NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १७ गते

मतदान केन्द्र अपाङ्गतामैत्री नहुँदा समस्या

मध्यबिन्दु । पूर्वी नवलपरासी कावासोती-६ विष्णुनगरस्थित ९० वर्षीया पवित्रा काफ्लेले मतदान गरेकी छन् । मतदान महत्वपूर्ण भएकाले मतदान गर्न आएको काफ्लेले बताइन् ।

शारीरिक रुपमा अशक्त पनि ‘ह्विलचियर’को साहारामा मतदान केन्द्रसम्म आइ मतदान गर्न पाउँदा खुसी लागेको काफ्ले बताइन् । कावासोती–६ विष्णुनगरको जनता माध्यामिक विद्यालयमा रहेको मतदान केन्द्रमा उनले मत खसालिन्।

कावासोतीकै गोमता भूर्तेल पनि शारीरिकरुपमा अशक्त छिन् । उनी पनि ‘ह्विलचियर’ प्रयोग गर्छिन । तर गत स्थानीय तहको निर्वाचनमा मतदानस्थल अपाङ्गमैत्री नहुँदा उनलाई मत खसाल्न गाह्रो भयो ।

देवचुली-१५ कि ८८ वर्षे ज्ञानकुमारी श्रेष्ठ पनि ‘ह्विलचियर’ बिना आवतजावत गर्न सक्दैिनन् । उनले मताधिकारको सहजताका लागि अपाङ्गतामैत्री मतदान केन्द्र हुनुपर्ने बताइन । समथर स्थानमा भन्दा पहाडी भेगमा मतदान केन्द्रसम्म पुग्न अपाङ्ग व्यक्तिहरुलाई असहजता हुने उनको भनाइ छ ।

कावासोतीका दलबहादुर पाण्डे दृष्टिविहीन छन् । उनी अरुको सहायतामा नभइ आफैँ मत हाल्न मन छ । त्यो व्यवस्था अहिले नभएकाले त्यो सम्भव भएन । प्रविधिको प्रयोग र डिजिटल माध्यमबाट मत हाल्ने व्यवस्था भए दृष्टिविहीनलाई सहज हुने उनको तर्क छ ।

देशभर कुल मतदातामध्ये दुई प्रतिशत अर्थात् करिब तीन लाख ६० हजार अपाङ्गता भएका छन् ।