NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १८ गते

प्यूठानबाट एमालेका सूर्य थापा निर्वाचित

काठमाडाैं । एउटा मात्र प्रतिनिधिसभा र दुई प्रदेशसभा निर्वाचन क्षेत्र रहेको प्यूठानको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । अन्तिम मत परिणामअनुसार नेकपा ९एमाले० प्रतिनिधिसभा र प्रदेशसभा १ मा विजयी भएको छ ।

निर्वाचन कार्यालयले प्रत्यक्षतर्फको अन्तिम मतपरिणाम सुनाउँदै प्रतिनिधिसभामा एमालेका सूर्य थापा ४१ हजार एक सय १८ मत ल्याई विजयी भएको घोषणा गरेको छ । उनका प्रतिद्वन्द्वी पाँच दलीय गठबन्धनबाट उम्मेदवार बनेकी राजमोकी उपाध्यक्ष दुर्गा पौडेलले ३५ हजार आठ सय १४ मत प्राप्त गरेको  मुख्य निर्वाचन अधिकृत देवप्रसाद योगीले जानकारी दिए । नेकपा (एमाले) पोलिटब्यूरो सदयसमेत रहेका थापाले पाँच हजार दुई सय ७४ मतान्तरले जित हासिल गरेका छन्  ।

यस्तै प्रदेशसभातर्फ प्रदेशसभा १ मा एमालेकै तुल्सीराम शर्मा विजयी भएका छन् । उनले २० हजार दुई सय १० मत ल्याई विजयी भएको निर्वाचन कार्यालयले जनाएको छ । उनका प्रतिद्वन्द्वी माओवादी केन्द्रका कृष्णकुमार अधिकारीले १७ हजार छ सय २७ मत ल्याएका छन् । अधिकारी पाँच दलीय गठबन्धनका तर्फबाट उम्मेदवार बनेका थिए । उनी एमालेका उम्मेदवार शर्मासँग दुई हजार पाँच सय ८३ मतान्तरले पराजित भएका हुन् ।

यसैगरी प्रदेशसभा २ मा नेपाली कांग्रेसका सरोज थापा (रोज राणा) विजयी भएका छन् । उनले २२ हजार पाँच सय १८ मत प्राप्त गरी विजयी भएका हुन् । उनका प्रतिद्वन्द्वी एमालेका हरि रिजालले २० हजार आठ सय सात मत प्राप्त गर्नुभएको निर्वाचन कार्यालयले जनाएको छ । पाँच दलीय गठबन्धनबाट उम्मेदवार बन्नुभएका राणाले प्रतिद्वन्द्वी उम्मेदवार एमालेका रिजाललाई एक हजार सात सय ११ मतान्तरले पराजित गरेका हुन्।

एक लाख ५९ हजार सात सय ६० कूल मतदाता रहेको प्यूठानमा जम्मा ८८ हजार ४७ अर्थात् ५५ दशवलव ११ प्रतिशत मत खसेको थियो । एउटा मात्र प्रतिनिधिसभा र दुईवटा प्रदेशसभा निर्वाचन क्षेत्र रहेको प्यूठानको प्रदेशसभा १ मा ४० हजार नौ सय आठ मत खसेको हो । प्रदेशसभा २ मा भने ४७ हजार एक सय ३९ मत खसेको निर्वाचन कार्यालयले जनाएको छ ।