NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १८ गते

२१ विश्वकपमा ८ राष्ट्रले मात्रै जितेका छन् उपाधि, कसले कतिपटक जिते ? को अभागी भए ?

काठमाडौं । मध्य एसियाली देश कतारमा विश्वकप फुटबलको मेला अबको दुई दिनपछि सुरु हुँदैछ । यसपटक ३२ देश विभिन्न ८ वटा समूहमा विभाजित भएर विश्वकप खेल्दैछन् । यो विश्वकपको २२ औं संस्करण हो ।

यस अघिका २१ विश्वकपमा धेरै देशले सहभागिता जनाएका छन् । तर अहिलेसम्म जम्मा ८ वटा देशले मात्रै विश्वकपको उपाधि उठाएका छन् ।
जसमा ब्राजिल सबैभन्दा बढी पाँचपटक यो उपाधिमाथि कब्जा जमाएको छ । १९५८, १९६२, १९७०, १९९४ र २००२ गरी पाँचपटक यो उपाधि जितेको छ । सातपटक फाइनल खेल्दा ब्राजिलले पाँचपटक उपाधि जितेको हो ।

जर्मनीले चारपटक यो उपाधि जितेको छ । जर्मनीले १९५४, १९७४, १९९० र २०१४ मा गरी चारपटक यो उपाधिलाई पोल्टामा पारेको छ । जर्मनीले सबैभन्दा धेरै अर्थात ८ पटक फाइनल खेल्दा चारपटक उपाधि जित्यो ।

इटालीले चारपटक नै यो उपाधि जितेको छ । ६ पटक फाइनल खेल्दा चारपटक जितेको हो ।

इटालीले १९३४, १९३८, १९८२ र २००६ गरी चारपटक नै यो उपाधि रक्षा गरेको छ ।

अर्जेन्टिनाले १९७८ र १९८६ गर गरी दुईपटक यो उपाधि जितेको छ । अर्जेन्टिनाले ५ पटक फाइनल खेल्दा दुईपटक उपाधि जितेको हो ।

फ्रान्सले पनि १९९८ र २०१८ को विश्वकप जितेको छ । फ्रान्सले तीनपटक फाइनल खेल्दा दुईपटक जित्यो ।

उरुग्ले पनि १९३० काे पहिलो र १९५० मा गरी दुईपटक यो उपाधि हात पारेको छ । उरुग्वेले दुईपटक खेल्दा दुवैपटक बाजी मार्यो ।

यी बाहेक एकएकपटक विश्वकप जित्नेमा इंग्ल्यान्डले १९६६ मा, स्पेनले २०१० मा विश्वकप जिते । पहिलोपटक फाइनलमा पुग्दा नै यी दुई टिमले उपाधि जितेका हुन् ।

जो भाग्मानी ठहरिएनन्

तीनपटक फाइनल खेलेर पनि नेदरल्यान्डसले अहिलेसम्म विश्वकप जित्न सकेको छैन । १९७४, १९७८ र २०१० मा फाइनलमा पुगेर पनि नेदरल्यान्डसले उपाधि जित्न सकेन । तीनपटक फाइनलमा पुगेर पनि उपाधि नजित्ने टोलीका रुपमा नेदरल्यान्डस् जहिल्यै अभागी टोली मानिन्छ ।

२०१४ मा पनि अर्जेन्टिनासँग पेनाल्टी सुटआउटमा पराजित भएपछि नेदरल्यान्डस् विश्वकपको फाइनलमा पुग्नबाट चुकेको थियो ।
चेकोस्लोभाकिया र हंगेरीले दुईदुईपटक फाइनल खेले तर उपाधि जित्न सकेनन् ।

स्वीडेन र क्रोएसिया एकएकपटक फाइनल पुगे तर उपाधि जितेनन् ।