NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २७ गते

शानदार जितसहित यूएईविरुद्धको सिरिज नेपाललाई

काठमाडौं । ब्याटिङमा आशिफ शेख र ज्ञानेन्द्र मल्ल चम्किएपछि नेपालले यूएईविरुद्धको एकदिवसीय सिरिज जितेको छ ।

पहिलो दुई खेलमा एकएकको बराबरीपछि कीर्तिपुरस्थित मैदानमा अन्तिम खेल ६ विकेटले शानदार रूपमा जित्दै नेपालले सिरिज २–१ ले जितेको हो ।

नेपालको जितमा आशिफ शेखले अविजित सर्वाधिक ८८ रन बनाए । ज्ञानेन्द्र मल्लले ६४ रनको पारी खेले । नेपालले ४० ओभरमै खेल जितेकाे हाे ।

अर्जुन साउद ९ रनमै आउट भएपछि आशिफ र मल्ले अर्धशतकीय पारी खेल्ने क्रममा एक सय बढी रनको साझेदारी गरेका हुन् ।

कप्तान भएपछिको पहिलो सिरिज नै जित्न रोहित पौडेल सफल भएका छन् । तर उनी आफैंले भने यो सिरिजमा उल्लेख्य प्रदर्शन गर्न सकेनन् । उनले तीन खेलमा १९ रनमात्रै बनाए ।

छिटाे जित निकाल्ने क्रममा राेहित र दीपेन्द्रसिंह ऐरी रनआउट भए ।

बलरको उत्कृष्ट प्रदर्शन

टस जितेर नेपालले पहिले बलिङ रोजेको थियो । बलिङ रोज्ने नेपालको निर्णय सही सावित पनि भयो । यूएईको १६ रन हुँदा नेपालले ३ विकेट लिइसकेको थियो । तर अर्को विकेट लिन ७९ रनसम्म पर्खनुपर्यो । यस बेलासम्म यूएई कमजोर अवस्थामा थिएन । तर चौथो विकेट गुमेपछि १३ रन थप जोड्दा यूएईले अर्को पाँच विकेट पनि गुमायो । यसले गर्दा नेपालले एक सय हाराहारीको मात्रै लक्ष्य पाउने हो कि भन्ने देखिएको थियो । तर आयान खान र हजरत विलालले महत्वपूर्ण इनिङ खेले ।

अन्तिम विकेटका लागि उनीहरूले ८३ रनको साझेदारी गरेका थिए । जसका कारण युएईले नेपाललाई १७७ रनको लक्ष्य दिएको हो । ३१.१ ओभरमा ९ विकेट गुमाइसकेको यूएईले पूरै ५० ओभर नै खेलेर ९ विकेट क्षतिमा १७६ रन बनाएर नेपाललाई चुनौती दिएको थियो । यूएईको लागि अलिसान सराफुले ३३, रोहन मुस्तफाले २४ र महम्मद वसिमले ११ रन बनाए ।

आयानले ५४ र बिलालले २० रन जोडेका थिए ।

नेपालको लागि गुल्सन झा, दीपेन्द्रसिंह ऐरी र कुशल भुर्तेलले समान २/२ विकेट लिए । ललित राजवंशी र सोमपाल कामीले पनि एकएक विकेट लिएका छन् ।

यस अघिको दुई खेलमा पहिलोमा यूएई र दोस्रो नेपाल विजयी भएका थिए । पहिलोमा यूएई ८४ रनको फराकिलो अन्तरले विजयी भएको थियो । दोस्रोमा नेपाल ३ विकेटले विजयी भएको थियो ।

तेस्रोमा सहज जित हात पारेपछि नेपालले उपाधि आफ्नो पोल्टामा पारेको हो ।

ताजा अपडेट

नेपालवाच विशेष