NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १३ गते

सिके राउतको फड्को : कोर्ष करेक्सन हुँदै संसदसम्म

सप्तरी । विखण्डनको मुद्दा छाडेर मूलधारको राजनीतिमा फर्किनुभएका जनमत पार्टीका अध्यक्ष डा सिके राउत (चन्द्रकान्त राउत) प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । अघिल्लो सरकारसँग सम्झौता गरी मूलधारको राजनीतिमा युटर्न भएका डा राउतको पहिलोपटक जनप्रतिनिधिको रुपमा संसद् भवनमा प्रवेश पाएका हुन् ।

डा राउतले जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवलाई १८ हजारभन्दा बढी मतान्तरले पराजित गर्दै सप्तरी क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् ।

मतगणनाको अन्तिम परिणामअनुसार डा. राउतले ३५ हजार ४२ मतसहित निर्वाचित हुँदा यादवले १६ हजार नौ सय ७९ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत हेमन्त रावलले जानकारी दिए । सत्तारुढ पाँच दलीय गठबन्धनका साझा उम्मेदवार लोसपाका नेता जयप्रकाश ठाकुरले भने सात हजार तीन सय ४४ मत मात्र प्राप्त गरे । कूल ९५ हजार तीन सय ४४ मतदाता रहेको सो क्षेत्रमा गत आइतबार सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा ६४ हजार पाँच सय ६० मत खसेको थियो ।

को हुन् डा सिके राउत ?

जनमत पार्टीका अध्यक्ष राउत सप्तरीको महदेवा गाउँपालिकाका स्थायी बासिन्दा हुन् । संयुक्त राज्य अमेरिकाबाट नासाको वैज्ञानिक पेसा छाडेर एक दशकअघि उनी नेपाली राजनीतिमा प्रवेश गरेका हुन् ।

बेलायतको क्याम्ब्रिज युनिभर्सिटिबाट विद्यावारिधि गरेका ४३ वर्षीय डा राउत अमेरिकामा बसेर काम गर्दै आएका थिए ।

राजनीति गर्ने उद्देश्यले सन् २०११ मा नेपाल फर्किएका डा राउत ‘स्वतन्त्र मधेस’ स्वराजको अभियान बोकेर देशव्यापी सङ्गठन निर्माणमा जुटेका थिए ।

स्वतन्त्र मधेस गठबन्धन नामक पार्टी स्थापना गरेर छ वर्ष लामो अभियान चलाएका डा राउत सो क्रममा पटक–पटक राज्य विप्लवको मुद्दामा पक्राउ परेर जेलसमेत परे । गत २०७५ साल फागुन २४ मा केपी शर्मा ओली नेतृत्वको तत्कालीन सरकारसँग ११ बुँद्दे सहमति गरेर मूलधारको राजनीतिमा उनी सहभागी भए ।

त्यसपश्चात् उनले स्वतन्त्र मधेस गठबन्धन पार्टी विघटन गरी जनमत पार्टी गठन गरे । निरन्तर सङ्गठन विस्तारमा जुटेका डा. राउत सङ्गठनकै बलमा चुनावी मैदानमा उत्रिएका थिए । डा. राउत नेतृत्व जनमत पार्टी नेपाली राजनीतिमा यतिबेला नयाँ शक्तिको रुपमा उदाएको देखिन्छ ।

शिक्षा, स्वास्थ्य, रोजगारी र कृषि क्षेत्रको विकास गर्नु प्रमुख लक्ष्य हो : डा राउत

सप्तरीको क्षेत्र नम्बर २ बाट नवनिर्वाचित प्रतिनिधिसभा सदस्य तथा जनमत पार्टीका अध्यक्ष डा राउतले शिक्षा, स्वास्थ्य, रोजगारी र कृषि क्षेत्रको विकास नै आफ्नो प्रमुख लक्ष्य भएको बताए ।

राजविराजस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयबाट निर्वाचित भएको प्रमाणपत्र प्राप्त गरेपछि सञ्चारकर्मीसँग संक्षिप्त कुरा गर्नुहुँदै डा राउतले आफ्नो पहिलो एजेण्डा नै शिक्षा, स्वास्थ्य, रोजगारी र किसानको समस्या समाधान गर्नुरहेको बताए ।

“मलाई सप्तरीका जनताले यी एजेण्डामा काम गर्नकै लागि जनादेश दिएका छन्”, उनले भने, “जनताको विश्वास र भरोसालाई टुट्न दिन्न्, जनादेशलाई शिरमा राखेर काम गर्ने छु ।”

आफ्नो पहिलो कार्य योजना नै सरकारी सेवा प्रवाहलाई सरल र प्रभावकारी बनाउने रहेको उनको भनाइ थियो ।

सप्तरीलाई सतप्रतिशत शिक्षित जिल्ला बनाउनु, विकराल रहेको कुपोषणलगायतका स्वास्थ्य समस्यालाई समाधान गर्दै सतप्रतिशत जनताको स्वास्थ्यमा सहज पहुँच पु-याउनु, हरेक परिवारलाई रोजगारीसँग जोड्नु र किसानलाई सहजरुपमा मलखाद्य, बीउबिजन र सिँचाइको व्यवस्था गर्नु आफ्नो एजेण्डा रहेको डा. राउतले सुनाए । राजनीतिक संस्कृतिको विकास गर्न जनताले आफूमाथि भरोसा गरेर जिताएको उल्लेख गर्दै डा राउतले आफूलाई मतदान गरेर विजयी बनाएकोमा मतदातालाई धन्यवादसमेत ज्ञापन गरे ।

ताजा अपडेट

नेपालवाच विशेष