनेका थिए ।

कमल थापा

नेपाली राजनीतिमा मुसा प्रवृत्तिका नेताका छवि बनाएका राप्रपा नेपालका अध्यक्ष कमल थापा राजतन्त्र र गणतन्त्रको दुवै व्यवस्थामा फाइदा लिने नेता गनिन्छन् । ज्ञानेन्द्रको सक्रिय शासन कालमा गृहमन्त्री रहेका उनी २०६२/०६३ को जनआन्दोलन दबाउन प्रमुख भूमिका खेलेका थिए । तर उनी व्यक्ति प्रचण्ड नेतृत्वको दोस्रो कार्यकालमा उप्रधान तथा स्थानीय विकासमन्त्री भएर गणतन्त्रको हुर्मत लिए ।

०५२ मा देउवा नेतृत्वको सरकारमा कानुन न्याय तथा संसदीय व्यवस्था र स्थानीय विकासमन्त्री भएका उनी लोकेन्द्र, सूर्यबहादुर, ज्ञोनेन्द्र, ओली र देउवा नेतृत्वको सरकारमा आठौंपटक उपप्रधानसहित मन्त्री भए । संवैधानिक राजतन्त्र र हिन्दुराष्ट्रको चर्को वकालत गरेका थापा गतवर्ष अध्यक्षमा पराजित भएपछि पार्टी परित्याग गरेका थिए । उनी अहिले मकवानपुर–१ बाट एमालेको सूर्य चिन्हबाट उम्मेदवार भएका छन् । उनीमाथि राजनीतिक नैतिकता बेचेको, सत्तास्वार्थका लागि जोसँग पनि साँठगाँठ गर्ने गरेको आरोप लागेको छ ।